+
+
Shares

टरिगाउँ विमानस्थलका नाममा सधैँ भोटको खेती

टरिगाउँ विमानस्थलमा ८३२ मिटर रनवे छ । जहाँ १४ सिटे ‘टुइनअटर’ जहाज मात्रै अवतरण गर्नसक्छ ।  निर्वाचनका बेला विमानस्थल ७२ सिटे ‘एटिआर’ जहाज आउनसक्ने ठुलो रनवे बनाउने मुद्दा चलिरहन्छ । ठुला जहाज बसाल्न अझै ८०० मिटर रनवे थप्नुपर्छ ।

गिरिराज नेपाली गिरिराज नेपाली
२०८२ फागुन २ गते २१:१९

हिउँद राम्रो कात्तिक-मंसिर, बर्खा राम्रो साउन

टरिगाउँमा जहाज बस्यो झग्गुप्रसाद बाहुन

मानपुरको बजारमा भुइँमा खस्यो सारी

झग्गुप्रसाद बाहुनका कति लामा दारी  

२ फागुन, दाङ । विसं. २०११ मा दाङको टरिगाउँमा पहिलो पटक हवाइजहाज बसेपछि यो गीत रचिएको मानिन्छ । जुन पछि निकै चल्यो पनि । दाङका गन्धर्व जातिले सारंगीको धुनसँगै यो गीतमा स्वर मिसाएर टरिगाउँमा जहाज बसेको खबर देशभर फैलाए ।

गीतमा उल्लेखित झग्गुप्रसाद बाहुन वास्तविक मान्छे नै हुन् । र, उनी जहाजमार्फत टरिगाउँमा ओर्लिने पहिलो दङाली पनि हुन् । उनको वास्तविक नाम झग्गुप्रसाद आचार्य हो ।

झग्गुप्रसाद पश्चिम दाङको भमके (हाल शान्तिनगर गाउँपालिका)का स्थायी बासिन्दा थिए । उनी तत्कालीन राष्ट्रिय प्रजा परिषदका सदस्य थिए ।

त्यो बेला तत्कालीन कांग्रेसले घर लुटपात गरेपछि राजा महेन्द्र शाहले १०८ जना नेपाली सेनासहित झग्गुुप्रसादलाई जहाजमार्फत घर पठाएका थिए । त्यो बेला खुुला मैदानमा भिँजेको परालको आगो बालेर धुँवा मुस्लो निकालेर संकेत गरी जहाज अवतरण गराइएको झग्गुप्रसादका भाञ्जा टीकाराम रेग्मी स्मरण गर्छन् ।

‘पहिलो पटक जहाज बस्दा परालको धुँवाको मुस्लो र पुष्पक विमान भनेर गाउँलेहरूले गरेको पूजाआजा अझैँ सम्झन्छु,’ रेग्मी भन्छन्, ‘त्यसपछि झग्गुप्रसाद मामाले टरिगाउँमा नियमित जहाज बसाल्ने संकल्प गर्नुभयो । धेरथोर पटक बसाल्नु पनि भयो ।’

तत्कालीन दरबारसँग नजिक रहेका झग्गुप्रसादले नै टरिगाउँमा विमान ल्याएर विमानस्थल सुरु गरेको श्रेय दिइन्छ । टरिगाउँ विमानस्थलमा पहिलो पटक जहाज बसेको अहिले ७१ वर्ष पूरा भइसकेको छ ।

राजनीतिक परिवर्तनसँगै दाङले बिस्तारै काँचुली फेर्दैछ । तर टरिगाउँ विमानस्थलको अवस्था भने नाजुक छ । हप्तामा  चार पटकसम्म जहाज आउने कार्य तालिका छ, तर नियमित उडान नभएको वर्षाै भइसक्यो ।

रेग्मीका अनुसार २०१७ मा पञ्चायतको उदयसँगै टरिगाउँ विमानस्थल ओझेल पर्न थालेको हो ।  स्थानीयवासीले सधैँ विमानस्थलको स्तरोन्नतिको कुरा पनि उठाइरहे । ‘सधैँ टरिगाउँ विमानस्थल बन्छ-बन्छ भनियो । हामीले आवाज उठाइरह्यौँ, पहुँचवालाले सुनेनन्,’ रेग्मीले भने ।

२०४८ यताका सबै निर्वाचनमा दल र उम्मेदवारहरूले टरिगाउँ विमानस्थलको मुद्दा उठाएर भोट माग्दै आएका छन् । तर विमानस्थलको स्तरोन्नति हुन सकेको छैन ।

टरिगाउँ विमानस्थलमा ८३२ मिटर रनवे छ । जहाँ १४ सिटे ‘टुइनअटर’ जहाज मात्रै अवतरण गर्नसक्छ ।  निर्वाचनका बेला विमानस्थल ७२ सिटे ‘एटिआर’ जहाज आउनसक्ने ठुलो रनवे बनाउने मुद्दा चलिरहन्छ । विमानस्थलमा ठुला जहाज बसाल्न अझै ८०० मिटर रनवे थप्नुपर्छ । एटिआर जहाजका लागि १३०० देखि १६०० मिटरसम्मको रनवे आवश्यक पर्छ । २०८१ वैशाखदेखि हप्तामा आइतबार, मंगलबार, बिहीबार र शुक्रबार गरी चार दिन जहाज आउने समय निर्धारण गरिएको छ । तर, कहिल्यै आउँछ, कहिल्यै आउँदैन ।

‘टरिगाउँ विमानस्थल सधैँ, सबैको चुनावी नारा भइरहने र सधैँ अधुरो पनि रहिरहने मुद्दा हुँदैआएको छ,’ जिल्ला उद्योग वाणिज्य महासंघका महासचिव महेन्द्र बुढाथोकीले भन्छन् । विमानस्थलले ठुला दल र तिनका नेतालाई गिज्याइरहेको उनले टिप्पणी गरे ।

‘दाङ लुम्बिनी प्रदेशको राजधानी बनिसक्दा पनि सधैँको चुनावी एजेण्डा बनेको विमानस्थल जस्ताको तस्तै रहनु दाङका लागि लज्जाको विषय हो । राजधानीले विमानस्थल खोजेको छ । तर दलहरू भोटमा लागि मात्रै विमानस्थल खोज्छन्,’ उनले भने ।

लेखक
गिरिराज नेपाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?