९ फागुन, सिरहा । सर्लाहीमा हत्या गरिएका सब-इन्जिनियर प्रमोदकुमार यादवको फागुनको सिरहा वैशखास्थित घरबाहिरको दृश्यले मन गह्रुँगो पार्यो । घरअगाडि केही वृद्ध, बालबालिका र महिला बसिरहेका थिए । सबैका नजरमा एक प्रकारको अपेक्षा भाव झल्किएको थियो । जस्तो- कोही आउँछ र न्याय दिलाउँछ ।
‘तपाईँ को हुनुहुन्छ ?’ सञ्चारकर्मी देखेपछि उनीहरूले जिज्ञासा राखे । सञ्चारकर्मी भन्ने जवाफ पाएपछि एकाएक सबैका हात जोडिए । ‘जसरी भए पनि न्याय दिलाइदिनुस्,’ एक जना वृद्धले अनुनय गरे ।
घर आँगन शोकको दृश्यले आह्लादित थियो । दलानमा मृतक प्रमोदका दाइ मनोज सेतो शोकको पहिरनमा थिए । प्रमोदकी बहिनी निर्मलाका आँखामा आँसु ओभाएका थिएनन् । प्रमोदकी पत्नी पुनम यादव पतिको सम्झनामा भक्कानी रहेकी थिइन् ।
घर चलाउने व्यक्ति अनाहक मारिएकामा सिंगो परिवार स्तब्ध थियो । त्यसको केही समयअघि मात्रै उनका बुवाको निधन भएको थियो । लगालग दुई मृत्यु र त्यो भन्दा बढी शोक हत्यारा अहिलेसम्म पत्ता नलागेकामा सुनियो ।
३७ वर्षीय सब-इन्जिनियर यादवको फागुन ३ गते सर्लाहीको मलंगवामा अज्ञात व्यक्तिको गोलीबाट मारिएका थिए । त्यो दिन बुवाको अन्तिम संस्कार सकाएर प्रमोद कार्यालय जान सर्लाही फर्किएका थिए ।
साँझ डेरामा थिए । पत्नी पुनम दुई वर्षीया छोरीसँग खेलिरहेकी थिइन् । तर अज्ञात व्यक्तिले डेराबाहिरै गोली हानेर हत्या गरे । ‘जागिरको एक वर्ष पूरा हुन एक दिन बाँकी थियो । घर नै उहाँले चलाउनुहुन्थ्यो । अब हामी कसरी बाँच्ने ?,’ पत्नी पुनमले भक्कानिँदै भनिन् ।
उनका जेठा दाइ मनोजले भाइलाई गोली लागेको सुनेपछि रातारात हिँडेर सर्लाही पुगेका थिए । राति १२ बजे सर्लाही पुग्दा भाइको मृत्यु भइसकेको उनले सुनाए । ‘प्रहरीले दोषी पत्ता लगाउने आश्वासन दिएको छ । तर ६ दिन भइसक्दा पनि केही भएको छैन । हामी न्याय चाहन्छौँ,’ उनले भने ।
गाउँलेले क्षतिपूर्तिसहित छोरीको नि:शुल्क शिक्षा र परिवारका एक सदस्यलाई रोजगारी सुनिश्चित गर्न माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले अनुसन्धान जारी रहेको बताए । ‘अनुसन्धान नसकिँदै केही भन्न सकिँदैन,’ उनले भने ।
प्रतिक्रिया 4