News Summary
Generated by OK AI. Editorially reviewed.- वेस्ट इन्डिजका स्पिनर अकिल होसेनले आईसीसी टी-२० विश्वकप २०२६ मा नेपाललाई हल्का रुपमा नलिने बताएका छन्।
- होसेनले नेपालले गुमाउनुपर्ने केही नरहेको र उनीहरूको क्षमताबारे राम्रोसँग जानकार रहेको उल्लेख गरेका छन्।
- नेपाल र वेस्ट इन्डिजबीच आइतबार मुम्बईस्थित वानखेडे मैदानमा विहान सवा ११ बजे खेल सुरु हुनेछ।
२ फागुन, मुम्बई । वेस्ट इन्डिजका स्पीन बलर अकिल होसेनले आईसीसी टी-२० विश्वकप २०२६ मा नेपाललाई हल्का रुपमा नलिने बताएका छन् ।
समूह सी अन्तर्गत वेस्ट इन्डिज र नेपालबीच हुने खेलअघि शनिबार भएको प्रि म्याच प्रेस कन्फेरेन्समा होसेनले नेपाली टिमको क्षमताबारे जानकार रहेको र यो खेललाई विश्वकपको अर्को एक खेलको रूपमा नै लिने बताए ।
‘नेपालको क्षमता के हो र नेपालले के गर्न सक्छ भन्ने बारे हामी राम्रोसँग जानकार छौं’ गत सेप्टेम्बरमा शारजाहमा भएको टी-२० अन्तर्राष्ट्रिय सिरिज र अहिले टी-२० विश्वकप खेलिरहेको नेपाली टिमबीचको फरकबारे सोधिएको प्रश्नमा होसेनले भने । उनले नेपालले गुमाउनुपर्ने केही नरहेको पनि बताए ।
गत सेप्टेम्बरमा यूएईको सारजहामा भएको युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले वेस्ट इन्डिजमाथि २-१ को जित हात पारेको थियो । सुरुवाती दुवै खेल जितेको नेपालले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको थियो भने तेस्रो खेलमा वेस्ट इन्डिज १० विकेटले विजयी भएको थियो ।
‘नेपाली टोली एकसाथ धेरै खेलहरू खेलेको एउटा राम्रो टोलीको रुपमा छन् । हो, उनीहरूले हामीलाई सारजाहमा हराएका थिए, तर त्यतिबेला हाम्रा धेरै सिनियर खेलाडीहरू त्यहाँ थिएनन् ।’ हुसेनले भने ।
त्यसबेला होसेनले नै वेस्ट इन्डिजको कप्तानी गरेका थिए । टिमका सिनियर खेलाडीहरू अन्य सिरिजमा व्यस्त रहेकोले होसेनले टिमको कप्तानी गरेका थिए । त्यसबेला वेस्ट इन्डिजबाट खेलेका होसेन र जेसन होल्डर मात्र अहिले विश्वकप खेलिरहेको वेस्ट इन्डिज टिममा छन् ।
नेपाल र वेस्ट इन्डिजबीच आइतबार मुम्बईस्थित वानखेडे मैदानमा विहान सवा ११ बजे खेल सुरु हुनेछ ।
प्रतिक्रिया 4