News Summary
Generated by OK AI. Editorially reviewed.- पर्वत शेराफाँटदेखि मुस्ताङ मुक्तिनाथसम्म पुग्ने ८१.०४१ किलोमिटर लामो केबुलकार परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको छ।
- यो केबुलकार परियोजनामा २० स्टेसन, ८ सय ७१ गोन्डोला र ४ सय ४२ टावर रहनेछन् र ३ घण्टा ३६ मिनेटमा मुक्तिनाथ पुग्न सकिनेछ।
- परियोजनाले २ सय २९ घरधुरीमा प्रभाव पार्ने र ३४ घरधुरी विस्थापित हुने अनुमान गरिएको छ भने निर्माण र सञ्चालनमा २ हजार २०८ जनालाई रोजगारी दिने योजना छ।
१ फागुन, काठमाडौं । पर्वत शेराफाँटदेखि मुस्ताङ मुक्तिनाथसम्म पुग्ने प्रस्तावित महत्त्वाकांक्षी केबुलकार परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार भएको छ ।
मुक्तिनाथ दर्शन प्रालिले लगानी बोर्डमार्फत यो प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको हो । मन्त्रालयले सुझावका लागि प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार केबुलकार कुल ८१.०४१ किलोमिटर लामो हुनेछ ।
कुल २० वटा स्टेसन रहने यस केबुलकारबाट ३ घण्टा ३६ मिनेटमा मुक्तिनाथ पुग्न सकिने छ । यो समय ननस्टप यात्राको दुरी हो ।
प्रतिवेदन अनुसार केबुलकार पर्वत मोदी गाउँपालिका-१ बाट सुरु हुनेछ । त्यसपछि कास्की अन्नपूर्ण गाउँपालिका ५ र ९, म्याग्दी अन्नपूर्ण गाउँपालिकाका ३, ४, ५ र ६, मुस्ताङ घरापझोङ गाउँपालिकाका १, २, ३, ४ र ५ तथा थासाङ गाउँपालिकाको १, २, ३, ४ र ५ तथा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, ४ र ५ मा अवस्थित हुनेछ ।
यस आयोजना कार्यान्वयनबाट धवलागिरि क्षेत्रको पर्यटन प्रवर्द्धन र वातावरणमैत्री आम परिवहनका रूपमा स्थापित गर्ने योजना बनाइएको छ ।
केबुलकार कालीगण्डकी नदी र मोदी नदीको जलाधार क्षेत्र हुँदै जाने छ । केबुलकार शेराफाँट, भुकबेँसी, उल्लेरी, घोडेपानी, सिख, घार, नारच्याङ, काब्रे, पहिरोथाप्लो, घासा, लेते, कोबाङ, टुकुचे, चोखोपानी, मार्फा, ठिनी जोमसोम/थिनी, एक्लेभट्टी, कागबेनी, खिंगा हुँदै चेगरिसीमा अन्त्य हुनेछ ।

केबुलकारमा २० स्टेसन, ८ सय ७१ गोन्डोला (यात्रु बस्ने) र ४ सय ४२ टावर हुने प्रतिवेदनमा उल्लेख छ । यो केबलुकार समुद्र सतहबाट १ हजार ९ मिटर उचाइबाट सुरु भई ३ हजार ६ सय ५३ मिटर उचाइमा अन्त्य हुनेछ ।
एक गोन्डोलाको दूरी २ सय ३४ मिटर हुने गरी प्रस्ताव गरिएको छ । एक गोन्डोलामा १० यात्रु रहनेछन् । जुन ७ मिटर प्रतिसेकेन्डका दरले अगाडि बढ्ने क्षमताको हुनेछ । आयोजना सञ्चालनका लागि अधिकतम १३ मेगावाट विद्युत आवश्यक पर्नेसमेत प्रतिवेदनमा उल्लेख छ । आयोजनाको लागत ५५ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।
ईआईए क्रममा यो आयोजनाको विकल्पबारे समेत अध्ययन र विश्लेषण गरिएको प्रतिवेदनमा उल्लेख छ । सोही क्रममा आयोजना निर्माण नगर्ने, सडक विस्तार गर्ने, विमानस्थल विस्तार गर्ने र केबुलकार बनाउने विकल्पमा विश्लेषण गरिएको थियो ।
त्यस क्रममा प्रदूषण रहित, कम जमिन प्रयोग, जुनसुकै मौसममा सञ्चालन सम्भव, बेग्लै प्राकृतिक र सांस्कृतिक अनुभव लिन सकिने, वातावरणमैत्री र कम जोखिमयुक्त परिवहनका रूपमा यो आयोजना कार्यान्वयन सम्भव रहेको निष्कर्ष निकालिएको समेत प्रतिवेदनमा उल्लेख छ ।
आयोजनाको कुल वातावरणीय लागत ७८ करोड १२ लाख ५२ हजार ५ सय ७ रुपैयाँ अनुमान गरिएको छ ।
प्रतिवेदन अनुसार आयोजनालाई कुल २७१.७५ हेक्टर जमिन आवश्यक पर्ने छ । यसमध्ये स्टेसनका लागि ३४.३१४ हेक्टर र टावरका लागि ३.८ हेक्टर जमिन चाहिने अनुमान छ । क्षेत्राधिकारका लागि भने २ सय ३३ हेक्टर जमिन चाहिने छ ।
आयोजना अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्रको वन क्षेत्र २ सय १८ हेक्टर जमिन पर्ने छ । सामुदायिक वन क्षेत्र २ सय २० हेक्टर पर्ने छ । आयोजनाबाट २ सय २९ घरधुरीमा मात्र प्रभाव पर्ने र ३४ घरधुरी विस्थापित हुने अनुमान छ ।
आयोजनाले निर्माण चरणमा कुल १ हजार ७ सय ६९ जना र सञ्चालनका दौरान ४ सय ३९ जनालाई रोजगारी दिने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4