+
+
Shares
नेपाली फिल्ममेकर्सको दुःख :

उहिले ब्ल्याकमा टिकट बिक्थे, अहिले निर्माता आफैं टिकट किन्छन्

अहिले पनि केही निर्माताहरूले हलमा टिकट किन्ने, आफन्त र साथीहरूलाई फिल्म देखाउने, उनीहरूको प्रतिक्रिया लिने र त्यही प्रतिक्रिया दर्शकसम्म पुर्‍याउने गरिरहेका छन् ।

रामजी ज्ञवाली रामजी ज्ञवाली
२०८२ फागुन १ गते ९:१०

कुनै समय सिनेमा हल अगाडि टिकटका लागि हानथाप हुने अवस्था थियो । १० रुपैयाँको टिकट २० रुपैयाँमा ब्ल्याकमा बेचिन्थ्यो, दर्शकको उत्साह कम हुँदैनथ्यो । अहिले समय फेरिएको छ । अहिले अवस्था यति बदलिएको छ कि करोडौं लगानीमा बनेका फिल्मका टिकट स्वयं निर्माता वा सम्बन्धित पक्षले चोक-गल्लीमा बाँडिरहेका हुन्छन् ।

‘आउनुहोस्, फिल्म हेरिदिनुहोस्’ भन्ने आग्रहसहित टिकट वितरण भइरहेको दृश्यले उद्योगभित्रै प्रश्न उठाएको छ ।

यो प्रचार रणनीति हो कि उद्योगलाई दीर्घकालीन क्षति पुर्‍याउने प्रवृत्ति ?

सबै फिल्ममा यस्तो हुँदैन, सबै निर्माता यसमा संलग्न छैनन् । तर पछिल्लो समय यो प्रवृत्ति विस्तार हुँदै गएको स्वीकार भने धेरैले गर्छन् । यसले दर्शकमाझ एउटा खतरनाक सन्देश पुर्‍याइरहेको छ– नेपाली फिल्म हेर्न टिकट किन्नै पर्दैन, सित्तैमै पाइन्छ ।

केही निर्माताले आफ्नो फिल्म ‘हिट’ भएको माहोल देखाउन टिकट वितरण गर्ने गरेको पाइन्छ । सामाजिक सञ्जालमा हाउसफुलको तस्वीर राख्न, अर्को प्रोजेक्टका लागि लगानीकर्ता आकर्षित गर्न, वा विदेशमा ओभरसिज राइट्स बेच्न सहज बनाउन कृत्रिम भीड देखाउने प्रयास हुने गरेको उद्योगका जानकारहरूको भनाइ छ ।

वितरकहरूले पनि आफूले लगानी उठाउन निर्मातालाई टिकट काट्न बाध्य पारेको बजारमा हल्ला छ । तर प्रश्न उठ्छ, यदि टिकट पैसा तिरेर काटिएको होइन भने त्यो व्यापार कसरी मानिन्छ ?

जब टिकटको मूल्य घटेर शून्यमा झर्छ, फिल्मको मूल्य पनि क्रमशः घट्दै जान्छ । कुनै पनि फिल्मको प्रचार आवश्यक छ । तर, कृत्रिम भीड देखाएर उद्योगलाई नै कमजोर बनाउनु बुद्धिमानी होइन । अल्पकालीन फाइदाका लागि गरिएको यस्तो कदमले दीर्घकालमा दर्शकको बानी बिगार्ने, विश्वसनीयता घटाउने र वास्तविक व्यापारको मूल्यांकन नै असम्भव बनाउने खतरा छ ।

नेपाली फिल्म उद्योग बचाउन पारदर्शी व्यापार, गुणस्तरीय कन्टेन्ट र दर्शकप्रति सम्मान अनिवार्य छ । ‘हिट’ को नाटक गरेर होइन, राम्रो फिल्म बनाएर र दर्शकको विश्वास जितेर मात्र उद्योग अगाडि बढ्न सक्छ।

नेपाली फिल्ममा चलिरहेको यो ट्रेन्डलाई निरन्तरता दिनेहरूले आत्मघाती खेल खेलिरहेका त छैनन् ? यस बिषयमा गम्भीर हुनुपर्ने फिल्मकर्मीहरू स्वयं स्विकार्छन् । स्थापित ट्रेलर सम्पादक शाहिल खानका अनुसार, फिल्म राम्रो छ भने सुरुवातमा निर्माताले टिकट किन्नु खासै नराम्रो होइन । उननका अनुसार यो शैली मार्केटिङको एउटा टुल मात्र हो । उनी भन्छन्, ‘फिल्म नहेर्दासम्म दर्शकलाई कस्तो फिल्म बनेको छ भन्ने थाहा हुँदैन । केही दिन हलमा दर्शकको प्रतिक्रिया बुझ्न पाइयो भने त्यसपछि अडियन्स स्वतः बढ्न सक्छ, यो त राम्रो कुरा हो नि ।’

नेपालको इतिहासमा सबैभन्दा धेरै आम्दानी गरेको फिल्मका निर्माता विनोद पौडेलले पनि सुरुवाती चरणमा करिब १२ लाख रुपैयाँ बराबरको टिकट किनेको स्वीकार गरेका छन् । त्यसैगरी, सुपरहिट चलचित्र ‘परान’ टिमले पनि सुरुमा हलमा टिकट किनेर फ्रिमा फिल्म देखाएको चर्चा बजारमा चलेको थियो ।

तर, यी दुवै फिल्म अन्ततः सफल भए ।

यसअघि र अहिले पनि केही निर्माताहरूले हलमा टिकट किन्ने, नजिकका आफन्त र मित्रहरूलाई फिल्म देखाउने, उनीहरूको प्रतिक्रिया लिने र त्यही प्रतिक्रिया दर्शकसम्म पुर्‍याउने अभ्यास गरिरहेका छन् ।

फिल्म सम्पादक खान भन्छन् ‘फिल्म राम्रो छ भने सुरुमा टिकट किन्दा घाटा हुँदैन । यसले माउथ पब्लिसिटी हुन्छ । तर फिल्म राम्रो छैन भने जति टिकट किनेर दर्शकलाई देखाए पनि खास अडियन्स आउँदैनन् । अन्ततः घाटा त निर्मातालाई नै हुन्छ । यही ट्रेण्ड बस्दै गयो भने अवस्था खत्तम हुन सक्छ ।’

ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारंगी’ का निर्माता विनोद पौडेलले आफ्नो फिल्म हिट हुनुमा यो रणनीतिले केही भूमिका खेलेको स्वीकार गर्छन् । ‘मैले त्यसबेला हाम्रो फिल्म वबाल छ भनेर झुटो प्रचार गरेको थिइनँ । फेक दर्शक लगेको पनि थिइनँ’ उनी भन्छन् । यस विषयमा उनी धेरै खुल्न चाहेनन् । तर, उनले पछिल्लो समय नेपाली फिल्म प्रदर्शन भएपछि केही दिन शोहरू होल्ड गर्नुपर्ने स्थितिसँग निर्माताहरू जुध्नुपरेको बाध्यतातर्फ संकेत गरेका छन् ।

नेपाली फिल्मका सर्वाधिक सफल मेकर्स दीपकराज गिरी पछिल्लो समय उद्योगमा बढ्दै गएको यो प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्छन् । उनका अनुसार, यसले नेपाली फिल्मको भविष्यलाई अँध्यारोतर्फ धकेलिरहेको छ । ‘खासमा फिल्म किन बनाउने ? कसका लागि बनाउने ? त्यो मोटिभ स्पष्ट हुनुपर्छ’ उनी भन्छन् । यदि दर्शकका लागि बनाएको हो, र भविष्यमा फिल्म उद्योगको लाइब्रेरीमा मेरो फिल्म रहोस् भन्ने चाहना हो भने, त्यसअनुसारको गुणस्तरमा निर्माताहरू केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

‘आजकाल नेपाली निर्माताहरू एक हप्तासम्मको शो किनिरहेका छन् रे, यो ठीक भएन’ गिरी भन्छन्, ‘हामीले आजसम्म कहिल्यै फ्रिमा टिकट किनेर कसैलाई फिल्म देखाएका छैनौं ।’ कसैले टिकट किनेर नि:शुल्क फिल्म देखाउँछ भने त्यो स्वयं निर्माताका लागि गम्भीर जोखिम रहेको उनले बताए ।

यदि यस्तो ट्रेण्ड स्थापित हुँदै गयो भने हलमा वास्तविक दर्शक घट्ने निर्माता गिरीको भनाइ छ । यसो भयो भने, दर्शकलाई सित्तैमा फिल्म हेर्ने बानी पर्छ । त्यसपछि राम्रा भनिएका, विश्वसनीय फिल्म पनि व्यापार गर्न संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने उनी बताउँछन् ।

लेखक
रामजी ज्ञवाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?