+
+
Shares

१० अल्छी जनावर, जो अधिक सुस्त र निद्रालु हुन्छन्

जंगलको राजाका रूपमा चिनिएता पनि सिंहहरू अल्छी जनावरहरूमध्ये एक हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १३:५६
सबैभन्दा अल्छी जनावरको रुपमा चिनिने स्लोथ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्लोथ दिनमा ८ देखि १० घण्टा सुत्छ र आफ्नो अधिकांश जीवन रूखहरूमा उल्टो झुण्डिएर बिताउँछ।

प्राणी जगत निकै रोचक विषय हो । प्राणीहरूबारे हामीलाई थाहा नभएका कतिपय कुराहरूले बेलाबेला अचम्मित पनि पार्ने गर्छन् । जस्तो, आफ्नो अधिकांश जीवन समुद्रको तल्लो भागामा पल्टिएर बिताउने एउटा माछा छ, जो कत्ति पनि चल्दैन । यी यस्ता प्राणीहरू त पृथ्वीमा कति धेरै छन् । जसबारे जीव विज्ञानले अझै पनि सम्पूर्ण तथ्य निकालिसकेको छैन ।

प्राणीहरूको एउटा साझा कुरा भनेको उनीहरू निदाउँछन् । अल्छी गर्छन् । उनीहरूको हकमा सुस्त गति भनेको एउटा रणनीति पनि हो । आज हामी १० यस्ता अल्छी प्राणीहरूबारे चर्चा गर्ने छौं, जो अधिक निद्रालु पनि हुन्छन्।

१.स्लोथ

यदि तपाईं कुन जनावर सबैभन्दा बढी सुत्छ भनेर सोच्दै हुनुहुन्छ भने स्लोथ अग्रपंक्तिमा आउँछ । यी अल्छी जनावरहरू दिनमा ८ देखि १० घण्टा सुत्छन् । आफ्नो अधिकांश जीवन रूखहरूमा उल्टो झुण्डिएर बिताउने स्लोथ आवश्यक पर्दा मात्र चल्छन् । यसले गर्दा यिनीहरूलाई पृथ्वीका सबैभन्दा सुस्त तथा अल्छी जनावर मानिन्छ ।

२.कोआला

सबैभन्दा बढी सुत्ने जनावरको सूचीमा कोआला पनि पर्छ । दिनमा १८ घण्टासम्म सुत्न सक्ने यी जनावरहरूले केही नगर्ने कलामा निपुणता नै हासिल गरेका छन् । यिनीहरूले मुख्यत: विश्राम गरेर ऊर्जा बचाउँने गर्छन् । युकलिप्टसका पातहरू मात्र खाने यी प्राणीहरू सधैं थकित देखिन्छन् । यसको कारण भनेको उनीहरूले पोषक तत्व धेरै कम भएको खानेकुरा खान्छन् ।

३.नर्स शार्क

नर्स शार्क पानीमुनिको संसारमा अल्छी जनावरको सबैभन्दा उपयुक्त उदाहरण हुन् । यी शार्कहरू निशाचर हुन्छन् । प्रायः दिउँसो समुद्रको तल्लो भागमा आराम गरेर समय बिताउने यिनीहरू रातको समयमा शिकारका लागि निस्किन्छन् । त्यसैका लागि उनीहरूले दिनभर ऊर्जा जोगाइरहेका हुन्छन् । नर्स शार्कहरू शान्त जीवन मन पराउँछन् । र, सूर्य अस्ताएपछि मात्र सक्रिय हुन्छन् ।

४.सिंह

जंगलको राजाका रूपमा चिनिएता पनि सिंहहरू अल्छी जनावरहरूमध्ये एक हुन् । जोखिम ज्यादा हुने शिकारका लागि उनीहरूले ऊर्जा बचाउन दिनको २० घण्टासम्म आराम गर्ने र सुत्ने गर्छन् । भन्नुको अर्थ उनीहरूले आवश्यक पर्दा मात्र आफ्नो शक्ति प्रयोग गर्छन् । अन्य अवस्था भने उनीहरूले केही पनि गर्दैनन् । सुतेर बस्छन् ।

५.म्यानेटी

प्रायः समुद्रको भद्र र ठूलो भनेर चिनिने म्यानेटीहरू समुद्रका सबैभन्दा फुर्सदिला जनावरहरू हुन् । किनकि उनीहरू आराम सिवाय खासै केही गर्दैनन् । उनीहरूको शरीर भने अत्यन्तै ठूलो हुन्छ । तर, उनीहरू निकै सुस्त गतिमा हिँड्छन् । उनीहरू प्रतिघण्टा पाँच माइलभन्दा कमको गतिमा हिँड्छन् । उनीहरू शाकाहारी पनि हुन् । यसकारण नै उनीहरूलाई समुद्रका भद्र जनावर भनिएको हो ।

६.विशाल पाण्डा

विशाल पाण्डाहरू ढिलो र आरामदायी जीवनशैलीका लागि चिनिन्छन् । उनीहरू दिनमा करिब १० घण्टा सुत्छन् र निकै सुस्त गतिमा हिँड्छन् । आफ्नो ठूलो आकारको शरीर भए पनि उनीहरू कम पोषण भएको खाना (बाँस) खान्छन् । र, अनावश्यक गतिविधि नगरेर ऊर्जा बचाउँछन् । खासमा उनीहरूको काम भनेको आराम गरेर बिताउने मात्र हो ।

७.जलगैंडा

अल्छी जनावरहरूको सूचीमा अर्को नाम पर्छ, जलगैंडा । यो हेर्दामा निकै ठूलो देखिन्छ । तर, शरीरलाई चिसो राख्न र ऊर्जा बचाउन उनीहरू प्राय: सधैं जसो नै पानीमा डुबेर बसिरहन्छ । उनीहरू रातमा भने चरनका लागि जमिनमा आउँछन् । यद्यपि रिस उठेको बेला उनीहरू निकै खतरनाक हुन सक्छन् ।

८.ओपोसम

ओपोसम पनि निशाचर प्राणी हो । उनीहरू पनि दिउँसो सुत्न मन पराउँछन् । दिनभर सुत्ने र रातभर खानाको खोजीमा सक्रिय हुने भएकाले उनीहरूलाई अल्छी मान्ने गरिन्छ । निकै सुस्त गतिमा हिँड्ने उनीहरू खतरा महसुस हुना साथै मरेको जस्तो नाटक गर्छन् ।

९.चितुवा

चितुवालाई कुशल शिकारी भनिन्छ । तर, यी प्राणी पनि निकै अल्छी हुन्छन् । उनीहरूलाई आराम नै बढी मन पर्छ । त्यसमा पनि उनीहरू बढी एकान्त मन पराउँछन् । यसकारण यी प्राणी प्रायः ठूलो रूखको छहारी अथवा हाँगाहरूमा आराम गरिरहेका हुन्छन् । चितुवाहरू शिकार गर्न वा आफ्नो क्षेत्रको रक्षा गर्नु परे मात्र सचेत हुन्छन् ।

१०.समुद्री सिंह

समुद्री सिंह आफ्नो धेरैजसो समय ढुङ्गा वा समुद्रको तटमा घाम तापेर बिताउँछन् । उनीहरू सामाजिक प्राणी हुन् । यसैकारण एकै ठाउँमा थुप्रिएर खाना खाने, पौडिने उनीहरूको बानी हुन्छ । त्यसपछि उनीहरू सँगसँगै लामो समय निदाएर बसिरहेका हुन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?