७ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड र म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनलाई मतदाताले नै ‘चुनाव खर्च’ दिएका छन् ।
प्रचण्डलाई सिस्ने गाउँपालिका–८, धपेका शहीद परिवारले निर्वाचन परिचालनका लागि भन्दै संयुक्त रूपमा १ लाख ५०५ रूपैयाँ सहयोग गरेको प्रचण्डको सचिवालयले जनाएको छ । सशस्त्र युद्धकालमा शहीद भएका हरिचन्द्र पुनका बुवा पदमबहादुर पुनले आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । सिस्नेको ८ नम्बर वडाबाट युद्धकालमा २० जना राज्य पक्षबाट मारिएका थिए । तिनलाई प्रचण्ड नेतृत्वको सरकारले शहीद घोषणा गरेको थियो ।
शहीद परिवारले प्रचण्डलाई दिएको सो रकम प्रचण्डले निर्वाचन परिचालन समितिका संयोजक गणेशमान पुनलाई हस्तान्तरण गरेका थिए । संयोजक प्रचण्डले शहीद परिवारको सहयोग सांकेतिक तर शक्तिशाली भएको बताएका थिए ।
हिसाबकिताब सार्वजनिक गर्छु : महावीर पुन
यसैबीच म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका पूर्वमन्त्री महावीर पुनले घरदैलोको क्रममा आफू र आफ्नो चुनावी अभियानको टोलीलाई मतदाताले पैसा दिइरहेको बताएका छन् ।
महावीरले सामाजिक सञ्जाल लेखेका छन्, ‘अचम्मको कुरा हेर्नुहोस्– भोट माग्न गाउँगाउँ जाँदा मतदाताहरुले मलाई चुनाव खर्च भनेर पैसा दिइरहेका छन् ।’
मतदाताले दिएको खर्च एकीकृत गर्ने र हिसाबकिताब निर्वाचनको अन्तिममा सार्वजनिक गर्ने उनको प्रतिबद्धता छ ।
‘उमेदवारले पैसा बाँडेर भोट माग्छन् भन्ने सुनिन्छ । मलाई त उल्टै पैसा दिइरहेका छन्,’ पुनले लेखेका छन्, ‘चन्दाको सबै हिसाब किताब प्रष्टसँग सार्वजनिक गर्नेछु ।’
प्रतिक्रिया 4