८ फागुन, काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गत सञ्चालित तथा द ब्रिटिस कलेज काठमाडौंको भगिनी संस्था ब्रिटिस मोडेल कलेज (बीएमसी) ले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
बीएमसीका विद्यार्थीले ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा तीन वटा राष्ट्रिय पदक हात पार्दै कलेजको साख थप उचाइमा पुर्याएका छन् । ब्रिटिस काउन्सिल सर्भिस नेपालद्वारा ५ फागुनमा आयोजित कार्यक्रममा ती उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको हो ।

क्याम्ब्रिज एसेसमेन्ट इन्टरनेसनल एजुकेसनले नोभेम्बर २०२४ को परीक्षा शृङ्खलामा उत्कृष्ट नतिजा ल्याउने नेपाली विद्यार्थीमध्ये बीएमसीका खुश्बु निङ्लेकु, प्रतीक्षा घिमिरे र जेन्सा श्रेष्ठले शीर्ष स्थान हासिल गरेका छन् ।
बीएमसीका अनुसार खुश्बुले जीव विज्ञान विषयमा नेपालभरिमै सबैभन्दा उच्च अंक ल्याएर स्वर्ण पदक, प्रतीक्षाले अर्थशास्त्रमा नेपाल टपर र जेन्साले समाजशास्त्रमा हाई एचिभमेन्ट अवार्ड प्राप्त गरेका हुन् ।
कार्यक्रममा नेपालका ख्यातिप्राप्त शिक्षाविद्, विद्यालय सञ्चालक तथा विद्यार्थी उपस्थित थिए । कलेजले आफ्ना विद्यार्थीको सफलतालाई उनीहरूको कडा परिश्रम, शिक्षकहरूको कुशल मार्गदर्शन र कलेजको गुणस्तरीय शैक्षिक वातावरणको प्रतिफलका रूपमा लिएको जनाएको छ ।
‘हामी ब्रिटिस मोडेल कलेजमा सधैं उत्कृष्ट शैक्षिक संस्कृति र नवप्रवर्तनलाई प्रोत्साहन गर्छौं, हाम्रा विद्यार्थीले विश्वव्यापी मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखाएका छन्,’ अवार्डबारे ब्रिटिस एजुकेसन ग्रुपका हेड अफ स्कुल्स राजनराईले भने, ‘यी अवार्डले उनीहरूको निरन्तर लगाव र हाम्रो संस्थाको दुरदृष्टिलाई प्रमाणित गरेको छ, हामी आगामी दिनमा पनि भविष्यका नेतृत्वकर्ताहरू उत्पादन गर्न प्रतिबद्ध रहने छौं ।’

प्रतिक्रिया 4