११ फागुन, काठमाडौं । ठूलो स्वरमा गीत बजिरहेको थियो । घन्टौंदेखि पोखराबाट हिंडेको बस एक सुरुमा गुडिरहेको थियो । छेवैको सिटमा जीवनभर साथ दिने वाचा गरेका श्रीमान् थिए । त्रिशूली नदीमा पानी एकनास बगिरहेको थियो । अधिकांश मान्छे निदाएका थिए ।
राति करिब साढे १ बजे बेनिघाटको भैंसिगडाको सडकबाट ड्याङ ड्याङ ठूलो आवाज आयो ।
सोलुखुम्बुकी एङ्जी शेर्पा (४८) झस्किइन् । उनी निदाएकी थिइनन् । सँगै बसेका श्रीमान् केहीबेरदेखि निदाइरहेका थिए ।
‘धेरैजसो गाडिमा निदाएका थिए । ठूलो आवाजमा म्युजिक बजेको थियो । स्वाट्टै गाडी झर्यो,’ बल्लतल्ल अस्पतालको शैय्याबाट उनले सुनाइन् ।
एङ्जी पाखामा पुगिछन् । सँगै बसेका श्रीमान् कहाँ पुगे थाहा पाइनन् ।
तलतिर त्रिशूली नदी बगिरहेको थियो ।

मध्यरातमा पाखाभरि मान्छेहरू ‘ऐय्या ऐय्या’ भन्दै चिच्याउन थाले । केहीबेर सोच्नै सकिनन् ।
एङ्जी बल्ल तल्ल उठिन् । जसोतसो श्रीमान् खोज्न थालिन् । बल्लतल्ल फेला पारिन् । तर, भेट्दा श्रीमान् जीवित भेटिनन् ।
ल्होसारको अवसर पारेर पोखरा घुम्न गएकी एङ्जीले बाटोमै श्रीमान् गुमाइन् । अहिले काठमाडौंको ट्रमा सेन्टरमा बायाँ हात प्लास्टर गरेर शरीर र मनको गह्रुंगो भारी बोकेर बसिरहेकी छिन् ।
एङ्जीले जीवनभरको सारथी बाटोमै गुमाइन् । झण्डै १ घण्टापछि पुगेको प्रहरीको उद्धारपछि एङ्जी काठमाडौंसम्म आइपुगेकी छिन् ।
बौद्धमा पुस्तक पसल चलाएर जीविकोपार्जन गर्दै आएकी एङ्जीको जीवनभरको साहरा आफ्नै अंगालोबाट टुटिएका छन् ।
मनभरी प्रश्न छन् । तर, दुखेको शरीर र खलबलिएको दिमाग बोकेर उनी ट्रमा सेन्टरको आकस्मिक कक्षमा छटपटाइरहेकी छिन् ।
०००
आकस्मिक कक्षकै बेड नम्बर १२ मा चिनियाँ (१२) नागरिक निस्सी हाउ छिन् ।
उनी पनि सोही गाडीमा थिए । आमासँग पोखरा घुम्न आएकी उनी गाडीमै थिइन् ।
सोही पाखामा उनले आमा गुमाएकी छिन् । काठमाडौंस्थित चिनियाँ दूतावासले उनी दुर्घटनामा परेको थाहा पाएर हेरचाहका लागि सहयोगी पठाएको छ ।

चिकित्सकका अनुसार उनको एक्सरे र टाउकोको सिटीस्क्यान गरिएको छ ।
उनी खतरामुक्त छिन् । तर, आमा गुमाएको पीडा छिन् । शरीर दुखिरहेको छ । उनी बोल्छिन् ।
०००
तीन दिन अघि भान्जी पुर्याउन पोखरा गएका थिए, बौद्धकै ५० वर्षीय नोर्बु काल्देन ।
एक दिन पोखरा बसे । भान्जीलाई छाडेर फर्कंदा गएराति नसोचेको भोग्न पर्यो ।
दुर्घटना हुँदा गाडीमा आफू निदाइरहेको उनले सुनाए । भन्छन्, ‘बिउँझदा त बस तल पुगिसकेको रहेछ । प्रहरी आएर उद्धार गरेपछि बाँचियो,’ सानो स्वरमा उनी सुनाउँछन् ।
उनको ढाड र आँखामा चोट लागेको छ

०००
आकस्मिक कक्षको ‘रेड जोन’ मा छिन्, तनहुँकी सुकुमाया श्रेष्ठ ।
तनहुँबाट सोही गाडीमा राति ९ बजे काठमाडौंका लागि हिंडेकी थिइन् ।
श्रीमान् सँगै थिए । गाडी दुर्घटनामा परेर उनको ढाड र दाहिने हात भाँचिएको छ । गाला र टाउकोमा चोट लागेको छ ।
दायाँबायाँ गर्न सक्दिनन् ।
‘समाउने ठाउँ केही पनि थिएन् । ढुंगामा शरीर बाजारियो । ढाड भाँचियो,’ उनले सुनाइन्,‘अप्रेशन गर्नुपर्ने भनेको छ ।’

उनीसँग अरु चार जना पनि बसबाट उछिट्टिएका थिए ।
तर उनले श्रीमान्लाई देखिनन् । आकस्मिक कक्षमा छटपटाइरहेकी उनलाई श्रीमान्को अवस्थाबारे थाहा छैन ।
‘कोहीले गुहार गुहार भनेर चिच्याए । सुन्ने कोही भएनन् । समयमा उद्धार भएको भए धेरै बाँच्ने थिए,’ बिलौना सुनाइन् ।
बेडबाटै श्रीमान् खोजिरहेकी छिन्, उनी । तर, श्रीमान्को अवस्था के हो अहिलेसम्म सुकुमायालाई पत्तो छैन् ।
०००
तनहुँबाटै चढेका २१ वर्षीय सुविन मल्ल बसमा निदाएका थिएनन् ।
ठूलो स्वरले बजेको गीत सुन्दै हिंडेका सुबिनले एक्कासी ‘ड्वाङ ड्वाङ’ को आवाज सुने । ‘गाडी खस्दा दुई तीन पटक झट्का लाग्यो । त्यसपछि केही थाहा भएन,’ उनले सुनाए ।

कोरिया जाने तयारीका लागि काठमाडौं आएका उनी बुवासँगै थिए । बुवा पनि ट्रमामै सँगै उपचाररत छन् ।
सुबिनको हात चलाउन गाह्रो भएको छ । बुबाको भने टाउकोमा चोट लागेको छ ।
०००
ट्रमा सेन्टरको आकस्मिक कक्षको यो दृश्य, जो कोहीलाई कहालिलाग्दो छ ।
छेवैमा बसेका जीवनसथीदेखि जन्म दिने आमासम्म गुमाएका निर्दोष अनुहारहरू छटपटाइरहेका छन् ।
राति साढे १ बजे भएको दुर्घटनाले एक पटक पुन: राजमार्गको हालत र राज्यको अवस्था उजागर बनाएको छ ।
१४ जना ट्रमामा उपचाररत छन् । अस्पतालमै आएपछि एक महिलाले ज्यान गुमाइन् । ६ जनाको डिस्चार्ज भएको छ ।

अहिलेसम्म दुर्घटनामा १९ जनाको मृत्यु भइसकेको छ ।
दुर्घटनामा परेर बाँचेका तनहुँ ब्यास–८ का ओमकुमार श्रेष्ठको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेको थियो ।
श्रीमतीसहित सोही गाडीमा रहेका ओमकुमारले पनि ज्यान गुमाए । यसले फेरि एक पटक राजमार्ग र सवारी सुरक्षाको गम्भीर प्रश्न उब्जाइदिएको छ ।
प्रतिक्रिया 4