राष्ट्र केवल शासन प्रणालीले मात्र जीवित हुँदैन । न त राष्ट्र कुनै संविधानको अक्षर, कुनै संस्थाको भवन वा कुनै सत्ताको औपचारिक संरचनामा सीमित हुन्छ । राष्ट्र त साझा स्मृतिले बाँच्दछ, साझा पीडाले परिपक्व हुन्छ, साझा चेतनाले दिशा पाउँछ र साझा उत्तरदायित्वले सुरक्षित रहन्छ । त्यसैले होला हाम्रो वैदिक सनातन चिन्तनले राज्यलाई ‘सहजीवनको धर्म’को रूपमा विवेचित गरेको छ ।
जहाँ शासक, जनता, भूगोल, संस्कृति, इतिहास, प्रणाली, विधिर चेतना एकअर्कामा गाँसिएर मात्र राष्ट्रको आत्मा जीवित रहन्छ । यही कारण राष्ट्रनिर्माण कुनै एक व्यक्ति, एक सरकार वा एक पुस्ताको काम होइन। यो त निरन्तर पुस्तागत उत्तरदायित्व हो । हरेक नागरिकको साझा अभिभारा हो ।
नागरिकको चेतनामा राष्ट्रको साझा बोध र जिम्मेवारी रोप्नु राष्ट्र निर्माणको सार हो । मानव विकासशास्त्रको इतिहासले पनि कुनै पनि समाज/राष्ट्र वा देशको पहिचान त्यो राष्ट्रको नागरिकको चेतनाको एकीकृत फलनले निर्धारण गर्ने विषय स्थापित गरेको छ । अर्थात् पाश्चात्य दार्शनिक प्लेटोको भने जस्तै; ‘कुनै पनि राज्य रुख वा चट्टानबाट बन्दैन, बरु त्यो त्यहाँ बसोबास गर्ने मानिसको चरित्रबाट बन्दछ ।’
अत: व्यवहारमा राष्ट्रप्रतिको निष्ठा, विचारमा स्वाधीनता, चरीत्रमा इमानदारीता र कर्ममा उत्तरदायित्व स्थापित भए देश निर्माण सम्भव हुन्छ । सत्य यही हो र सबैले यसलाई गहिरोसँग बुझ्न अब ढिला भइसकेको छ ।
विश्व भूराजनीति : अस्थिरताको आँधीमा साना राष्ट्र
आजको विश्व गहिरो भूराजनीतिक संक्रमणमा छ । दोस्रो विश्वयुद्धपछिको शक्तिसन्तुलन क्रमश: भत्किँदै गएको छ । रुस–युक्रेन युद्ध, मध्यपूर्वको निरन्तर द्वन्द्व, अमेरिकी प्रभाव क्षेत्रका टकरावहरू यी सबै केवल क्षेत्रीय घटना मात्र सिमित देखिन्नन् । बरु, विश्व शक्ति पुनर्संरचनाका संकेतका रुपमा देखिँदैछन् । दुर्भाग्यवश, विश्वका प्राय: सबै युद्धभूमिमा नेपालीको रगत बगिरहँदा हामी आफ्नै भूमिमा राष्ट्रबोधको गम्भीर संकट झेलिरहेका छौँ ।
इतिहास साक्षी छ; नेपाली सधैं विश्वशान्तिका लागि लडेका छन् । प्रथम, दोस्रो विश्वयुद्धदेखि रुस–युक्रेन युद्धसम्म हजारौं नेपालीजनले रगत–पसिना बगाए । गोर्खा सैनिकको साहस बेलायतदेखि सिङ्गापुर, अरबदेखि युरोप, भारतदेखि मध्यपूर्वसम्म इतिहासमा अंकित छ । तर आज प्रश्न उठ्छ; जब हामी अरूका युद्ध लडिरहेका छौँ, के हामी आफ्नै राष्ट्र–चेतनालाई जोगाउन सफल भएका छौँ त ?
विश्व भूराजनीतिक क्षितिजमा पछिल्ला वर्षहरुमा बंगलादेश, श्रीलंका, म्यानमार, प्यालेष्टाइन, युक्रेनदेखि भेनेजुएलासम्म देखापरेका राजनीतिक, आर्थिक, वातावरणीय तथा सामाजिक संकटहरूले एउटा कठोर तर निर्विवाद सत्य उजागर गरेका छन् । त्यो हो; जब अल्पविकसित र कमजोर क्षमता भएका राष्ट्रहरू आन्तरिक रूपमा खण्डित हुन्छन् तब उनीहरू बाह्य शक्ति, स्वार्थ र प्रभावको प्रयोगशाला बन्न धेरै समय लाग्दैन ।
क्षेत्रीय स्थिरताको आधार मानिएको सार्क क्षेत्रकै अधिकांश मुलुकहरू निरन्तर अस्थिरताको चक्रमा फसिरहनु र विश्व भूराजनीतिका दुई प्रमुख शक्तिकेन्द्रबीच ‘‘दुई ढुङ्गाबीचको तरुल’’ जस्तो संवेदनशील भूबनोटभित्र हाम्रो देश रहनु स्वयंले नै अब हामीलाई आत्ममुग्धताबाट बाहिर निस्केर गहिरो, इमानदार, सत्य आधारित र राष्ट्रियहित केन्द्रित आत्मसमीक्षा गर्न बाध्य पारिरहेको छ । नेपालजस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशका लागि यो चेतावनी झनै गम्भीर छ ।
राष्ट्रको आत्मरक्षा दर्शन यस्तो गम्भीर, तरल र निरन्तर अस्थिर बन्दै गएको विश्व भूराजनीतिक परिवेशमा नेपालजस्तो सानो तर अत्यन्त संवेदनशील राष्ट्रको दीर्घकालीन अस्तित्व कुनै तात्कालीक नारा, आयातित वैचारिक प्रयोग वा क्षणिक भावनात्मक उन्मादबाट सुरक्षित हुन सक्दैन भन्ने सत्य अब बहसको विषय रहेन । यो एक निर्विवाद ऐतिहासिक निष्कर्षका रूपमा स्थापित भइसकेको छ ।
यस्तो अवस्थामा राष्ट्रको संरक्षण र भविष्यको सुनिश्चितताका लागि सबै नेपालीजनले क्षणिक राजनीतिक आग्रहभन्दा माथि उठेर दीर्घकालीन राज्यदर्शनको अवलम्बन गर्नैपर्ने निर्णायक घडी आइपुगेको अवस्था हाम्रासामु छ ।
राष्ट्रको आत्मबोधबाट निर्देशित, इतिहासद्वारा परीक्षित र यथार्थका कठोर पाठहरूले प्रमाणित स्पष्ट मार्गको पहिचान गरी त्यसै मार्गमा दृढतापूर्वक अघि बढ्नु अब विकल्पको प्रश्न होइन । यो हाम्रो विकल्पहीन धरातलीय बाध्यता हो ।
विचारधारात्मक आग्रह वा राजनीतिक पूर्वाग्रह जुनसुकै कोणबाट व्याख्या–विश्लेषण गरिए पनि राष्ट्रको अस्तित्व, स्वाधीनता र सन्तुलनका लागि अब राष्ट्र निर्माता पृथ्वीनाराण शाहले कोरेको मार्गमा हामी हिँड्नै पर्छ ।
यहाँ स्पष्ट बुझ्नुपर्ने कुरा के हो भने, पृथ्वीपथ कुनै राजनीतिक वाद होइन । यो कुनै दलगत विचारधारा पनि होइन । न त कुनै शासन प्रणालीको सैद्धान्तिक बहस यसका विषय हुन् । बरु यसले कोरेको दृष्टि नेपाल राष्ट्रको आत्मरक्षा कवच/दर्शनको रुपमा देखिएको छ । स्वाधीनता, सन्तुलित/असंलग्न तर विवेकपूर्ण कूटनीति, आन्तरिक एकता, माटो आधारित अर्थतन्त्र, सामाजिक चरीत्रमा इमानदारीता र आत्मनिर्भर राष्ट्रिय चेतनाको समग्र दृष्टि यसका मार्गनिर्देशक सिद्धान्त हुन् ।
खासमा “दुई ढुंगाबीचको तरुल” भन्ने पृथ्वीनारायण शाहको उपमा कुनै भावुक चेतावनी वा कमजोर मनोबिम्ब थिएन । बरु, त्यो त समयभन्दा धेरै अगाडि गरिएको भूराजनीतिक यथार्थको गहिरो, वैज्ञानिक र रणनीतिक विश्लेषण थियो भनेर पुन: पुष्टि हुँदै गएको छ ।
पृथ्वीनारायण शाहले कोरेको मार्गलाई क्षणिक राजनीतिक उत्तेजनाको चस्माबाट हेर्नु विचारको दरिद्रतामात्र होइन, त्यो इतिहास माथिको सरलीकृत हिंसा पनि हो । किनकी, यसको धरातल कल्पित घोषणापत्रमा होइन, सभ्यताको दीर्घ स्मृतिबाट उदाएको राष्ट्रिय आत्मबोधको निनादमा भेटिन्छ । यसलाई संकुचित वैचारिक खेमामा थुन्न खोज्नु भनेको हामीले आफ्नै आत्मचेतनालाई आरोपित व्याख्याको कारागारमा बन्द गर्नु सरह हो ।
उहाँले कोरेको मार्ग सत्ता–संरक्षणको आग्रह होइन, राष्ट्र संरक्षणको अन्तर्दाह भेटिन्छ । त्यसैले, पृथ्वीनारायण शाह कुनै दल विशेष वा विचारवादका राजा होइनन्, उनी सम्पूर्ण देश निर्माणका ऐतिहासिक नेतृत्वकर्ता हुन् । देशलाई साझा फूलबारी ठान्ने उहाँले कोरेको मार्गको अनुसरण गर्नु अपराध होइन, बरु हरेक नेपालीले इतिहासप्रति देखाउनुपर्ने विवेक, राष्ट्रप्रति व्यक्त गरिने उत्तरदायित्व र भावी पुस्ताप्रति गरिने जिम्मेवार संकल्प हो भनेर हामीले बुझ्नुपर्छ ।
वर्तमान नेपालको राजनीतिक अवस्थालाई नियाल्दा देश नियमित र सुरक्षित अवस्थामा छ भन्न सकिने अवस्था छैन । भाद्र २३ र २४ पछि उत्पन्न संकट अझ इतिहासमा अविश्वसनीय र चिन्ताजनक छ ।
पटक–पटक खण्डित जनादेश, अस्थिर सरकार, कमजोर संस्थागत क्षमता र नागरिकमा बढ्दो निराशाले राष्ट्रको आधारभूत संरचना नै हल्लाइरहेको छ । यस्तो अवस्थामा इतिहाससँग संवाद नगरी, राष्ट्रको आत्मासँग पुन: संवाद नगरी केवल तात्कालिक राजनीतिक गणनाबाट भविष्य सुरक्षित हुन्छ भन्ने सोचियो भने त्यो भ्रम झन् घातक हुनेछ । यस्तो संवेदनशील घडीमा पृथ्वीनारायण शाहको राष्ट्रिय एकताको भावलाई इन्कार गर्ने छुट अब हामीलाई छैन ।
यही मार्गको अनुसरणले हामीसँग अंग्रेजलाई परास्त गरेको इतिहास छ । साम्राज्यवादी युगमा पनि स्वाधीनता जोगाएको गौरवगाथा छ । हामीले कसरी यो देशको अस्तित्व र हाम्रो पहिचान जोगाएको थियौं ? एकछिन सोचौ त ! उनीहरूसँग तोप थियो, आधुनिक हतियार थिए तर हामीसँग खोला थुनेर भए पनि शत्रु परास्त गर्ने अदम्य साहस थियो ।
हाम्रो हतियार कहिल्यै आधुनिक बन्दुक वा हतियार थिएन । हाम्रो शक्ति नै आपसी विश्वास, एकता र स्वाभिमान थियो । त्यसैले: आज नेपाललाई परदेशी सोचले होइन, स्वदेशी चेतनाले हेर्ने समय आएको छ । इतिहासबाट मार्गदर्शन लिएर भविष्य सुरक्षित गर्नु नै बुद्धिमता हो भनेर बुझ्नुपर्छ ।
हिंसा होइन चेतना : राष्ट्र निर्माणको मूल प्रश्न गत भाद्र २३ र २४ पछि देशको अवस्था झन् गहिरो जर्जरतामा धकेलिएको छ । जेन–जेड पुस्ताको शान्तिपूर्ण आन्दोलन भनिए तापनि त्यसपश्चातका विकसित घटनाक्रम र राष्ट्रिय परिस्थितिले हामी सबैको सामु एउटा असहज तर अनिवार्य प्रश्न उभ्याएको छ; हामी वास्तवमै कुन दिशातर्फ अग्रसर हुँदैछौं ? चेतनाको पुनर्जागरण भनिएको युवापुस्ताको आन्दोलनमा समेत आगजनी, लुटपाट र राज्यका आधारभूत संस्थामाथि प्रहार गरिन्छ भने त्यो जागरण होइन; त्यो राष्ट्रको आत्मामाथि गरिएको आघात हो । यो कटु सत्य हो, जसलाई आँखा चिम्लेर बेवास्ता गर्न सकिंदैन ।
एक नेपालीले अर्को नेपालीको घर वा सार्वजनिक सम्पत्तिमा आगो लगाउँदा कुनै क्रान्ति जन्मिँदैन । अदालत, संसद, विद्यालय वा अस्पताल जस्ता सभ्यताको स्तम्भहरू ध्वस्त पारेर राष्ट्र निर्माण भएको इतिहास विश्वमा पनि कहीँ छैन ।
हिंसा र विनाशले क्षणिक उन्माद सिर्जना गर्न सक्छ, तर दीर्घकालमा केवल अविश्वास, भय र विखण्डनको बीउ मात्र रोप्छ । अत: यी समस्याहरू हाम्रा आन्तरिक समस्याहरू हुन् र यसको समाधान पनि आन्तरिकै हुनुपर्छ ।
उत्तर अब कुनै एउटा पक्षको आवेग, प्रतिशोध वा उत्तेजनामा होइन, सामूहिकतामा खोजिनुपर्छ । सर्वोच्च अदालत, सिंहदरबार, कारागार वा निजी संरचनासँग नेपालीले के व्यक्तिगत वैर राख्थे र ती निसानामा परे ? एकछिन गम्भीर भएर विचार गरौं त ।
राष्ट्रको भविष्य निर्धारण गर्ने युवापुस्ता त्यसमा पनि विद्यार्थी नै यस्तो क्रियाकलापमा संलग्न हुन्छन् भने त्यो केवल आन्दोलनको स्वरूपमात्र नभई हाम्रो शिक्षा प्रणाली, सामाजिक संस्कार र समाजको चेतमाथि गम्भीर प्रश्नचिह्न उभ्याउने विषय होइन र ?
देश निर्माणको आधारस्तम्भको रूपमा रहने युवापुस्ता नै पुनर्निर्माण छोडेर आगो समात्छ तिर लाग्छ भने यो हाम्रो शिक्षा प्रणाली र समाजमा गहिरो विकृति प्रवेश गरिसकेको स्पष्ट संकेत हो । हामीलाई आगो बाल्न सिकाउने शिक्षा होइन, राष्ट्र निर्माणको विवेक र चेतना आवश्यक छ । किनकि अन्तत: राष्ट्रहरू नाराले होइन, चेतनाले बाँच्छन् र यही चेतनाको पुनर्स्थापनामा आजको नेपालको वर्तमान र भोलिको भविष्य निर्भर छ ।
साँचो प्रजातन्त्र: बी.पी.को राष्ट्रिय मेलमिलाप र पृथ्वीपथको संगम
नेपाल आज केवल आर्थिक र शासकीय संकटको मात्र सामना गरिरहेको छैन । यो राष्ट्र स्वयं आफ्नो ऐतिहासिक दृष्टि र वैचारिक दिशाबोध गुमाएको गम्भीर संकटको डिलमा उभिएको छ । जब कुनै राष्ट्रले आफ्नो मार्गदर्शक दर्शन बिर्सन्छ तब राजनीति लक्ष्यहीन बन्छ र जनता निराशाको गर्तमा धकेलिन्छन् । यही दिशाहीनताको घडीमा इतिहासले हामीलाई दुई महान् वैचारिक धरोहर स्मरण गराइरहेको छ ती हुन्, बी.पी. कोइरालाको राष्ट्रिय मेलमिलापको मार्ग र पृथ्वीनारायण शाहको राष्ट्र निर्माणको गन्तव्य ।
युग फरक भए पनि यी दुई विचारको अन्तिम ध्येय एउटै हो; राष्ट्रको अस्तित्व, स्वाधीनता, आन्तरिक एकता, साझा समुन्नती र दीर्घकालीन स्थायित्व । स्मरण रहोस्, बी.पी. कोइरालाले मेलमिलापको आह्वान गर्दा कुनै राजनीतिक सौदाबाजी प्रस्ताव गरेका थिएनन् । उहाँले इतिहासको कठोर यथार्थ बुझेका थिए ।
निरन्तर वैचारिक टकरावले राष्ट्र कमजोर बनाउँछ भन्ने उनले बुझेका थिए । मेलमिलापले राष्ट्रलाई बाँच्छे शक्ति दिन्छ भन्ने आट र दृष्टि उहाँमा थियो । मेलमिलाप घुँडा टेक्नु होइन, राष्ट्रलाई सर्वोपरि राख्नु हो भन्ने गहिरो दार्शनिक सत्य आज बी.पी.को नाममा राजनीति गरेर जीविकोपार्जन गर्नेहरूले सम्झने कि बिर्सने भन्ने प्रश्नमै नेपाली कांग्रेसको मात्र होइन देशको भविष्य निर्भर छ ।
त्यसैगरी पृथ्वीनारायण शाहको “पृथ्वीपथ” केवल भौगोलिक एकीकरणको परियोजना वा राज्य विस्तारकोरुपमा मात्र बुझ्नु हुन्न । कम्तिमा राजनीति गर्छु भन्ने नयाँ–पुराना सबैले बरु त्यो त नेपाल भित्रका विविध जाति, भाषा, भूगोल र हितलाई एउटै राष्ट्रिय चेतनामा बाँध्ने ऐतिहासिक दृष्टिपथ थियो भनेर बुझ्नैपर्छ ।
तर आजको नियती के छ भने नेपाली कांग्रेसले बी.पी.को नाम उच्चारण गर्छ, तर उहाँको राष्ट्रिय मेलमिलापको आत्मालाई क्रमश: विस्मृत गर्दै विभाजन, निषेध र बिग्रह केन्द्रित राजनीतिमा फँसिरहेको छ ।
गुटमा विभक्त हुँदै विचारभन्दा पदलाई, राष्ट्रभन्दा आन्तरिक शक्ति–सन्तुलनलाई प्राथमिकता दिँदा कांग्रेस स्वयं दिशाहीन बन्दै गएको छ । यो यथार्थ हो । कस्तुरी आफैंभित्र हुन्छ, तर मृग मृगतृष्णाको पछि लाग्छ । आज कांग्रेसभित्रको सत्य पनि यस्तै कठोर छ ।
अब त भन्नैपर्छ; कांग्रेस र राजसंस्था वा व्यापक अर्थमा ऐतिहासिक राष्ट्रिय शक्तिहरूबीच न्यूनतम समझदारी नबनेसम्म नेपाल स्थायित्वको बाटोमा प्रवेश गर्न एक, दुई, तीन सक्दै–सक्दैन ।
त्यसै पनि नेपालको राजसंस्था विचार, व्यक्ति र वादभन्दा पर रहेको ऐतिहासिक राष्ट्रवादी यथार्थवाद हो । यो सत्यलाई स्वीकार गर्दा नेपालको हित नै हुन्छ । नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील देशमा ऐतिहासिक शक्तिहरूबीच स्थायी द्वन्द्व राष्ट्रघाती विलासिता मात्र हो भन्ने कुरा अब सबैले बुझ्नैपर्छ । यदि जनता र राजाजस्ता इतिहासका दुई ठूला राष्ट्रिय आस्था र विश्वासका प्रतीक अब पनि मिल्न सकेनन् भने, देशलाई इन्द्रको बाऊ चन्द्र आए पनिबचाउन सक्दैन । किनकि राष्ट्र बाहिरी शक्तिले होइन, आन्तरिक एकताले बच्छ । राष्ट्र भाषणले होइन, साझा न्यूनतम सहमतिले बच्छ ।
राजनीतिक दर्शनको एउटा कठोर सत्य छ; इतिहास र वर्तमानबीच सेतु बने राष्ट्र टिक्छ; त्यो सेतु भत्किए राष्ट्र ढल्छ । आज नेपाल त्यो सेतु बन्ने कि भत्काउने भन्ने निर्णायक मोडमा उभिएको छ ।
समय अझै बाँकी छ । बाटो अझै खुला छ । प्रश्न केवल इच्छाशक्ति र सच्चा मनको हो ।
निचोड: राष्ट्र निर्माणको आत्मा जोगाऔँ
अन्त्यमा, राष्ट्र निर्माण कुनै एक व्यक्तिको दूरदृष्टि, कुनै एक सरकारको कार्यकाल वा कुनै एक पुस्ताको परियोजना होइन । यो त समयसँगै बग्ने सभ्यतागत साझा जिम्मेवारी र उत्तरदायित्व हो । जसको संवाहक हरेक पुस्ता हो र जसको भार हरेक नागरिकको कर्ममा निहित हुनुपर्दछ ।
सर्वप्रथम, राष्ट्रप्रतिको उत्तरदायित्व कानुनी दायित्वभन्दा पहिले नैतिक दायित्व हो भन्ने बुझौं । विखण्डनको राजनीतिभन्दा माथि उठेर, विभाजनकारी चेतनाभन्दा पर गएर, दरिलो, दिगो र समावेशी राष्ट्रिय एकतासहितको प्रजातान्त्रिक राज्य व्यवहार पुन:स्थापना गर्नु आज हामी सबै नेपालीको साझा अभिभारा हो भन्नेचेत राखौं ।
राष्ट्र दुर्बल हुँदा केवल व्यवस्था विफल हुँदैन; भाषा, संस्कृति, स्वाभिमान र भविष्यको सामूहिक प्रतिज्ञा नै क्षीण हुन थाल्छ । व्यवस्था फेरिनसक्छ, संविधान संशोधित हुनसक्छ, तर अस्तित्व एकपटक क्षतिग्रस्त भयो भने त्यसको पुनर्निर्माण इतिहासकै कठोरतम साधना बन्छ । त्यसैले राष्ट्रबोध कुनै बिम्ब होइन; त्यो सभ्यताको आत्मसंरक्षणात्मक विवेक हो ।
राजनीतिक बहसहरू अस्थायी हुनसक्छन् तर अस्तित्वको प्रश्न स्थायी हुन्छ । यही स्थायित्वको चेतनाबाट यो सन्देशलाई पढ्न सके मात्र हामी समयप्रति इमानदार ठहरिनेछौं । नेपालको भोलि सुरक्षित राख्न यो अपरिहार्य छ ।
यस्तो विषम परिवेशमा यो राष्ट्रको आत्मा जोगाउने अन्तिम विकल्पमात्र होइन, भावी पुस्तालाई स्वाधीन भविष्य हस्तान्तरण गर्ने साझा संकल्प पनि हो । यसका लागि राष्ट्रिय जीवनका सबै पक्ष, पात्र र चरित्रमा आमुल पुनर्जागरण आवश्यक छ ।
तर, त्यो पुनर्जागरणमा विनाश होइन विवेकले, उन्माद होइन उत्तरदायित्वले र आयातित भ्रम होइन, स्वदेशी आत्मबोधले राष्ट्रको दिशा तय हुनुपर्छ । अब विलम्बको कुनै औचित्य छैन । समय स्वयंले हामीलाई आह्वान गरिरहेको छ । बुझौँ, गम्भीर भएर सबैले आ-आफ्नो धरातलमा उभिएर इम्मनदारीका साथ आत्मसमीक्षा गरौँ र राष्ट्र निर्माणमा जुटौं । प्रजातन्त्र दिवसको शुभकामना यही छ: राष्ट्र सुदृढ रहोस्, चेतना जागृत रहोस्, अस्तित्व अक्षुण्ण रहोस् ।
प्रतिक्रिया 4