६ फागुन, काठमाडौं । रञ्जु दर्शना उपस्थित छैनन् । तर उनकै लागि घरदैलो चलिरहेको छ । काठमाडौं क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुरेश सापकोटाले यी सबैको नेतृत्व र व्यवस्थापन गरिरहेका छन् ।
यसरी उम्मेदवार नै उपस्थित नभएको रास्वपाको चुनावी घरदैलोमा उम्मेदवारको खोजी भने त्यति देखिएन । स्वयं घरदैलोमा हिँडिरहेका पनि स्पष्ट थिएनन्– उम्मेदवार रञ्जु दर्शना स्वयं किन आज घरदैलोका आइनन् ? सायद दुई ज्यानकी भएकाले आइनन् होला भनेर अधिकांशले लख काटिरहेका थिए ।
‘उहाँको बच्चा जन्मिने ‘डेट’ पनि नजिकै आइरहेको छ । त्यसैले हिँड्न असहज भएर आउनुभएन होला,’ अनलाइनखबरको जिज्ञासामा अधिकांश कार्याकर्ता भनिरहेका थिए । तर उनीहरुले यसरी लख काटिरहँदा रञ्जु भने अर्को कार्यक्रममा सहभागी थिइन् । कार्यव्यस्तताले मंगलबारको घरदैलोमा उनी आइपुग्न भ्याइनन् । क्षेत्रीय सभापति सुरेश सापकोटाका अनुसार रञ्जु महिला समूहद्वारा आयोजित कुनै एक अन्तर्क्रिया कार्यक्रममा थिइन् ।
यता, घरदैलो बिहान साढे सात बजे नै अनामनगरको हनुमानस्थानबाट सुरु भयो । करिब २५/३० जना कार्यकर्ता घरदैलोमा सहभागी थिए । केही नेपालको राष्ट्रिय झन्डा र रास्वपाको पार्टीको झन्डा बोकेर कार्यकर्ताले अनामनगर फन्को लगाउन थाले । सँगसँगै हिँड्न थाल्यो, स्पिकर बोकेको एउटा सफा ट्याम्पो ।
‘ए ! बोलाउँदा नि नबोलाइ हिँड्ने । रवि दाइको मान्छेलाई नचिन्ने ? घन्टी टिनिनिनि…,’ ट्याम्पोबाट गीत घन्किरहेको छ ।

नाचगान र नाराबाजी गर्दै रास्वपाको टोली भाटभटेनी छेउको गल्लीबाट भित्र छिर्यो । कार्यकर्ताले रञ्जु दर्शनाको परिचय खुल्ने एउटा सानो कार्ड बाँडिरहे । मान्छे भएका घरमा व्यक्तिलाई नै दिए भने नभएको ठाउँमा घरको ‘कम्पाउन्ड वाल’मै छोडेर हिँडे ।
तर, कार्यकर्ता र टेम्पोबीच गतिको तालमेल मिलिरहेको थिएन । गल्लीमा भएकाले कार्यकर्ताले टेम्पोलाई छाडेर हिँड्ने क्रम केही बेर चल्यो । तर गीत नबजाई आफूहरूमात्र हिँड्दा कुनै अर्थ नरहेको कार्यकर्ताले बुझे । त्यसपछि कोही भिडबाट करायो, ‘त्यो (टेम्पो) चाहिने रहेछ । गीत नबजाई हिँड्नुको अर्थ रैनछ ।’
त्यसपछि एउटा साइकल मगाइयो । मधेशतिर प्रचलित ठूलो साइकलको पछाडि स्पिकर बाँधियो । त्यसपछि टेम्पोबाट हुने गतिविधि सबै साइकलकै सहारामा गरियो । टेम्पो केबल मुकदर्शक भएर अघिपछि मात्र गरिरह्यो । बरु केही पत्रकारका लागि बसेर खिच्ने स्थल बन्यो, टेम्पो ।
रास्वपाका कार्यकर्ता नाराबाजी गरिरहेका थिए– एक पटक, चुपचाप घण्टी छाप ।
सँगसँगै होहल्ला गरिहाल्थे– जय घण्टी । ‘हो, हो, घण्टी नै हो यस पटक’ भन्दै उनीहरूसँगै लय मिलाएर घण्टी बजाइदिने मतदाता पनि निकै देखिए । यतिसम्म कि, घरको छत र झ्यालबाट निस्किएर घण्टी बजाउनेको पनि कमी थिएन ।
घरदैलो गरिरहेका कार्यकर्ताले अनामनगर भाटभटेनी आसपासलाई नै सुरुवाती केन्द्र बनाइरहेका थिए । त्यहीँ एक जना अनौठा मतदाता भेटिए । उनी क्षेत्र नम्बर ७ का मतदाता रहेछन् । भोट भने घण्टीलाई हाल्ने मन रहेछ । रास्वपाका कार्याकर्ता देखेपछि उनले आएर सोधिहाले, ‘म त क्षेत्र नम्बर ७ को हो । त्यहाँ को छ हाम्रो उम्मेदवार ?’

तर, घण्टीलाई मत माग्दै हिँडिरहेका कार्यकर्ताले झट्टै जवाफ दिन सकेनन् । केहीबेरको सोधीखोजीपछि बल्ल कसैले बोल्यो– गणेश पराजुली ।
त्यसपछि ती मतदाताले पराजुलीलाई मत हाल्ने वाचा काठमाडौं क्षेत्र नम्बर १ कै रास्वपा कार्यकर्तासँग गरिदिए । अनि काठमाडौं–४ मा पनि आफन्त रहेको भन्दै उम्मेदवारबारे सोधे । अनि आफन्तको मत पनि रास्वपालाई मिल्ने आश्वासन दिए । मतदाताबाट आश्वस्त कार्यकर्ताले स्पिकरमा गीत घन्काउन छाडेका थिएनन् । ‘रवि दाइको मान्छेलाई नचिन्ने…’ बाट ‘अबकी बार बालेन सरकार…’ गीत बजिरहेको थियो । र्याप शैलीको उक्त गीतले महोल नै उत्साहपूर्ण बन्दै गयो ।
केही बेरमा रास्वपाको टोली अनामनगरको धोबीखोला किनारतिर निस्कियो । खोला किनारको सडकमा नाचगान गर्दै कार्यकर्ता हिँडिरहे । ठूलो सडकमा आएपछि कार्यकर्ता छरिएको र घरदैलो प्रभावकारी नभएको गुनासो फेरि एक पटक उठ्यो । पुन: एकजुट भएर नाराबाजी गर्न थाले ।
अझै केही घण्टा हिँड्नुपर्ने भएकाले चिया पिएर मात्र अघि बढ्ने सल्लाह गरेका कार्यकर्ता मदन भण्डारी कलेजको पारिपट्टि रहेको ‘कटेरो’मा पुगेर रोकिए । चिया पिउँदै त्यहीँ भित्र मत मागे । क्याफे भित्रै रास्वपाको चुनाव चिह्न रहेको स्टिकर टाँस्ने इच्छा व्यक्त गरे । क्याफे मालिकले पनि आनाकानी गरेनन् ।
कार्यकर्ताले पनि करिब २५ मिनेट जति घरदैलो गरिसकेपछि बल्ल कटेरो क्याफे अगाडि उभिँदा पहिलो पटक उम्मेदवारको नाम लिन भ्याए– रन्जु दर्शनालाई अत्यधिक मतले विजयी गराऔँ ।

यसरी घरदैलोको क्रममा उनीहरूले कमै रञ्जु दर्शनाको नाम लिइरहँदा मतदाताले पनि उम्मेदवारबारे सोधिखोजी गरेको देखिएन ।
रञ्जुको एउटा भिजिटिङ कार्ड बाँड्दै घण्टीमा भोट मागिरहेका रास्वपा कार्यकर्तासँग मतदाताले उम्मेदवार मात्र होइन, एजेन्डा पनि सोधनन् । घरका छत र झ्यालबाट हेरिरहेकाले पनि सिधै हातले घण्टी बजाएको इशारा गर्दै रास्वपा कार्यकर्तामा विश्वास भरिरहेका थिए ।
घरदैलोमा रञ्जुको भिजिटिङ कार्ड बाँड्न निकै सक्रिय थिए, ५५ वर्षीय रामजी कार्की । ओखलढुंगामा जन्मिएका उनी हाल काठमाडौं–१ का मतदाता हुन् । उनका अनुसार उनी न रास्वपाका अन्धभक्त हुन्, न कुनैखाले पार्टी सदस्यता छ । तैपनि, एक पटक घण्टीको एक कार्यकाल जसरी पनि हेर्नुपर्छ भन्दै स्वेच्छाले घरदैलोमा हिँडिरहेका छन् ।
‘पुरानालाई धेरै हेरियो । अब यस पटक रास्वपालाई मौका दिनुपर्छ । यो कार्यकाल हेर्ने, यिनीहरूले पनि गल्ती गरे भने अर्को पटक यिनलाई नै बणर्ने । म त त्यस्तो समर्थक हो,’ देशको अवस्था परिवर्तनमा रास्वपाले भूमिका खेल्ला भन्ने अपेक्षाले नियमित घरदैलोमो हिँडिरहेका कार्कीले बताए ।
कार्की र उम्मेदवारबीच प्रत्यक्ष दोहोरो चिनजान पनि छैन । बल्लबल्ल सोमबार उम्मेदवार भेट्न पाएको बनाउने उनी यसअघि पटकपटक नाम सुनेकाले राम्रै व्यक्तिको रूपमा रञ्जुलाई हेर्ने बताउँछन् ।

५५ वर्षको उमेरमा स्वत:स्फुर्त किन यसरी कसैको चुनावी घरदैलोमा हिँडिरहेका छन् कार्की ? उनको सिधा जवाफ छ, ‘मेरा दुई छोरा क्यानडा र जर्मनीमा छन् । हामी यहाँ बुढाबुढी मात्र छौँ । यसरी परिवार टुक्रिएर बस्ने अवस्था ल्याउने दललाई पाखा लगाउनुपर्छ । छोराहरू देशमै फर्कने वातावरण बन्छ कि भनेर अहिले रास्वपालाई मत दिएर हेर्ने हो ।’
अवस्था परिवर्तनका लागि मत परिवर्तन गर्ने भन्दै उम्मेदवार विना घरदैलोमा हिँड्नेमा बुढादेखि युवासम्म थिए । त्यहीँ भेटिए– २२ वर्षीय आर्यन घिमिरे । घट्टेकुलो बस्ने उनी रास्वपको क्षेत्रीय सचिव रहेछन् । १९ वर्षकै उमेरदेखि रास्वपाको राजनीतिमा लागेका उनी बालेन शाह काठमाडौं महानगरको मेयर हुँदादेखि नै वैकल्पिक शक्तिको खोजीमा रहेछन् । जब रास्वपा पार्टी गठन भयो, त्यसपछि उनी सोही पार्टीमा जोडिएर राजनीति गर्न थाले ।
घिमिरेको परिवारले पनि वैकल्पिक शक्तिको रूपमा उदायको तत्कालीन विवेकशील साझाप्रति समर्थन जनाउने रहेछन्, जुन भावना अहिले रास्वपातिर सरेको उनले बताए । रास्वपाको घरदैलो जब अनामनगरको अक्सिडेन्टल स्कुलमा पुग्यो, उनी रोकिए । कारण, आफ्ना स्कुले प्रधानाध्यापकलाई त्यहीँ भेटे । ‘सर, यस पटक भोट घण्टीमा है,’ प्रधानाध्यापकसँगै मत पनि मागिहाले । विद्यार्थीको अनुरोध आएपछि उनले पनि नदिने भनेनन् ।
घरदैलो गल्ली–गल्लीबाट पूर्वी गेटतिर निस्किन्थ्यो । फेरि गल्ली छिरेर कुनै अर्को चोक वा मूल सडक । राजनीति सरल रेखामा हिँड्दैन भने जस्तै यो घरदैलोले पनि फनफनी कार्याकर्तालाई घुमाइरह्यो । झट्ट हेर्दा सानो लाग्ने अनामनगर गल्लीले भित्रभित्रै फनफनी घुमाउँदा फराकिलो अनुभूत गर्दै थिए । ‘ओहो ! अझै कति छ जानुपर्ने ? गल्ली नै गल्ली रहेछन् भित्र…,’ कार्यकर्ता घरदैलो कतिबेला सकिएला भन्दै अत्यास मान्थे ।
‘क्षेत्र नम्बर १ ले के भन्छ, रन्जु दर्शना ले भन्छ,’ भन्दै माइकिङ चलिरह्यो । ‘रवि दाइको मान्छेलाई नचिन्ने…’ भन्दै संगीतमार्फत रास्वपा कार्याकर्ताले मतदातालाई आफूहरू ‘रवि दाइ’को मान्छे रहेको जनाउ दिइरह्यो । यसरी घरदैलोलाई साथ दिइरहेको स्पिकर साइकलमा लामो समयदेखि डोर्याइरहेका पात्र थिए, ७५ वर्षीय पृथ्वीबहादुर बस्नेत ।

पहिले राप्रपामा रहेका बस्नेत पुराना दल सच्चिने अवस्था नदेखेपछि रास्वपामा जोडिए । २०८२ साल असार १५ गते पार्टी कार्यलय बनस्थलीमै गएर उनले रास्वपाको साधारण सदस्य लिए ।
त्यसैले यो चुनावमा जसरी पनि राजनीतिक शक्तिमा फेरबदल गराएर देशको अवस्था बदल्नुपर्ने मुडमा बस्नेत देखिन्छन् । ७५ वर्षको उमेरमा पनि साइकल डोहोर्याउँदै उनी रास्वपाको प्रचारप्रसारमा हिँडिरहेका छन् ।
मंगलबार बिहानभर करिब दुई घण्टा निरन्तर साइकल डोहोर्याएर उनले रञ्जु दर्शनालाई मत माग्न सघाइरहे । साइकल पछाडि बाँधिएको स्पिकरले बजाइरह्यो– रवि दाइको मान्छेलाई नचिन्ने ? घण्टी टिनिनिनि… ।
केही अघिसम्म ‘चुपचाप, घण्टी छाप’ भनिरहेका रास्वपा कार्यकर्ता अब ‘दुई छाप घण्टी छाप, भ्रष्टाचारीको पत्तासाफ’ भन्न थाले । चुपचापभन्दा प्रश्न बन्देज लगाएको आशय बुझिने भन्दै कसैले सम्झाएपछि उनीहरूले ‘दुई छाप’ भन्न थालेका थिए ।
घरदैलोको क्रममा रास्वपाले दिएको भिजिटिङ कार्ड लिएर सबैले मत हाल्ने आश्वासन दिइरहेका थिए । तर घट्टेकुलोतर्फ जाने गल्लीमा एक परिवारले कार्ड लिन मानेनन् । त्यसबेला भने रास्वपा कार्यकर्ताले अस्वाभाविक व्यवहार देखाए । ती परिवारले रास्वपाको कार्ड लिन नमानेपछि केही व्यक्तिले भिडबाटै रिसाउँदै कराए, ‘क–कसले लिन मान्दैनन्, याद गरौँ है साथीहरू, याद गरौँ… ।’

सम्भवत: भोलि सत्तामा आएपछि आफूहरूले ‘देखाइदिने’ आशय उनीहरूको थियो । यसरी कसैले चेतावनीको भाषा बोलेपछि स्टोन हाउस भएकै गल्लीमा अर्का व्यक्तिले थपे, ‘कांग्रेसी होलान् नि त ! कसरी समाउँछन् ?’
सबै सौहार्द्र र राम्रो देखिँदादेखिँदै पनि कतिपय दृश्य टिठलाग्दा थिए । रञ्जुको घरदैलोमा हिँडेका कार्यकर्तामा सामान्य चेतसमेत नरहेको देखियो । घण्टी बजाउँदै पूरै गल्ली घण्टीमय हुँदा स्कुले विद्यार्थी जोस्सिएर ‘घण्टी–घण्टी’ भन्दै कराइरहेका थिए । उनीहरूको जोसमा रास्वपा कार्यकर्ताले होस देखाएनन् । उल्टै ती स्कुले बालबालिकालाई आफ्नो प्रचार सामग्री (कार्ड) बाँडे । घण्टीलाई मत मागे ।
यसरी उम्मेदवार विना घरदैलोमा मत माग्दै रास्वपा कार्यकर्ता पुग्दा कसैले पनि उम्मेदवारबारे सोधिखोजी गरेन् । न त एजेन्डाबारे नै स्पष्ट हुन खोजे । बरु मत दिने आश्वासन दिँदै घण्टी बजाउँदै हिँडे । मतदाताले आश्वासन सुनेनन्, बरु उल्टै आश्वासन दिए । यही खुसीमा उत्साही रास्वपा कार्यकर्ताले घट्टेकुलोको गणेश मन्दिरमा पुगेर मंगलबारको घरदैलो रोक्यो । केहीबेर त्यहीँ नाचगान गरेर उनीहरू काठमाडौं क्षेत्र नम्बर १ को आफ्नै कार्यालयमा फर्किए ।
प्रतिक्रिया 4