+
+
Shares

भारत-बाङ्ग्लादेश सम्बन्धमा सुधारको संकेत, रहमानको शपथग्रहणमा सभामुख बिरला जाँदै

हमान प्रधानमन्त्री बन्न लागेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई फोन नै गरेर बधाई दिएका छन् । जसले भारत-बाङ्ग्लादेशबीच सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १८:५९

४ फागुन, काठमाडौं । बाङ्लादेशमा भर्खरै सम्पन्न निर्वाचनपश्चात भारतसँगको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ । निर्वाचनमा बाङ्ग्लादेश नेसनल पार्टी (बीएनपी)ले भारी बहुमत हासिल गरेको छ । जसअनुसार बीएनपीका अध्यक्ष तारिक रहमान आगामी प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

प्रधानमन्त्री बन्न लागेका रहमान पूर्व प्रधानमन्त्री वेगम खालिदा जियाका छोरा हुन् । रहमान प्रधानमन्त्री बन्न लागेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई फोन नै गरेर बधाई दिएका छन् । जसले भारत-बाङ्ग्लादेशबीच सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीका रूपमा रहमानले मंगलबार (फेब्रुअरी १७) शपथग्रहण गर्नेछन् । शपथग्रहण समारोहमा भारतका तर्फबाट उच्चस्तरीय सहभागिता पनि रहने भएको छ । जहाँ लोकसभाका सभामुख ओम बिरला र विदेश सचिव विक्रम मिस्री शपथग्रहरणका लागि बाङ्ग्लादेश जाने भएका छन् ।

भारतको विदेश मन्त्रालय र बीएनपीको सञ्चार शाखाले भारतबाट सभामुख बिरलाको नेतृत्वमा टोली शपथग्रहण समारोहमा सहभागी हुने पुष्टि गरेका छन् । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति नै जारी गरेको छ ।

प्रधानमन्त्रीको शपथग्रहण समारोहमा भारतले उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउन लागेकाले दुई देशबीच बढ्दो तिक्तता साम्य हुने अपेक्षा गरिएको छ ।

यसअघि सन् २०२४ को विद्यार्थी आन्दोलनबाट शेख हसिनाको सत्ता ढलेपछि बनेको अन्तरिम सरकारसँग भारतको सम्बन्ध बिग्रिएको थियो । हसिनाको शासनकालभरी बाङ्ग्लादेशसँग भारतको सम्बन्ध राम्रो थियो । तर, परिवर्तनपछि बनेको मोहम्मद युनुस नेतृत्वको सरकारसँग भारतको सम्बन्ध विभिन्न मुद्दामा खल्बलिँदै गएको थियो ।

यद्यपि, निर्वाचनपछि अन्तरिम सरकारका प्रमुख सल्लाहकार युनुसले नयाँ प्रधानमन्त्रीको शपथग्रहण समारोहका लागि भारतीय प्रधानमन्त्री मोदीलाई पनि निम्तो पठाएका थिए ।

युनुसले भारत, नेपालसहित १३ देशका सरकार प्रमुखलाई निमन्त्रणा गरेका थिए । जसमा चीन, साउदी अरब, पाकिस्तान, टर्की, संयुक्त अरब इमिरेट्स, कतार, मलेसिया, ब्रुनाई, श्रीलंका, माल्दिभ्स, भुटान पनि सामेल छन् ।

युनुसले प्रधानमन्त्रीलाई नै निम्तो पठाए पनि मोदी भने शपथग्रहण समारोहमा नजाने भएका छन् ।

यता नेपालबाट पनि प्रधानमन्त्री सुशीला कार्की नजाने भएकी छन् । नेपालबाट परराष्ट्र मन्त्री बालानन्द शर्मा बाङ्ग्लादेश जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?