११ फागुन, काठमाडौ । नेटफ्लिक्सका प्रमुख टेड सारान्डोसले वार्नर ब्रदर्स डिस्कभरीको सम्पत्ति खरिद गर्न गरिएको ८२.७ अर्ब डलरको प्रस्तावको पक्षधरता देखाएका छन्।
उनले यो सम्झौता मनोरञ्जन क्षेत्रको विकासका लागि आवश्यक रहेको बताएका छन्, तर यसमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अवरोध गर्ने देखिएको छ।
नेटफ्लिक्सले वार्नर ब्रदर्सको स्टुडियो र डिस्ट्रिब्युसन युनिट किन्न खोजिरहेको छ ।
सारान्डोसका अनुसार, प्रतिस्पर्धी कम्पनी प्यारामाउन्टले वार्नर ब्रदर्स किनेमा यसले व्यवसायमा ६ अर्ब डलर कटौती गर्नेछ, जसले उद्योगलाई सानो बनाउने छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटफ्लिक्सलाई आफ्नो बोर्डबाट डेमोक्र्याट नेतृ सुसन राइसलाई हटाउन आदेश दिएका छन् ।
उनले यसो नगरेमा गम्भीर ‘परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन् । सारान्डोसले यसलाई राजनीतिक मुद्दा नभई शुद्ध व्यापारिक सम्झौता भएको बताएका छन्।
बेलायती सांसदहरूले यो सम्झौताले प्रतिस्पर्धा घटाउन सक्ने भन्दै छानबिनको माग गरेका छन्।
तर, सारान्डोसले बेलायतमा ५९ वटा प्रोजेक्टहरू सञ्चालनमा रहेको र नेटफ्लिक्सले त्यहाँका सिर्जनाकर्मीहरूलाई ठूलो मञ्च दिएको दाबी गरे।
आज (सोमबार) को अन्त्यसम्ममा प्यारामाउन्टले आफ्नो अन्तिम प्रस्ताव पेस गर्नुपर्नेछ, जसमा ओराकलका संस्थापक ल्यारी एलिसनको ४० अर्ब डलरको व्यक्तिगत ग्यारेन्टी रहने बताइएको छ।
प्रतिक्रिया 4