+
+
Shares

नुवाकोटको चुनावी परिदृश्य : हेभिवेटले छाडेको मैदानमा घटेको छैन रौनक

पुराना हेभिवेट चुनावको रिङ बाहिर छन् । तैपनि, यहाँको चुनावी सरगर्मी कम छैन । डा. प्रकाशशरण महत, हितबहादुर तामाङ, जगदिश्वर नरसिंह केसी जस्ता उम्मेदवारको आगमन र नयाँ उम्मेदवारको आक्रामक प्रचारले नुवाकोटका दुवै क्षेत्रमा चुनावी रौनक यथावत छ ।

रामहरि गजुरेल रामहरि गजुरेल
२०८२ फागुन ६ गते ११:२०

६ फागुन, नुवाकोट । विगतमा हेभिवेट नेताहरूको लडाईंका कारण चर्चामा रहन्थ्यो नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. प्रकाशचन्द्र लोहनी, नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरणदेखि अर्जुननरसिंह केसीसम्मको प्रतिस्पर्धाका कारण नुवाकोटको चुनाव राष्ट्रव्यापी चासोको विषय बन्थ्यो ।

अहिले यी नेताहरू प्रत्यक्ष चुनावको रिङ बाहिर छन् । तैपनि, यहाँको चुनावी सरगर्मी कम भएको छैन । डा. प्रकाशशरण महत, हितबहादुर तामाङ, जगदिश्वर नरसिंह केसी जस्ता उम्मेदवारको आगमन र नयाँ उम्मेदवारको आक्रामक प्रचारले नुवाकोटका दुवै क्षेत्रमा चुनावी रौनक यथावत छ ।

दुई वटा निर्वाचन क्षेत्र भएको नुवाकोटमा मुख्यत: नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टी चुनावी प्रचारमा व्यस्त छन् । नयाँ परिवेशमा हुन लागेको निर्वाचनमा यसअघि आजीवन अवसर ओगट्ने परम्परा तोड्दै प्रमुख दलहरूले नयाँ उम्मेदवार अघि सारेर केही परिवर्तनको सन्देश दिन चाहेका छन् । उनीहरूलाई नयाँ दलहरूले चुनौती दिएका छन् ।

पटक–पटकका निर्वाचनमा तालमेल गर्दै आफ्नो जित सुनिश्चित गरेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी जस्ता दल र तिनका उम्मेदवार यस पटक भने एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । यसले सबैको हैसियत मापन गर्ने परीक्षाका रूपमासमेत यो निर्वाचन विषेश बन्दैछ ।

नुवाकोटमा यी मुख्य ठूला तीन दल एक–अर्कालाई मुख्य प्रतिस्पर्धी र चुनौतीका रूपमा देखिरहेका छन् । तर उनीहरू सामु नयाँ दल भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी चुनौतीका रूपमा मैदानमा छ । उसले हालको विद्यमान जनअसन्तुष्टिलाई मौकाको रूपमा लिँदै प्रमुख दलहरूलाई हराएर देशमा समृद्धि ल्याउने नारा बाँडिरहेको छ ।

क्षेत्र नम्बर १ : तामाङसँग भिड्दै महत र मैनाली

२०७९ को निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्रलगायत दलबीच चुनावी तालमेल भएको नुवाकोट क्षेत्र नम्बर १ मा अहिले सबै दल एक्लाएक्लै प्रतिस्पर्धा गर्दैछन् । पूर्वमन्त्री एवं निवर्तमान सांसद नेकपाका हितबहादुर तामाङ, पूर्वअर्थमन्त्री कांग्रेस नेता डा. प्रकाशशरण महत, एमालेका बद्री मैनाली, रास्वपाका विक्रम तिमिल्सिना, राप्रपाका विमल थापासहित १८ जना यो क्षेत्रमा उम्मेदवार छन् ।

कांग्रेस नेता महत पहिलो पटक गृहजिल्ला नुवाकोट–१ बाट प्रतिस्पर्धा गर्न आइपुगेका छन् । उनलाई कांग्रेसको विरासत फर्काउने चुनौती छ । यो क्षेत्रमा पटक–पटक उनका सहोदर दाजु डा. रामशरण महत निर्वाचित हुँदै आएका थिए ।

२०७४ मा नेकपाका नेता तामाङसँग पराजित भएपश्चात् उनले राजनीतिसँगै चुनावी मैदान पनि छाडिसकेका छन् । आफूहरूले गरेको विकास र इतिहास बोकेको पार्टी कांग्रेस भएकोले जित निश्चित भएको महतले दाबी गरे ।

‘कांग्रेस अरूभन्दा सक्षम, पुरानो र ठूलो इतिहास बनाएको पार्टी हो,’ महतले जित्ने आधार प्रस्तुत गर्दै भने, ‘हामीले यहाँ विकास पनि धेरै गरेका छौँ । त्यसकारण जित्नेमा ढुक्क छौँ ।’

सधैं समानुपातिक बाटोबाट संसद् र सत्तामा पुगेको आरोपलाई खण्डन गर्दै महतले विगतमा पनि यहीँबाट निर्वाचन लड्न र आफूले जित्ने स्थिति हुँदाहुँदै पनि गठबन्धनका कारण तत्कालीन माओवादी केन्द्रलाई छोड्नुपर्ने भएकोले अघिल्ला चुनावमा उम्मेदवार हुन नपाएको उनले प्रष्ट पारे ।

४ पटक चुनाव लडेका नेकपाका तामाङले लगातार दुई पटक सो क्षेत्रबाट चुनाव जितिसकेका छन् । यस पटक पनि निर्वाचनको जित निकाल्ने र ह्याट्रिक गर्ने उनको दाउ छ ।

जीवनभर जनताकै अधिकारका लागि राजनीति गरेको हुँदा मतदाताले पुन: जिताउने विश्वास तामाङको छ । ‘व्यक्तिगत स्वार्थ छोडेर जनताकै न्यायका निम्ति कठिन संघर्ष गरेर आएका हौँ’, उनले भने, ‘समाज परिवर्तनको निम्ति योगदान दिएको छु । जनतालाई अलिकत्ति पनि धोका दिएको छैन ।’

तामाङ २०७४ मा एमालेसँग पार्टी एकता र २०७९ मा कांग्रेससँगको गठबन्धनबाट जित निकाल्न सफल भएका थिए । उनले २६ हजार ५४८ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बद्री मैनालीले २३ हजार ४६५ मत ल्याएका थिए ।

एमालेका मैनाली पनि यो क्षेत्रमा आफूले जित्नेमा ढुक्क छन् । अघिल्लो निर्वाचनमा झिनो मतान्तरका कारण आफू उपविजेता भएकोले मतदाताले यसपटक जिताउने मैनालीले बताए । ‘एमालेको राष्ट्रवादी छवि र समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न यहाँका जनता मलाई जिताउन आतुर छन्’, मैनालीले आफू जित्ने दाबी प्रस्तुत गर्दै भने ।

नुवाकोट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. विक्रम तिमल्सिना उम्मेदवार छन् । पहिलो पटक चुनावमा उभिएका उनले देशमा व्याप्त भ्रष्टाचार र अस्थिर राजनीतिको अन्त्यको लागि आफ्नो जीत अनिवार्य रहेको बताए ।

यसअघि यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका डा. प्रधुम्न महतले ६ हजार ११३ मत पाएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ६११ र नेकपा मालेले ९७० मत ल्याएको थियो ।

समानुपातिक मतको आधारमा कांग्रेसले १५ हजार ७५१ मत पाएको थियो । तत्कालीन माओवादी तथा हालको नेकपाले १५ हजार २०० मत पाएको थियो । सबैभन्दा धेरै एमालेले १६ हजार २६७ ल्याएको थियो । रास्वपाले ५ हजार ४४९ र राप्रपाले ४ हजार मत पाएको छ ।

नुवाकोट–२ : प्रभाव जमाउने दाउमा अन्य दल  

नुवाकोट क्षेत्र नम्बर २ मा खासगरी कांग्रेस, नेकपा र एमालेको त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी यी तीन दललाई टक्कर दिने गरी देखापरेको छ । यो क्षेत्रमा कांग्रेसका जगदिश्वर नरसिंह केसी, एमालेका केशवराज पाण्डे, नेपाली कम्युनिस्ट पार्टीका हिरानाथ खतिवडा, रास्वपाका अचुत्तम लामिछाने र राप्रपाका झनक प्याकुरेलसहित १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

२०७९ मा जितेको कांग्रेसले यो क्षेत्रमा आफ्नो निरन्तरता चाहेको छ भने एमाले र नेपाली कम्युनिस्ट पार्टी प्रभाव विस्तार गर्दै जित्न हासिल गर्ने रणनीतिका साथ चुनावी मैदानमा छन् ।

तत्कालीन माओवादी केन्द्रसहितको चुनावी गठबन्धनबाट कांग्रेसका अर्जुननरसिंह केसी २८ हजार १०७ मत ल्याएर विजयी भएका थिए । केसी यो पटक समानुपातिक सूचीमा छन् । उनको स्थानमा भाइ जगदिश्वर चुनावी मैदानमा छन् ।

अघिल्लो निर्वाचनमा कांग्रेसलाई टक्कर दिँदै दोस्रो भएका रास्वपाका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत प्राप्त गरेका थिए । सो क्षेत्रमा एमालेका नारायण खतिवडाले १५ हजार ५६१ मत ल्याएका थिए ।

यो क्षेत्रमा कांग्रेस र माओवादीले नयाँ उम्मेदवार उठाएका छन् । तीन ठूला पार्टीका उम्मेदवारमध्ये कांग्रेस र माओवादीले यसअघि प्रदेशसभामा उम्मेदवार दिए पनि प्रतिनिधिसभामा पहिलो पटक भिड्न लागेका हुन् ।

समानुपातिक तर्फबाट २०६४ र २०७० मा सभासद् भइसकेका कांग्रेसका केसी २०७४ मा प्रदेशसभामा एमालेका पाण्डेसँग पराजित भए । पाण्डे भने २०७० को निर्वाचनमा केसीका दाजु अर्जुननरसिंहसँग पराजित भए । नेकपाका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य खतिवडा २०७४ मा प्रदेशसभामै सांसद निर्वाचित भएका थिए । नुवाकोट–२ मा २०६४ को संविधानसभा निर्वाचन जितेको माओवादी त्यतिबेलाको विरासत फर्काउने ध्येयमा छ ।

रास्वपाका अच्युतम लामिछाने पनि पहिलो पटक भिड्दै छन् । यहाँ रास्वपाको चुनौती अन्य दलहरुका लागि देखिन सक्ने भए पनि यसअघि कांग्रेससँग आमनेसामने भएर उपविजेता हुन सफल उम्मेदवार सुमनविक्रम पाण्डेको टिकट खोसिएको भन्दै स्वयं रास्वपाकै नेता–कार्यकर्ता चिढिएका छन् । विगतमा पाएको मत जोगाउँदै जित निकाल्नुपर्ने चुनौती उनीसामु छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?