३ फागुन, काठमाडौं । जुम्लामा माओवादी पृष्ठभूमिका नेताहरू नै प्रतिस्पर्धीका रुपमा देखिएका छन् । २०५२ सालदेखि १० वर्ष सशस्त्र युद्धमा भूमिगत भएका नेताहरू यसपटक फरक–फरक दलबाट उम्मेदवार छन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट नरेश भण्डारी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मनऋषि धिताल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट बिर्खबहादुर शाही र भक्तबहादुर रावल स्वतन्त्र उम्मेदवार छन् । यी चारैजना माओवादी पृष्ठभूमिका नेताहरू हुन् ।
वि.सं २०३५ सालमाजुम्लाको गुठिचौरमा जन्मिएका नरेश भण्डारी संविधानसभा सदस्य हुन् । उनी २०६४ सालको पहिलो संविधानसभा सदस्यमा विजयी भएका थिए ।
२०७४ सालमा कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भए । आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी लिए । यसपटक पुन: प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार रहेका मनऋषि धिताल तत्कालीन माओवादीले २०५२ सालदेखि १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धको रापताप र संकटपूर्ण समयमा ‘कलम’लाई हतियार बनाएर परिवर्तनको पक्षमा उभिएका नेता हुन् ।
जनयुद्धताका ‘जनादेश साप्ताहिक’का सम्पादक कृष्ण सेन इच्छुक बेपत्ता पारिए र पछि उनको हत्या भयो । त्यो अवस्थामा धितालले उक्त पत्रिकाको सम्पादकीय जिम्मेवारी सम्हालेका सम्हालेका थिए ।
तत्कालीन नेकपा माओवादी केन्द्रबाट राजनीति थालेका धिताल पछिल्लो समयमा नेकपा माओवादी र एकीकृत समाजवादीसहितको एकतामा सहभागी भएनन् । धिताल जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भए । र यही पार्टीबाट उम्मेदवार भएका हुन् ।
तत्कालीन माओवादीबाट बाहिरिएका धिताल जनार्दन शर्माको विश्वास पात्र पनि हुन् । अब उनलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहितका दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध नहुनुको कारण चुनाजी नतिजाबाट जवाफ दिनुछ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट उम्मेदवार रहेका बिर्खबहादुर शाही पनि माओवादी पृष्ठभूमिका नेता हुन् । ५४ वर्षीय शाही जुम्लाको हिमा गाउँपालिका धाँचुगाँउ निवासी हुन् ।
स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावल ४७ वर्षका भए । जुम्लाको तातोपानी गाउँपालिका निवासी उनी पनि लामो समयसम्म माओवादीमा रहे । सशस्त्र युद्धमै सामेल भएका उनी यसपटक स्वतन्त्र उम्मेदवार छन् ।
यी चारसुहित जुम्लाबाट १० जना उम्मेदवार छन् ।
नेपाली कांग्रेसबाट दीपबहादुर शाही उम्मेदवार छन् । नेकपा एमालेबाट शान्तिलाल महत उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट विनीता कठायत उम्मेदवार छिन् । यसअघि विघटित प्रतिनिधिसभामा उनी रास्वपाबाटै समानुपातिक सांसद थिइन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही उम्मेदवार छन् । उनी यसअघि जुम्लाबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया 4