८ फागुन, महोत्तरी । महोत्तरीबाट नेपाल प्रहरीले हुण्डी रकमसहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी-७ बस्ने ३४ बर्षीय गौतम साह रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्रकुमार भट्टले जानकारी दिए ।
विशेष सूचनाकाआधारमा खटिएको प्रहरी टोलीले महोत्तरीको मनराशिस्वा-३ पोखरभिन्डा-सोनौल सडक खण्डमा चेकजाँचका क्रममा मधेश प्रदेश ०२-००९ प १५१७ नम्बरको मोटरसाइकलमा सवार साह ११ लाख ५१ हजार तीन सय रुपैयाँसहित पक्राउ परेका हुन् ।
डीएसपी भट्टका अनुसार साहको साथबाट नगद रकमसहित, दुई थान स्मार्टफोन, किप्याड मोबाइल एक थान र बैंक भौचर पनि भेटिएको छ ।
पक्राउ परेका साहमाथि हुण्डी कारोबारको कसुरमा महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4