३ फागुन, काठमाडौं । महिला उद्यमी एवं कथाकार शोभा ज्ञवालीको तेस्रो कथासंग्रह ‘मन्दाकिनी’ सार्वजनिक भएको छ । काठमाडौंमा शनिबार आयोजित विशेष समारोहबीच नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मी, साहित्यकार डा. नवराज लम्साल, साहित्यकार बबिता बस्नेत, कथाकार ज्ञवालीलगायतले संयुक्त रूपमा ‘मन्दाकिनी’ सार्वजनिक गरेका छन् ।
ज्ञवालीले ‘मन्दाकिनी’मा कलम र शब्दको मात्र उत्पादन नभई आँसु, पीडा र आशाको संयोजन रहेको बताइन् । ‘मन्दाकिनीमा म यहाँ लेखकका रूपमा मात्र नभएर समाजका नदेखिएका कथाहरू बोकेर आएकी छु । यो कुनै कल्पनाको संसार होइन, हाम्रै वरिपरि बाँचिरहेका मानिसका जीवनसँग जोडिएका केही सत्यतथ्यको प्रस्तुति हो,’ उनले भनिन् । ज्ञवालीले यसअघि पहिलो कृति ‘सम्पूर्ण आकाश’ र दोस्रो कृति ‘संघर्ष’ लेखेकी छन् ।
पाकिस्तानका राजदूत अबरार एच हाश्मीले आफूले पुस्तक नपढे पनि मन्दाकिनीमा नेपाली महिलाले भोगेका विषयवस्तुलाई यथार्थ रूपमा प्रस्तुत गरिएको आफूले जानकारी पाएको बताए।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डा. नवराज लम्सालले ‘मन्दाकिनी’ले समकालीन समाजका सम्बन्ध, संघर्ष र भावनात्मक आयामलाई सशक्त रूपमा प्रस्तुत गरेको बताए ।
‘उहाँको क्रियाशीलता कतै पत्रकारिता भएर, कतै नारीको नेतृत्वदायी दिदी भएर र कतै कथाकार भएर पोखिएको छ । उहाँको लेखनको केन्द्र नारी शक्ति हो,’ लम्सालले भने ।
प्रतिक्रिया 4