५ फागुन, नारायणगढ (चितवन) । २०३६ सालको जनमत संग्रहमै मत दिएका भरतपुर महानगरपालिका–१९ का दानबहादुर तामाङ (७३), आसन्न निर्वाचनमा कसलाई मत दिने भन्नेमा अहिलेसम्म प्रष्ट हुन सकेका छैनन् ।
उनका अनुसार यसपटक जस्तो अन्योल पहिलेका निर्वाचनहरूमा परेको थिएन । ‘निर्दल कि बहुदल भन्दा मैले बहुदल रोजेँ,’ फागुन ३ मा भेटिएका उनले भने, ‘त्यसयताका निर्वाचनहरूमा मन परेकालाई भोट दिएँ ।’
तर, यसपटक तामाङलाई मत हाल्ने जाँगर समेत छैन ।

‘जसले जिते पनि फर्केर हेर्ने होइन, अहिले फकाउने मात्र हो,’ उनले भने । मतदानप्रति यस्तो अलमल हुनुमा वडाध्यक्षले गरेको व्यवहार कारण रहेछ । ‘वडा कार्यालय जाँदा मेरो श्रीमतीलाई तिमी को हौ ? भन्छ, चिन्दैन (वडाध्यक्षले),’ तामाङले अनलाइनखबरको टोलीसँग भने, ‘जिताउने बेला हाम्रोमा आएर त्यत्रो कुरा गरेको ।’
तामाङ भन्दा चार वर्ष जेठा श्यामलाल महतो पनि अलमलमै भेटिए । लामो समयदेखि नेकपा एमालेलाई भोट दिदै आएका महतोलाई यसपटक निर्णय लिन गाह्रो परिरहेको रहेछ ।
‘बहुदलको पक्षमा भोट हालेपछि नै एमाले हो । पछिपछि चिह्न पनि (एमालेको सूर्य) आएन । विकास गर्ने नेता भनेर विक्रम पाण्डेलाई भोट हाल्न पार्टीले भन्यो,’ महतोले भने, ‘तर जितेपछि विक्रम पाण्डे फर्केर हामीलाई भेट्न पाएन ।’
कुराकानीका क्रममा उनले यसपटक सूर्य चिह्नमा मत हाल्ने जाँगर नचलेको खुलाए । ‘युवा जति नयाँ भनेर दौडियो । माथि नेताले राम्रो गरेन,’ महतोले भने । उनको अलमल बुझ्न पनि धेरै कुर्नु परेन ।

चर्चामा रहेका दुई उम्मेदवार (रेनु दाहाल वा सोविता गौतम) मध्ये एकलाई भोट हाल्ने रहर महतोलाई रहेछ । तर पूराजसो जीवन समर्थन गरेको पार्टीबाट अलग भइहाल्न पनि सकेका छैनन् । ‘भोट हाल्ने बेलासम्म हेरौं,’ उनले भने ।
तामाङ र महतो जस्तै निर्णय लिइनसकेका थुप्रै मतदाता अनलाइनखबरको टोलीले यो क्षेत्रमा (चितवन–३) भेटायो । स्थानीयका अनुसार डेढ महिनाअघिसम्म यहाँका मतदातामा यस्तो द्विविधा थिएन ।
‘रेनु दाहाल भरतपुर महानगरको मेयर हुनुुहुन्थ्यो । सोविता गौतम काठमाडौंबाट चुनाव जितेको मान्छे,’ माडीका युवा प्रशान्त साहले भने, ‘चुनाव पनि हुन्छ कि हुन्न भन्ने फिक्स थिएन ।’ तर चुनाव हुने निश्चित नहुँदा पनि यहाँका मतदातामा दुवै जनाप्रति आकर्षण थियो ।
‘रेनु दाहाल भरतपुरमा विकास गरेको मेयर भनेर हामीले सुनेको,’ साहले भने, ‘सोविता गौतम त राष्ट्रले चिनेको नेता भइहाल्नुभयो । युवाहरूमा उहाँ लोकप्रिय हुनुुहुन्छ ।’
तर मेयरबाट राजीनामा दिएर रेनुले गत ६ माघमा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराइन् । काठमाडौं–२ छोडेर सोविता गौतमले पनि आफ्नै घर (विवाह गरेर आएको) आएको भन्दै यही क्षेत्रबाट उम्मेदवारी दिइन् ।

चितवन–३ मा नेपाली कांग्रेसबाट टेकप्रसाद गुरुङ, नेकपा एमालेबाट शंकरराज थपलिया, राप्रपाबाट दीपक थापा मगर सहित २३ जना उम्मेदवार छन् ।
‘सबै उम्मेदवारले जित्ने दाबी त गर्छन् नै । तर अहिलेसम्मको गतिविधि हेर्दा मुख्य प्रतिस्पर्धा रेनु र सोविताकै हुन्छ जस्तो लाग्छ,’ यहाँका पुराना शिक्षक यज्ञ खनालले अनुमान गरे । उनका अनुसार चुनावी बहसहरू पनि यिनै दुई जनामा केन्द्रित भएर चलिरहेको छ ।

‘नयाँ र परिवर्तनको एजेन्डा सोविता गौतमले उठाएकी छन् । उनलाई समर्थन गर्नेहरूले पनि परिवर्तनका लागि भोट मागिरहेका छन्,’ खनाल भन्छन्, ‘९ वर्ष महानगरको नेतृत्व गरेकी रेनु दाहालले विकास निर्माणदेखि यहाँको जनतालाई साथ दिएको विगत सम्झाइरहनु भएको छ ।’
निर्वाचन आयोगले सोमबारबाट मात्र औपचारिक प्रचार प्रसारको समय दिए पनि यहाँका उम्मेदवारहरूले एक महिनादेखि चुनावी अभियान चलाइरहेका छन् । पहिलोपटक चितवनबाट उम्मेदवार बन्दै गरेकी सोविताले ६ माघपछि चितवन छोडेकी छैनन् । अरु उम्मेदवारले पनि आयोगको औपचारिक प्रचार समय कुरेर बस्ने कुरा भएन ।
‘सबै उम्मेदवारहरूले आफ्ना कुरा लिएर जनताको घरआँगनमा पुगिरहेका छन्,’ खनाल भन्छन्, ‘यसपटक नयाँ र पुरानाको बहसले प्राथमिकता पाइरहेको देख्छु ।’
आधारभूमिमा रेनु
एक लाख ५५ हजार ३०९ मतदाता रहेको चितवन–३ को राजनीतिक पृष्ठभूमि हेर्दा भने नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार रेनु दाहालका निम्ति आधार क्षेत्र हो । रेनुको व्यक्तिगत विगत मात्र नभएर पार्टीकै इतिहास पनि यो क्षेत्रसँग निकै पूरानो छ ।
यही निर्वाचन क्षेत्रभित्र पर्ने माडीबाट नेकपा माओवादी निर्माणको ऐतिहासिक जग राख्ने काम भएको थियो । २०४८ साल मंसिरमा माडीमै सम्पन्न एकता महाधिवेशनबाट नेकपा (एकता केन्द्र) बनेको थियो । नेकपा (मशाल), नेकपा (चौम) र सर्वहारा श्रमिक संगठन लगायत घटकबीच एकता भएर बनेको उक्त पार्टीले दीर्घकालीन जनयुद्ध र माओवादलाई सिद्धान्त मान्ने निर्णय गर्यो ।
१ फागुन २०५२ सालमा यही पार्टी नेकपा माओवादी बन्दै जनयुद्धमा होमियो । माओवादीको दश वर्षे युद्धले नेपालको राजनीतिमा ठूलो परिवर्तन ल्यायो । २०६३ सालमा शान्ति सम्झौता गर्दै संसदीय राजनीतिमा आएको माओवादीका निम्ति पनि चितवन प्रभाव क्षेत्रमै पर्थ्यो ।
रामबहादुर थापा बादलले २०६४ सालको चुनाव यही क्षेत्रबाट जिते । त्यसो त जनमोर्चाबाट २०४८ सालमै अमिक शेरचनले यही क्षेत्रबाट चुनाव जितेका थिए । शेरचनले दुईपटक जितेको चितवनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफै पनि चुनाव लड्न (२०७४ सालमा) आए, र जिते ।

माडी महाधिवेशनबाट बनेको त्यही एकता केन्द्र, निरन्तरको एकता–विभाजन खेप्दै अहिले नेपाली कम्युनिस्ट पार्टीका रुपमा अस्तित्वमा छ । र रेनु, त्यही नेकपाका उम्मेदवार हुन् ।
पार्टीको लिगेसीसँगै रेनुको व्यक्तिगत विगत पनि यो क्षेत्रमा बलियो मानिन्छ । २०७४ सालमा उनले भरतपुरको मेयर जित्दा नेपाली कांग्रेससँग तत्कालीन माओवादी केन्द्रले गठबन्धन गरेको थियो । कांग्रेसकै समर्थन हुँदा पनि मेयर जित्न मतपत्र च्यात्नु परेको थियो ।
मतपत्र च्यातिएको वडामा पुन: निर्वाचन गर्दै झिनो अन्तरले रेनु मेयर निर्वाचित भएकी थिइन् । त्यसबेला एमालेका देवी ज्ञवालीले ४२ हजार ९२४ मत पाउँदा रेनुले ४३ हजार १२७ मत पाएर जितेकी थिइन् ।
तर २०७९ मा दोस्रोपटक मेयर जित्दा १३ हजार मतान्तरको सहज जित निकालिन् । एमालेका विजय सुवेदीले ३९ हजार ५८२ मत पाउँदा रेनुले ५२ हजार २८ मत सहित जितिन् । जबकि कांग्रेसका बागी उम्मेदवार जगनाथ पौडेलले १४ हजार ७२८ मत पाएका थिए ।
रेनुले पहिलोपटक मेयर जितेपछि भरतपुरका निम्ति गरेको कामकै कारणले दोस्रोपटक सहज जित निकालेको विश्लेषण यहाँका स्थानीयले गर्दै आएका छन् । ‘रेनु दाहाल पहिलोपटक मेयरको उम्मेदवार बन्दा धुलोले पुरिएर मान्छे चिन्न गाह्रो पर्थ्यो । अहिले सेतो साडी लाएर मत माग्न सक्ने स्थिति बनेको छ,’ २२ नम्बरका वडाध्यक्ष विष्णु महत भन्छन्, ‘यही काम देखेर जनताले दोस्रोपटक रेनु दाहाललाई भारी मतान्तरले जिताएका हुन् ।’

रेनु मेयर हुँदाको ९ वर्षमा भरतपुरको रुप नै बदलिएको उनी बताउँछन् । ‘कालोपत्रे सडक मात्रै एघार सय किलोमिटर पुगेको छ । राजश्व नै अर्ब नाघेको छ,’ नेकपाका नेता समेत रहेका उनी भन्छन्, ‘जनताका आवश्यकताहरू प्राथमिकतामा राखेर काम गरिएका छन् ।’
रेनुको वर्णनमा वडाध्यक्ष महतजस्तै तर्क गर्ने मतदाताहरू पनि अनलाइनखबरको टिमले ठूलै संख्यामा भेट्यायो । उनीहरूको दाबी छ– कामकै कारण रेनुले सांसद जित्नेछन् ।
‘भोट माग्न आउनेहरूलाई दिन्छौं त सबैले भन्नु हुन्छ । राजनीतिक संस्कार पनि हो, त्यो,’ भरतपुर–२४ का भगवती पौडेल भन्छिन्, ‘ घरको पेटीसम्म कालोपत्रे सडक आएको छ । यसको नेतृत्व मेयरले गर्नुभएको हो ।’
रेनुलाई मत नदिनु भनेको उनको कामको अपमान हुने तर्क गर्छिन् पौडेल । ‘घरको पेटीसम्म कालोपत्रे सडक आएको छ । यसको नेतृत्व मेयरले गर्नुभएको हो । महिलाहरूलाई तालिम र युवाहरूलाई रोजगार दिने काम गर्नुभएको छ,’ उनी भन्छन् ।
नेकपा समर्थित पौडेलले मात्र नभएर अरु दलमा आस्था राख्ने मतदाताहरूले पनि रेनु दाहालले भरतपुरमा मेयर भएर काम गरेनन् भन्नसक्ने स्थिति नरहेको बताउँछन् ।

मत परिवर्तन गर्न चाहनेहरू केहीले रेनुको मेयर भूमिकाप्रति सन्तुष्टि जनाएको भेटियो ।
‘मेयर भएर धेरै राम्रो काम गर्नुभयो । भरतपुर आज परिवर्तन भएको छ भन्ने सकिन्छ,’ भरतपुर–२१ का बसन्त पौडेल भन्छन्, ‘बरू सांसद भएर त्यो काम गर्न सक्ने नहोला कि !’ अर्थात् रेनुले राजीनामा दिएकोमा उनको असन्तुष्टि रहेछ ।
भरतपुर–१६ का गणेश केसी त रेनुले परिवर्तनको चाहना बुझ्न नसकेको तर्क गर्छन् । ‘अहिले नयाँ पार्टीको लहर चलेको छ । युवाहरूको यस्तो चाहना रेनु दाहालले बुझ्नुपर्थ्यो,’ उनी भन्छन् ।
परिवर्तनको लहर
भरतपुर महानगरको १८ वटा वडा र माडी नगरपालिका पर्ने यो क्षेत्रबाट २०७९ को चुनाव राप्रपाका बिक्रम पाण्डेले जितेका थिए । पाण्डेलाई जिताउन एमालेले आफ्नो उम्मेदवारी निष्कृय बनाएको थियो । एमालेको साथ, राप्रपाको चिह्न र आफ्नो व्यक्तित्वको शक्तिमा पाण्डेले ३५ हजार ६० मत ल्याएर जित्दा कांग्रेसले समर्थन गरेको माओवादी केन्द्रका भोजराज अधिकारी २५ हजार ८२४ मत सहित निकटतम प्रतिद्वन्द्वी बनेका थिए । यसपटक पाण्डेको उम्मेदवारी छैन, राप्रपाका उम्मेदवार दीपक थापा चर्चा तुलनात्मक कमजोर देखिन्छ । थापाले भने जित जोगाउने दावीसहित मत मागिरहेका छन् ।
कांग्रेस–एमाले यो क्षेत्रमा डिफेन्सिभ देखिन्छन् । ‘एमालेलाई जेनजी आन्दोलनले अप्ठ्यारो पारेको छ । खुलेर मत माग्न सकिरहेका छैनन्,’ माडी–३ का नारायण पोखरेलले भने, ‘एमालेलाई सहयोग गर्दा कांग्रेसमा पनि लहर आउन सकेको देखिँदैन ।’ तर गगन थापा सभापति भएपछि कांग्रेसमा केही उत्साह देखिएको उनको बुझाइ छ ।
यहाँका एमाले नेताहरू भने पार्टी प्रचार गरिए जस्तो कमजोर नरहेको दाबी गर्छन् । ‘२३ भदौको घटनाले केही निराशा र गलत बुझाइ देखिएको थियो । तर विस्तारै युवाहरू सक्रिय बनाउँदै छौं,’ माडी नगर अध्यक्ष नारायण अधिकारी भन्छन्, ‘अझै समय बाँकी छ । हाम्रो उम्मेदवार प्रतिस्पर्धामा अगाडि बढाउनेगरी जुट्छौं ।’

यहाँबाट चुनाव जितेको राप्रपासहित मुलुकका मुख्य शक्तिहरू कांग्रेस–एमाले भन्दा बढी उत्साह र लहर राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिन्छ । रास्वपाका उम्मेदवार सोविता गौतमलाई परिवर्तित राजनीतिक माहोलले साथ दिएको दृश्य लुक्दैन ।
उनको पक्षमा अरु पार्टी परित्याग गर्नेहरू पनि पर्याप्त भेटिए । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा आइतबार भेटिएका तीनै जना रास्वपा समर्थकहरू अघिल्लो चुनावसम्म अरु पार्टीहरूमै थिए ।
‘म एमालेमा थिएँ, विक्रम पाण्डेलाई जिताएकै हो,’ भरतपुर–१६ का गणेश केसीले भने, ‘तर देशमा भ्रष्टाचार रोक्न अब परिवर्तनको पक्षमा उभिने हो ।’ उनकै जस्तो तर्क गर्ने पूर्ण केसी र तीर्थराज भट्टराई कांग्रेसका कार्यकर्ता हुन् ।

तर १६ वर्षको उमेरदेखि कांग्रेसलाई समर्थन जनाउँदै आएको दाबी गर्ने भट्टराई (६७), यसपटक परिवर्तनको पक्षमा उभिने बताउँछन् । ‘बुढो नेताहरूलाई बिदा गर्ने यो अवसर हो । युवाको प्रतिनिधित्व गर्ने पार्टीलाई जिताउन मैले कांग्रेसमा भोट हाल्दिनँ,’ उनले भने ।
यसपटक घण्टीमा भोट हाल्ने मनसाय बनाएका मतदाताहरूले सोविताको व्यक्तित्व रोजेको तथ्य लुकाउँदैनन् । ‘यहाँको विकासमा भइरहेको खर्च हाम्रै करबाट उठेको पैसा हो । कसैले घरबाट ल्याएको होइन,’ भरतपुर–१६ का पूर्ण केसी भन्छन्, ‘भ्रष्टाचारका लागि जोसँग पनि गठबन्धन गर्ने दलहरू हराउन राम्रो आवाज उठाउनेलाई जिताउन आवश्यक छ ।’
रास्वपाको माहोल बनिरहनुमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिहरूले पनि बल पुगेको देखिन्छ । सामाजिक सञ्जाल, सञ्चार माध्यम र सार्वजनिक सम्बोधनमा ओलीले बोलिरहेको कुराले यहाँ रास्वपाकै पक्षमा माहोल बनेको स्थानीयहरू बताउँछन् ।

‘शेरबहादुरको घरमा पैसा जलेको सबैले देखेको हो । अब एआई भनेर केपी ओलीले हेपिरहेका छन्,’ पार्वतीपुरमा भेटिएका टेकबहादुर गुरुङ भन्छन्, ‘हेप्नुको पनि हद हुन्छ नि ।’
राष्ट्रिय राजनीतिक परिस्थितिले मात्र नभएर चितवनमा बिस्तार भइरहेको संगठनले पनि आफ्ना उम्मेदवारहरूलाई जिततर्फ अगाडि बढाइरहेको रास्वपाका कार्यकर्ता हरि गौतम बताउँछन् । ‘हरेक वडामा पार्टी सदस्यहरू बढिरहेका छन् । कुनै कुनै वडामा तीन सय जनासम्म सदस्य पुगेको छ,’ उनी भन्छन् ।
मतदाताहरूमा आएको परिवर्तनले मात्र नभएर विगतको चुनावी नतिजाले पनि रास्वपा कार्यकर्ता उत्साहित देखिन्छन् । ०७९ को चुनावमा चितवन–३ की रास्वापा उम्मेदवार जीता बरालले १४ हजार ८४३ मत पाएकी थिइन् । त्यो चुनावमा कांग्रेस र एमाले नेतृत्वमा दुई ठूला गठबन्धन थिए । विपक्षमा बलियो गठबन्धन हुनु र राष्ट्रिय चर्चाका नेताहरू उम्मेदवार हुनु, तर रास्वपाको पक्षमा पर्याप्त प्रचार नहुनु त्यो चुनावको कमजोरी थियो ।

२०७९ मा समानुपातिकतर्फ रास्वपा पहिलो दल बनेको थियो । चितवन ३ मा रास्वपाले प्रत्यक्ष तर्फका उम्मेदवारले भन्दा झण्डै दोब्बर मत पाएको थियो । रास्वपाले २८ हजार ४०१ मत पाउँदा राप्रपाको १६ हजार ७५५, माओवादीको १६ हजार ९०, एमालेको १४ हजार ५२२ र कांग्रेसको १० हजार ५२४ मत ल्याएको थियो ।
यसपटक भने कुनै पनि दलको गठबन्धन छैन भने रास्वपाको पर्याप्त प्रचार भइरहेको छ । रास्वपा उम्मेदवार सोविता गौतम, मतदाताहरूले यो चुनावलाई परिवर्तनको महत्वपूर्ण अवसरका रुपमा लिएको बताउँछिन् । गौतमले पनि संसदमा नीति निर्माणको काम गर्ने आफ्नो प्रस्तावलाई मतदाताहरूले उत्साहपूर्ण प्रतिक्रिया दिइरहेको उनको भनाइ छ ।

अर्थात् २३ उम्मेदवारबीच बढी चर्चामा रहेकी रेनु दाहाल र सोविता गौतमबीच ‘विकास भर्सेस व्यक्तित्व’ एजेण्डामा चर्को बहस चलिरहेको छ । ‘यहाँका जनताका आवश्यकताहरू भन्दा पनि आम रुपमा चर्चामै रहेको एजेण्डालाई लिएर बहस भइरहेको देखिन्छ,’ पूर्वशिक्षक यज्ञ खनाल बताउँछन् ।
यद्यपि मतदाताले स्थानीय आवश्यकता नउठाएका भने होइनन् । ‘यहाँका किसानहरूलाई सिंचाई, मल, बीउ जस्ता समस्या छ,’ भरतपुर–१८ की अमृता तामाङले भनिन्, ‘जंगली जनावरको समस्या उस्तै छ । उम्मेदवारहरूको एजेण्डा यो पनि हुनुपर्छ ।’

उनीजस्तै मत राख्नेहरू भने भरतपुरको कायापलट भएको दाबी पनि स्वीकार्दैनन् भने केही हुँदै नभएको पनि भाष्यमा पनि सहमत छैनन् ।
‘केही दशकअघिसम्म माडीबाट एकदिन पैदल हिडेर भरतपुर पुगिन्थ्यो । भरतपुर जान नपाउँदा हामी यहाँका थारुहरूले जे दिन्छन्, त्यही खाएर बाँच्नुपर्थ्यो,’ माडी–७ का पण्डित बाबुराम अधिकारी भन्छन्, ‘त्यो सम्झँदा त अहिले स्वर्ग छ । तर यतिले पुग्दैन ।’
पिच रोड सँगसँगै अब घरघरसम्म रोजगारी पनि पुग्नुपर्ने उनको माग छ । ‘धेरै कुरा भएको छ । अब रोजगारी पनि भए परिवार फुटेर बस्नुपर्थेन,’ उनी भन्छन् ।
भिडियो/तस्वीर: चन्द्र आलेमगर/अनलाइनखबर
प्रतिक्रिया 4