News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फिल्म उद्योगमा थुप्रै कलाकर्मी र प्राविधिकले पारिश्रमिक नपाउने समस्या डरलाग्दो रूपमा जरा गाडेर बसेको छ।
नेपाली फिल्मको चमकधमकभित्र अँध्यारो पाटो छ, जहाँ थुप्रै कलाकर्मी र प्राविधिक मर्नु न बाँच्नुको अवस्थामा छन् । केही समयअघि अनलाइनखबरमा कलाकर्मी एवं प्राविधिकले झेलिरहेको त्यही पीडाबारे सामाग्री प्रकाशित गरेको थियो । अहिले आएर अन्य फिल्मकर्मीले पनि मुख खोल्न थालेका छन् ।
कतिपयले नामसहित खुलासा गरेका छन् भने कतिपयले अझै पाउनुपर्ने रकमसमेत गुम्ने डरले खुलेर बोल्न सकेका छैनन्। तर पछिल्ला दिनमा प्राप्त उदाहरणहरूले नेपाली फिल्म उद्योगमा पारिश्रमिक नपाउने समस्या डरलाग्दो रूपमा जरा गाडेर बसेको स्पष्ट संकेत गर्छ ।
सम्राट फिल्मस्का सञ्चालक तथा साउण्ड डिजाइनर भरत कँडेलले केही फिल्मको पारिश्रमिक अझै नपाएको खुलासा गरेका छन् । ‘लामो समय मुम्बईमा बस्दा नेपाली फिल्म उद्योग यस्तो अवस्थामा रहेको थाहा थिएन’ उनी भन्छन्, ‘नेपालमा केही गर्छु भन्ने सोचले फर्किएँ, स्टुडियो खोलेँ। तर यहाँ अधिकांश मानिस प्रोफेसनल देखिएनन् ।’ पारिश्रमिक लिने निकै कठिन परेको अनुभव पनि उनले सुनाए ।
त्यस्तै, नेपाली फिल्म उद्योगका स्थापित मेकअप तथा हेयर आर्टिस्ट सरोज बुढाथोकीले पनि केही फिल्मको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । ‘हामीलाई ठूला ब्यानर भनेर चिनाउने, आफ्नो फिल्म सुपरहिट हुन्छ भन्नेहरू, अरूको फिल्मलाई त्यो पनि फिल्म होर ? भनेर हियाउनेहरूले नै पारिश्रमिक दिएनन्’ बुढाथोकी भन्छन्, ‘दिनरात नभनी गरेको कामको पैसा खाएर फोनसमेत उठाउन गाह्रो मान्छन् ।’ तिनको नामै भन्ने सकिने भए पनि आफू धैर्य गरेर चुप लागिरहेको उनी बताउँछन् ।
कलाकार आकाश महतले पनि सामाजिक सञ्जालमार्फत आफूले पारिश्रमिक नपाएको खुलाएका छन् । ‘त्यस्ता महान् निर्देशक पनि छन्, जसले हाम्रो कामको पारिश्रमिक दिएका छैनन्’ महत सुनाउँछन्, ‘उनीहरूको फिल्म ओटीटी र युट्युबमा रिलिज हुने बेला भइसक्यो, तर हाम्रो पारिश्रमिक अझै आएको छैन ।’
उपकरण उपलब्ध गराउने इक्यूपमेन्ट हाउस धनुष फिल्म्सका सञ्चालक अर्जुन तिमिल्सिनाले पनि धेरैले उपकरण लगेर पारिश्रमिक नदिने गरेको सुनाए । उनले भन्छन्, सुरुमा यति बजेट छ भनेर उपकरण माग्छन्, काम सहज होस् भनेर हामी थप सहयोगसमेत गर्छौं तर पछि पैसा नदिने प्रवृत्ति बढ्दो छ ।’
यस्तो समस्या धेरे हुँदा पनि उद्योग बचोस्, सबैले काम पाऊन् भनेर तीन दशकदेखि लागिरहेको रहेको उनी बताउँछन् । करिब १५ लाख रुपैयाँ उठ्न बाँकी रहेको तिमिल्सिनाले सुनाए । उनले कसैको नाम भने सार्वजनिक गर्न चाहेनन्।
केही दिनअघि ‘विहाइन्ड द सिन’ फिल्म खिच्ने निर्देशक आकाश रावलले आफ्नो फेसबुकमा असन्तुष्टिको पोस्ट गर्दै लेखे -‘नेपाली चलचित्र क्षेत्रमा १० वर्ष बिताएँ । सपना दिएँ, समय दिएँ, पसिना बगाएँ… तर आज मैले के पाएँ ?’
उनको यो स्टाटस पारिश्रमिकसम्बन्धी असन्तुष्टिको संकेत भएको कारण अनलाइनखबरले सम्पर्क गर्दा, उनले स्पष्ट गरे कि अहिलेसम्म उनले आफ्नो मेहनतको उचित पारिश्रमिक पाएका छैनन्।
आकाशका अनुसार, उनले हालसम्म १७ लाखभन्दा बढी पारिश्रमिक बक्यौता छ । उनले भने, ‘साँच्चिकै पागलजस्तै बनाएको छ यो उद्योगले । मेरो साथमा टिम हुन्छ । उनीहरूलाई पनि पारिश्रमिक दिनुपर्छ । तर डिलअनुसार पैसा पाइँदैन । म कसरी अगाडि बढुँ, टिमलाई पैसा कसरी दिनु ?’
उनले धेरैपटक निर्माताहरूसँग पैसा माग्दा पनि सुनुवाइ नभएको सुनाए । उनका अनुसार, २० वटा फिल्मको पारिश्रमिक अझै बाँकी छ।
यसअघि पनि विभिन्न फिल्मकर्मीले पारिश्रमिक नपाएको उदाहरण सार्वजनिक भइसकेका छन् । पछिल्ला यी घटनाहरूले नेपाली फिल्म उद्योगमा पारिश्रमिक नपाउने समस्या कति गम्भीर र विकराल बन्दै गएको छ भन्ने स्पष्ट देखाउँछन् ।
प्रतिक्रिया 4