+
+
Shares

१९ वर्षपछि भारतमा गुञ्जिँदै शकिरा, दिल्ली र मुम्बईमा प्रस्तुति दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ल्याटिन पप सुपरस्टार शकिराले अप्रिल १० मा मुम्बई र १५ मा दिल्लीमा कन्सर्ट गर्ने कार्यक्रम तय भएको छ।
  • शकिराले भनिन्, 'भारतमा प्रस्तुति दिनु सधैं मेरो लागि विशेष रहँदै आएको छ' र कन्सर्टले बालबालिकाको पोषण सुनिश्चित गर्ने अभियानलाई समर्थन गर्नेछ।
  • उनको हालै सम्पन्न टुरले ल्याटिन कलाकारमध्ये सबैभन्दा धेरै कमाइ गर्ने टुरको रूपमा नयाँ 'गिनिज वर्ल्ड रेकर्ड' कायम गरेको छ।

नयाँ दिल्ली । ल्याटिन पप सुपरस्टार शकिरा आउँदो अप्रिलमा भारतको सांगीतिक भ्रमणमा निस्कने भएकी छन् । उनले मुम्बई र दिल्ली गरी दुई सहरमा कन्सर्ट गर्ने कार्यक्रम तय भएको छ ।

ग्रामी अवार्ड विजेता तथा ‘गिनिज वर्ल्ड रेकर्ड्स’ राख्न सफल कोलम्बियाली कलाकार शकिराले १० अप्रिल २०२६ मा मुम्बईको महालक्ष्मी रेसकोर्समा र १५ अप्रिलमा दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा प्रस्तुति दिनेछिन् ।

यो लगभग १९ वर्षपछि भारतमा शकिराको पहिलो ठूलो कन्सर्ट हुनेछ । यसअघि उनले सन् २००७ मा आफ्नो ‘ओरल फिक्सेसन’ टुरका क्रममा मुम्बईमा धमाकेदार प्रस्तुति दिएकी थिइन् ।

टुरको घोषणा गर्दै दिएको वक्तव्यमा शकिराले भनिन्, ‘भारतमा प्रस्तुति दिनु सधैं मेरो लागि विशेष रहँदै आएको छ, र म मुम्बई र दिल्लीका आफ्ना फ्यानसँग फेरि जोडिन पाउँदा निकै उत्साहित छु ।’

कन्सर्टको उद्देश्यबारे बोल्दै उनले थपिन्, ‘यो टूर सबै बालबालिकाले राम्रोसँग बढ्न र फस्टाउन आवश्यक पोषण पाउन सकून् भन्ने सुनिश्चित गर्न एकजुट भएर उभिने अभियान हो ।’

यी कन्सर्टहरू गैर-नाफामूलक पहल ‘फिडिङ इन्डिया’ अन्तर्गत, ‘डिस्ट्रिक्ट बाइ जोमाटो’ सँगको सहकार्यमा आयोजना हुँदैछन् । यस संस्करणमा पहिलो पटक ‘फिडिङ इन्डिया कन्सर्ट’ विभिन्न सहरहरूमा आयोजना हुन लागेको हो ।

इतिहासकै सबैभन्दा धेरै प्रति एल्बम बिक्री गर्न सफल महिला ल्याटिन कलाकारमध्ये एक शकिराले विश्वभर १० करोडभन्दा बढी रेकर्ड बिक्री गरिसकेकी छिन् । उनलाई दुई पटक बिलबोर्डले ‘टप फिमेल ल्याटिन आर्टिस्ट अफ द डिकेड’ को उपाधि दिएको छ ।

उनका विश्वप्रसिद्ध गीतहरू जस्तै हिप्स डन्ट लाई, वाका वाका, ह्वेन एभर-ह्वेर एभर र सी वूल्फ रिलिज भएको वर्षौं बितिसक्दा पनि आजसम्म प्लेलिस्टमा छाइरहेका छन् ।

उनको हालै सम्पन्न ‘लस मुजेरस या नो लोरन’ टुरले ल्याटिन कलाकारमध्ये अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने टुरको रूपमा नयाँ ‘गिनिज वर्ल्ड रेकर्ड’ कायम गरेको छ । यसले विश्व पप संगीतमा उनको निरन्तर लोकप्रियता र प्रभावलाई फेरि एकपटक प्रमाणित गरेको छ ।

यो घोषणासँगै ठूला अन्तर्राष्ट्रिय कलाकारको बढ्दो विश्व टुर गन्तव्यको सूचीमा भारत पनि थपिएको छ । यसअघि ये (कान्ये वेस्ट) ले दिल्लीमा एकल कार्यक्रम गर्ने योजना सार्वजनिक भएको खबर आएपछि, यसले विश्व लाइभ सङ्गीतको नक्सामा भारतको स्थानलाई अझ मजबुत बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?