११ फागुन, काठमाडौं । कानुनतः चुनावी प्रचारमा बालबालिकाको प्रयोग गर्न पाइँदैन । तर, निर्वाचन आयोगमा राजनीतिक दल वा उम्मेदवारले आफ्नो झण्डा वा निर्वाचन चिह्न बोक्ने कार्यमा बालबालिकाको प्रयोग गरिरहेको उजुरी परिरहेको छ ।
यसका साथै सांस्कृतिक कार्यक्रममा, र्यालीमा, अमुक दल वा उम्मेदवारविरुद्धका गतिविधिमा, झण्डा वा निर्वाचन चिह्न अंकित भेस्ट-टिसर्ट-लोगो जस्ता चिजहरू प्रदर्शन गर्ने कार्यमा बालबालिकालाई सहभागी गराइएको छ । यससम्बन्धी उजुरी तथा गुनासो प्राप्त भएको निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार विद्यालय समयमा विद्यालयनजिकै राजनीतिक दल वा उम्मेदवारका चुनावी गतिविधि सम्बन्धी कार्यक्रम आयोजना गरी शैक्षिक कार्यमा अवरोध सिर्जना भएका विषयहरूमा समेत उजुरी तथा गुनासो निर्वाचन आयोगमा प्राप्त भएका छन् ।
यस्तो उजुरी आएपछि आयोगले विज्ञप्ति निकालेर निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न सबै पक्षलाई सचेत गराएको छ ।
नेपालको संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने व्यवस्था गरेको छ ।
वालवालिका सम्बन्धी ऐन २०७५ को दफा ३ को उपदफा (२) मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले बालबालिकाको बाँच्न पाउने अधिकार र बालबालिकाको बिकासको लागि बालबालिकामाथि हुन सक्ने दुर्घटनाको रोकथाम, जोखिमको न्यूनीकरण लगायतका प्रतिरोधात्मक र सुरक्षा सेवाका लागि आवश्यक उपाय अवलम्बन गर्नेछन् भन्ने व्यवस्था छ ।
निर्वाचन आचारसंहिता २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ ।
यस्तो अवस्थामा निर्वाचन आचारसंहिताको उल्लंघनमा आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था छ।
यी व्यवस्था स्मरण गराउँदै आयोगले भनेको छ, ‘कुनै पनि राजनीतिक गतिविधि र निर्वाचन प्रचारप्रसारका कार्य गर्दा बालबालिकाको कुनै पनि किसिमबाट प्रयोग नगर्न-नगराउन तथा बालबालिकाको अध्ययन अध्यापनमा असर पार्ने कार्य नगर्न-नगराउन समेत सबै राजनीतिक दल, उम्मेदवार र मतदाताहरूलाई आयोग आग्रह गर्दछ ।’
प्रतिक्रिया 4