News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वप्रसिद्ध पप गायिका शकिराको भारतमा हुने भनिएको कन्सर्ट इरान-इजरायल युद्धका कारण स्थगित गरिएको छ।
- आयोजकले टिकट खरिदकर्तालाई ५ देखि ७ कार्यदिनभित्र रकम फिर्ता गरिने जानकारी दिएका छन्।
- शकिराको कन्सर्ट अप्रिल १०-११ मा मुम्बई र अप्रिल १५ मा दिल्लीमा आयोजना हुने तय गरिएको थियो।
मुम्बई । ग्रामी पुरस्कार विजेता विश्वप्रसिद्ध पप गायिका शकिराको भारतमा हुने भनिएको कन्सर्ट स्थगित गरिएको छ । केही समयअघि मात्र यसको घोषणा गरिएको थियो र फ्यान पनि उनको कमब्याकलाई लिएर निकै उत्साहित थिए । तर कन्सर्ट स्थगित भएपछि धेरै फ्यान निराश छन् ।
आयोजकले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै इरान-इजरायल युद्धका कारण हालका लागि कार्यक्रम स्थगित गरिएको बताएका छन् । नयाँ मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
भारतमा शकिराको कन्सर्ट स्थगित भएपछि फ्यानको उत्साहमा पनि असर परेको छ । ‘डिस्ट्रिक्ट’ ले इन्स्टाग्राममा पोस्ट गर्दै हालको भूराजनीतिक अवस्था र क्षेत्रीय तनावका कारण ‘फिडिङ इन्डिया’ अन्तर्गत हुने कन्सर्ट अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको जनाएको छ । फ्यान, कलाकार र प्रोडक्सन टिमको सुरक्षालाई प्राथमिकता दिइएको पनि उल्लेख छ ।
‘डिस्ट्रिक्ट’ ले छिट्टै नयाँ मिति सार्वजनिक गर्ने जानकारी दिएको छ । साथै, जसले टिकट खरिद गरेका छन्, उनीहरूलाई मूल भुक्तानी माध्यममै फिर्ता गरिने पनि जनाएको छ । आयोजकका अनुसार, कलाकारको टोलीसँग समन्वय गरेर नयाँ मिति तय गर्ने तयारी भइरहेको छ । कुनै ठोस निर्णय भएलगत्तै सबैलाई जानकारी गराइने पनि उल्लेख गरिएको छ ।
यससँगै, थप जिज्ञासा भएमा सोध्न मिल्ने गरी एउटा इमेल ठेगानासमेत उपलब्ध गराइएको छ, जहाँ इच्छुक व्यक्तिले आफ्ना प्रश्न पठाउन सक्नेछन् । पोस्टमा ५ देखि ७ कार्यदिनभित्र टिकट खरिदकर्तालाई रकम फिर्ता गरिने उल्लेख गरिएको छ । साथै, सबैलाई धैर्य राख्न अनुरोध गर्दै नयाँ मिति तय हुनेबित्तिकै जानकारी गराइने पनि बताइएको छ ।
यसअघि पनि अमेरिकी-इरान तनावका कारण कान्ये वेस्टको कन्सर्ट दुई महिनाका लागि स्थगित गरिएको थियो । मार्च २९ मा नयाँ दिल्लीमा हुने तय भएको उनको प्रस्तुति अब मे २३ मा आयोजना गरिने भएको छ ।
शकिराको कन्सर्ट ‘फिडिङ इन्डिया कन्सर्ट’ अन्तर्गत जोमाटो र ‘डिस्ट्रिक्ट’को सहकार्यमा आयोजना हुने तय गरिएको थियो । यो कार्यक्रम अप्रिल १०-११ मा मुम्बई र अप्रिल १५ मा दिल्लीमा हुने थियो । सन् २००७ पछि भारतमा शकिराको प्रस्तुति हुन लागेको हुँदा फ्यान निकै उत्साहित थिए ।
प्रतिक्रिया 4