११ फागुन, काठमाडौं । भारतले आफ्ना नागरिकलाई इरान छाड्न औपचारिक रूपमै आग्रह गरेको छ । अमेरिकाले इरानमा सैन्य कारबाही गर्ने आशंका चलिरहेका बेला भारतले इरानमा रहेका आफ्ना नागरिकलाई सतर्कता अपनाउन र उपलब्ध उडानमार्फत स्वदेश फर्किन आग्रह गरेको हो ।
‘इरानमा विकसित अवस्थालाई ध्यानमा राख्दै हाल यहाँ रहेका भारतीय नागरिकहरूलाई व्यापारिक उडानसहित उपलब्ध यातायातका माध्यम प्रयोग गरी इरान छोड्न सल्लाह दिइएको छ,’ तेहरानस्थित भारतीय दूतावासले सामाजिक सञ्जालमार्फत जारी गरेको सूचनामा भनिएको छ ।
यस्तै भारतीय विदेश मन्त्रालयले पनि सोमबार एक ‘ट्राभल एडभाइजरी’ जारी गर्दै इरान तत्काल छाड्न आफ्ना नागरिकलाई आह्वान गरेको छ ।
दूतावासले सबै भारतीय नागरिक र भारतीय मूलका व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन, विरोध प्रदर्शन हुने क्षेत्रबाट टाढा रहन, दूतावाससँग सम्पर्कमा रहन र स्थानीय सञ्चारमाध्यमबाट अद्यावधिक सूचना लिइरहन पनि आग्रह गरेको छ ।
भारतको विदेश मन्त्रालयका अनुसार इरानमा सामान्यतया करिब १० हजार भारतीय नागरिक बसोबास गर्दै आएका छन् । हालको अस्थिर अवस्थाले उनीहरूको सुरक्षालाई प्राथमिकता दिनुपर्ने स्थिति सिर्जना भएको सरकारी धारणा छ ।
प्रतिक्रिया 4