+
+
Shares

तारेभीरमा लागेको आगो सिम्रिक एयर हेलिकप्टरद्वारा नियन्त्रण

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १९:३०

१०, फागुन, काठमाडौं । काठमाडौं तारेभीरमा आइतबार दिउँसो लागेको आगो सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेर नियन्त्रणमा ल्याइएको छ ।

आइतबार अपराह्न तारेभीरको जंगलमा आगो लागेको थियो । तर, सुरक्षाकर्मीहरू आगो लागेको मुख्य ठाउँमा जान नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरलाई अनुरोध गरेको थियो ।

गृहबाट अपराह्न ३ बजे अनुरोध आएपछि सिम्रिक एयरले हेलिकप्टर पठाएको थियो । हेलिकप्टर प्रयोग गरेर साँझ ५ः४५ बजे आगो नियन्त्रणमा लिइएको हो ।

सिम्रिकले वरिष्ठ क्याप्टेन सिद्धार्थजंग गुरुङ र रेस्क्यु स्पेसलिस्ट छिरिङडेन्डुप भोटेलाई खटाएको थियो । सिम्रिक एयरका अनुसार आगो नियन्त्रणमा लिन करिब १२ हजार लिटर पानी हेलिकप्टरबाट खन्याइएको थियो । यसका लागि सुरुमा हेलिकप्टरले सुन्दरीजलबाट पानी लगेको थियो ।

तर, सुन्दरीजल टाढाको दुरीमा रहेकाले छिटो छिटो पानी लैजान समस्या हुने भएपछि सिम्रिकले नजिकैको रिसोर्टबाट पानीको प्रबन्ध गरेर आगो नियन्त्रणमा लिएको हो ।

सिम्रिकले योसहित विभिन्न समयमा सरकारको अनुरोधमा आगो नियन्त्रणमा आफ्नो हेलिकप्टर प्रयोग गर्दै आएको छ । यसपालि पनि कम्पनीले निःशुल्क सेवा दिएको हो ।

तर, अहिले कम्पनीसँग एउटा मात्रै बम्बी बकेट छ । यसअघि दुइटा बम्बी बकेट रहेकोमा भदौ २४ गतेको जेनजी आन्दोलनमा सिम्रिक एयरको कार्यालयमा आगजनी हुँदा एउटा बम्बी बकेट जलेपछि अहिले एउटा मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ ।

विगतदेखि हालसम्म सरकारको अनुरोधमा सिम्रिकले विनाशुल्क सेवा दिइरहे पनि आगो नियन्त्रणका क्रममा कम्पनीको भने ठूलो खर्च भइरहेको हुन्छ । फ्युल, पाइलट र कर्मचारीको सेवा तथा बीमा, उपकरण प्रयोगमा ठूलो खर्च हुने गरेको छ ।

आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोगले सहज हुने भएकाले आगामी दिनमा सरकारले यसका लागि बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता भने बढेर गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?