६ माघ, काठमाडौं । कुरा सन् २०२३ को हो। पञ्जाबमा वर्षापछि आएको बाढीले सतलज नदी किनारका जमिनहरू जलमग्न भएका थिए । यसले किसानहरूको बालीनालीमा ठूलो क्षति पुगेको थियो।
फिरोजपुर जिल्लाको किलचे गाउँका बासिन्दा जोगिन्दर सिंह, गुरमेज सिंह र छिन्दर सिंह बाढीको समयमा आफ्नो ट्र्याक्टर सुरक्षित स्थानतर्फ लैजाँदै थिए, त्यही बेला सतलज नदीको तीव्र बहावले उनीहरूलाई बगाएर लग्यो।
परिवारलाई उनीहरू कहाँ गए भन्ने कुनै पत्तो थिएन। पछि पाकिस्तानबाट प्राप्त खबरहरूले थाहा भयो- उनीहरू नदीको तीव्र बहावमा बगेर पाकिस्तान पुगेका रहेछन्।
परिवारले स्थानीय नेता र अधिकारीहरूसँग गुहार मागे, तर कुनै समाधान निस्कन सकेन।
पछि दुवै देशको सहमति पश्चात् पाकिस्तान सरकारले हालै यी तीनै जनालाई भारतको जिम्मा लगाएको छ ।
‘फर्कने आशा पनि बाँकी थिएन’
जोगिन्दर सिंहले बताए, ‘हाम्रो खेत बोर्डर नजिकै छ। ट्र्याक्टर पानीमा फसेको थियो। हामी त्यसलाई निकाल्न गएका थियौँ, तर नदीको तीव्र बहावले बगाएर हामीलाई पाकिस्तान पुर्यायो।’
उनले थप सुनाए, ‘त्यहाँ केही मानिसहरूले हामीलाई बस्न भने र पुलिसलाई बोलाए। पुलिसले हाम्रो आँखामा पट्टी बाँधिदिए र हामीलाई आफूसँगै लगे। सुरुका चार-पाँच दिन हामीमाथि कुटपिट पनि भयो र हामीलाई पाकिस्तान जासुसीका लागि पठाइएको हो कि भनेर सोधपुछ गरियो।’
उनले भने, ‘हामीले उनीहरूलाई भन्यौँ- हाम्रो त्यस्तो कुनै मनसाय थिएन। हामी सतलज नदीमा बगेर यहाँ आइपुगेका हौँ। उनीहरूलाई यो कुरामा विश्वास लागेपछि उनीहरूले हामीलाई कुटपिट गर्न छोडे।’
उनीहरूलाई सबैभन्दा पहिले हामीलाई कसुर जेल र पछि लाहोर जेल पठाइएको थियो । ‘जेलमा हामीलाई अलग राखिन्थ्यो। त्यहाँ अरू पनि भारतीय कैदीहरू थिए जो धेरै वर्षदेखि जेलको सजाय काटिरहेका थिए, तर हामीलाई कसैसँग पनि भेट्न दिइँदैनथ्यो,’ उनले भने ।
जोगिन्दरले अगाडि बताए, ‘करिब १५ महिनापछि न्यायाधीशज्यूको अनुमतिले हप्तामा एक पटक घरमा कुरा गर्ने मौका मिल्यो। त्यही बेला मलाई थाहा भयो, मेरा बुबाको मृत्यु भइसकेको रहेछ।’
‘हामी कहिल्यै भारत फर्कनेछौँ भनेर हामीलाई कुनै आशा थिएन, तर एक दिन अचानक हामीलाई भनियो- तपाईंहरूलाई रिहा गरिएको छ। यो सुनेर हामीलाई धेरै खुसी लाग्यो। हामी सरकारलाई धन्यवाद दिन चाहन्छौँ, जसका कारण हामी आफ्नो घर फर्कन सफल भयौँ।’
खुसीले गर्दा दुई दिनसम्म निन्द्रा नै लागेन
जोगिन्दर सिंहकी पत्नी सरोज रानीले बताइन्, ‘जोगिन्दर सिंह र उनका साथीहरू सतलज नदीमा बगेर पाकिस्तान पुगेको कुरा हामीले २५ दिनपछि समाचारहरूबाट थाहा पायौँ। त्यसभन्दा अघि हामीले उनीहरू हराएको उजुरी दर्ता गराएका थियौँ।’
उनले भनिन्, ‘जब हामीले यो कुरा थाहा पायौँ, तब धेरै दुःख लाग्यो। बच्चाहरू पनि रोइरहन्थे र स्कुल जाँदैनथे। घरमा कमाउने व्यक्ति जोगिन्दर सिंह मात्र थिए।’
उनले थपिन्, ‘जोगिन्दर सिंह बाली काट्ने मेसिनहरूमा फोरम्यानका रूपमा काम गर्छन्। उनीहरू तीन दाजुभाइ हुन् र आठ एकड जमिनमा मिलेर खेती गर्छन्। तीनै दाजुभाइ छुट्टाछुट्टै बस्छन्।’
उनका अनुसार, घरको गुजारा पहिले नै मुस्किलले चल्थ्यो। बाढीका कारण जग्गाको एउटा हिस्सा नदीले बगायो र नदीले खेतमै आफ्नो बाटो बनायो। त्यसपछि जब पानी आयो, तब चार एकडको गहुँ बाली पनि डुब्यो।
आफ्नो श्रीमानको फिर्तीका बारेमा उनले भनिन्, ‘हामीले गुरुद्वारा, मन्दिर र मस्जिदहरूमा धेरै प्रार्थना गर्यौँ। हामीलाई जोगिन्दर सिंह जीवितै हुनुहुन्छ भन्ने कुनै आशा थिएन, किनकि समाचारहरूमा उहाँको फोटो मात्र देखेका थियौँ।’
दुई छोराछोरी निजी विद्यालयमा पढ्थे। शुल्क तिर्न नसकेका कारण एउटा बच्चाको नाम पनि काटिएको थियो। अब श्रीमान घर फर्किनाले पूरै परिवारमा निकै खुसी छाएको छ।
गुरमेज सिंहले भने, ‘२०२३ मा हामी ट्र्याक्टर सुरक्षित उचाइतर्फ लैजान गएका थियौँ, तर त्यसअघि नै सतलज नदीको तीव्र बहावले बगाएर हामीलाई पाकिस्तान पुर्यायो। त्यहाँ पुग्ने बित्तिकै सर्वसाधारण मानिसहरूले हामीलाई समाते।’
उनले भने, ‘हामीले उनीहरूलाई यहाँको पुलिस वा मिलिट्रीको जिम्मा लगाइदिन बिन्ती गर्यौँ, ताकि हामी आफ्नो घर फर्कन सकौँ। उनीहरूले कुनै विभागमा फोन गरे र अधिकारीहरूले हाम्रो अनुहारमा नकाब लगाइदिएर हामीलाई लिएर गए।’
उनले थपे, ‘सुरुमा हामीलाई कुटपिट गरिन्थ्यो, तर पछि हामी बाढीमा बगेर आएको खबर फैलिएपछि कुटपिट गर्न बन्द गरियो। जेलमा हामीलाई त्यही खाना दिइन्थ्यो, जुन अन्य कैदीहरूले पाउँथे ।’
उनलाई पहिले घर फर्कने कुनै आशा थिएन। ‘पछि जब फर्कने खबर पायौं, तब खुसीले गर्दा दुई दिनसम्म निन्द्रा नै लागेन,’ उनले भने ।
उनले धेरै मानसिक तनावमा परेको अहिले उनी हरेक दिन गुरुद्वारामा दर्शन गर्न जाने गरेको बताए । उनी नहुँदा छोराछोरीको पढाइ प्रभावित भयो र परिवारका सदस्यहरू पनि बिरामी परे। अब उनी आफ्ना छोराछोरी र परिवारका लागि केही गर्न चाहन्छन् र सरकारप्रति आभारी छन्।
गुरमेज सिंहकी आमा मनजीत कौरले बताइन्, ‘हाम्रो छोरो सतलज नदीमा बगेको कुरा हामीले धेरै दिनपछि मात्र थाहा पायौँ। छोरो बिना हाम्रो कुनै जिन्दगी नै थिएन। हामी हरेक दिन प्रार्थना गरिरह्यौँ र धेरै कठिन दिनहरू काट्यौँ।’
उनले अब आफू धेरै खुसी भएको र स्वास्थ्य पनि ठीक रहेको बताइन्। ‘परमात्मालाई धन्यवाद छ, उहाँले मेरो छोरालाई दोस्रो जीवन दिनुभयो।
सबै कुरा छानबिनमा भर पर्छ
एडवोकेट मेहर सिंह मल्लले बताएअनुसार, जो मानिसहरू बाढीमा बगेर वा अन्य कुनै कारणले सीमा पार गरी पाकिस्तान पुग्छन्, त्यहाँका सुरक्षा एजेन्सीहरूले उनीहरूको अनुसन्धान गर्छन्। त्यसपछि भारतको सीमा सुरक्षा बलसँग सम्पर्क गरिन्छ।
उनले अगाडि थपे, ‘जब यो स्पष्ट हुन्छ- अर्को देशमा जाने मनसाय जानाजानी थिएन, तब पाकिस्तानले उनीहरूलाई भारत फिर्ता पठाइदिन्छ। फिर्तीका लागि कुनै निश्चित समय सीमा हुँदैन – यो सबै छानबिनमा भर पर्छ।’
उनले पाकिस्तानबाट फर्कने हरेक व्यक्तिमाथि भारतमा मुद्दा दर्ता गर्नु अनिवार्य नहुने बताए । यो कुरा उनीहरूले सीमा जानाजानी पार गरेका थिए वा गल्तीले भन्ने कुरामा निर्भर गर्दछ।
टेलिफोनिक जानकारीका अनुसार, सीमा सुरक्षा बलका इन्स्पेक्टर दीप सिंहले भने, ‘यो पुरानो मामला भएकाले हामीसँग यसको कुनै रेकर्ड उपलब्ध छैन।’
उनले थपे, ‘अहिले उनीहरू फिर्ता आएको बारेमा मात्र हामीलाई जानकारी थियो। यसबाहेक हामीसँग अरू कुनै जानकारी छैन।’
बीबीसी हिन्दीबाट
प्रतिक्रिया 4