
२३ भदौ, काठमाडौं । कञ्चनपुरका २१ वर्षीय दिनेश भाट प्रहरी निरीक्षकको तयारी गरिरहेका थिए । काठमाडौंमा बसेर लोकसेवा पढिरहेका उनी आज आह्वान गरिएको जेनजीको आन्दोलनमा सहभागी हुन पुगे । जेनजीले उठाइरहेका मुद्दामा चित्त बुझेर उनी जीवनमै पहिलो पटक आन्दोलनमा सहभागी हुन पुगे ।
तर, दुभार्ग्य आन्दोलनमा उनी घाइते हुन पुगे । प्रहरीले गोली, लाठी तथा अश्रुग्यास प्रहार गर्दा भाग्ने क्रममा गाडीको सिसाले लागेर उनको दायाँ हातमा चोट लाग्यो ।
पाँच टाँका लागेपछि उनको प्रहरी निरीक्षक बन्ने सपनामा कालो बादल लागेको छ । ट्रमा सेन्टरमा उपचाररत भाटको हातमा घाउ भएपछि प्रहरी बन्न नसक्ने चिन्तामा छन् ।
लाखौं युवा खाडी जानुपर्ने बाध्यता अन्त्य हुने, देशमा व्याप्त भ्रष्टाचार अन्त्य हुनुपर्ने आशासहित उनी आन्दोलनमा सहभागी भएका थिए ।
‘युवालाई देशमै रोजगारी होस्, आगामी पुस्ताले विदेशिन नपरोस् भनेर पहिलो पटक आन्दोलनमा सहभागी भएको थिएँ,’ भाटले अनलाइनखबरसँग भने ।
अब घाउ लागेपछि आफ्नो प्रहरी बन्ने सपना चकनाचुर भएको उनको भनाइ छ । उनी अब देश बनेको हेर्न चाहन्छन् । आफ्नो सपनालाई देशकै लागि समर्पण गर्ने उनको चाहना छ ।
देशका लागि आफू आन्दोलनमा सहभागी भएको उनको भनाइ छ । ‘१/१ मिलेर हजार बन्ने हो । यो आन्दोलनमा म स्वस्फूर्त रूपमा गएको हुँ । जबसम्म केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तामा रहन्छन्, तबसम्म केही हुँदैन,’ उनले आक्रोश पोखे ।
उदयपुरका दीलिपकुमार भुजेल काठमाडौंमा पठाओ चलाउँछन् भने कहिलेकाहीँ ठेकेदारीको काम पनि गर्छन् । काँडाघारीमा बस्दै आएका २६ वर्षीय भुजेल आफ्नो पुस्ताले गरेको आन्दोलनमा सहभागी हुन पुगे ।
बिहानैदेखि शान्तिपूर्ण आन्दोलन भइरहेकोमा उनी गर्वित थिए । जब आन्दोलनमा प्रहरी दमन सुरु भयो, त्यसपछि उनको सहनशक्ति भंग हुन पुग्यो । आफूसँगै आन्दोलनमा सहभागी भाइबहिनीमाथि प्रहरीले ताकी–ताकी गोली चलाउन थालेपछि उनको आक्रोश बढ्यो । र, प्रहरीले गोली चलाउन ताकिरहेको बन्दुकलाई दुवै हातले माथि आकाशतिर तेर्स्याउन पुगे ।
त्यसपछि अन्य प्रहरीले उनीमाथि बन्दकको नालले बजार्न थाले । कसैले लाठीले हाने भने कसैले बुटले बजारे । बन्दुकको गोली लाग्नबाट बचेका उनी त्यही बन्दुको नालले भने गम्भीर घाइते हुन पुगे ।
‘एक जना प्रहरीले ममाथि गोली चलाउन ताकिरहेको थियो । त्यही बेला बन्दुकको नाल माथि आकाशतिर गरिरहेको थिएँ । त्यही बेला अरू प्रहरीले बन्दुकको नालले आँखामा हाने । अरूले पछाडिबाट लाठीले कुट्न थाले,’ ट्रमा सेन्टरको बेडबाट उनले घटना सम्झिए ।
बच्चालाई ललीपप देखाएर भित्र लगेर कुटे जसरी आफूहरूलाई समेत प्रहरीले त्यस्तै गरेको उनको भनाइ छ ।
‘हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौं । हाम्रो आन्दोलन हिंसात्मक थियो भने बानेश्वरको निषेधित क्षेत्रमै किन नरोकेको ? त्यहाँबाट सहजै जान दियो । अनि, संसद् भवनभित्र छिर्न दियो । त्यसपछि हामीमाथि ताकी–ताकी गोली बर्साउन थाल्यो,’ उनले भने ।
अब निको भएपछि फेरि वारपारको लडाइँमा होमिने उनको चेतावनी छ । भ्रष्ट नेताका छोराछोरी विदेश पठाएर देशमा लुटतन्त्र मच्चाइरहेको भन्दै उनले त्यसविरुद्ध जेनजी अघि सरेको बताए । अब ती भ्रष्टहरूको अन्त्य नहुँदासम्म आन्दोलन नरोकिने उनको चेतावनी छ ।
त्यस्तै पर्सा ठोरीका नेत्रविक्रम थापा काठमाडौंमा कोरियन भाषा पढिरहेका छन् । नेपालमा भविश्य नदेखेर विदेशिने सोच बनाएका उनले जेनजीको आन्दोलन देखेपछि सहभागी हुन पुगेका थिए ।
तर, त्यही बेला उनको छातीमा ७ वटा गोली लाग्न पुग्यो । गम्भीर घाइते अवस्थामा ट्रमा सेन्टरमा उपचाररत उनी बोल्न सकिरहेका छैनन् । उनको छातीमा लागेका ७ वटा गोलीमध्ये चार वटा छातीभित्र नै छन् भने । ३ वटा लागेको दाग मात्रै छन् ।
मोरङकी २० वर्षीया लिजा अधिकारीको समेत बायाँ कुममा धातुको गोली लागेको छ । गोली लागेर उनको कुममा गहिरो घाउ बनेको छ । उनी शान्तिपूर्ण आन्दोलन सकियो भनेर दिउँसोतिर घर फर्किन लागेकी थिइन् । त्यही कुरा समेत घरमा आमालाई पनि भनेकी थिइन् । साथीहरूलाई समेत अब घर फर्किन भनेर निस्किने क्रममा उनको कुममा गोलीले छेडेर बाहिर गयो ।
‘धर्ना दिने र फर्किहाल्नुपर्छ भन्ने छलफल भएको थियो । त्यही अनुसार हामी साथीहरू गएका थियौं । तर, प्रहरीले ताकी–ताकी गोली हान्न थाल्यो,’ अधिकारीले भनिन्, ‘अन्तर्राष्ट्रिय कानुन समेत उल्लंघन गरेर प्रहरीले साना भाइबहिनीमाथि ताकी–ताकी गोली हानियो ।’
घुँडामुनि गोली हान्नुपर्ने कानुनी व्यवस्था उल्लंघन गरेर प्रहरीले छाती र टाउकोमा गोली हानेको उनको आरोप छ । त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने र त्यसरी गोली हान्ने र आदेश दिनेमाथि कडा कारबाही गर्नुपर्ने उनको माग छ ।
झापाका ४० वर्षीय थिरप्रसाद कडरिया जेनजी भाइबहिनीले गरेको आन्दोलनमा समर्थन गर्न आएका थिए । संसद् भवन नयाँ बानेश्वर अगाडि नेपाली सेनाको दुई वटा गाडी रोकिएका थिए । त्यही गाडीको बीचमा उनी थिए । गाडीको मुनिबाट आएको अश्रुग्यासको सेल नै लागेर उनको दायाँ खुट्टामा घाउ भयो ।
‘खुट्टाको मासुको चोक्टा नै छैन । पूरै गहिरो खाडल बनेको छ । १० वटा टाँका लागेका छन् । भाइबहिनीले गरेको आन्दोलनमा समर्थन गर्न आएको थिएँ,’ उनले भने, ‘उनीहरूले उठाएका एजेन्डा राम्रो लागेर आएको थिएँ । हामीले सपोर्ट गर्नुपर्छ । त्यही भएर आएको थिएँ । घाइते भएँ । अब निको भएपछि फेरि आन्दोलनमा जान्छु ।’
भोलिको आन्दोलनमा आफू घाइते अवस्थामै भए पनि जाने उनको भनाइ छ । ‘देशका लागि छातीमा गोली हाने पनि केही फरक पर्दैन । अन्याय र अत्याचार धेरै भयो । यो हामी सहेर बस्नु हुँदैन,’ आक्रोशित हुँदै उनले थपे ।
ट्रमा सेन्टरमा हालसम्म ६७ घाइतेको उपचार भइरहेको छ । उपचारका लागि ल्याएका ८ जनाको मृत्यु भएको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालले जानकारी दिए ।
तीमध्ये एक जनाको आईसीयूमा मृत्यु भएको थियो भने सात जनाको इमर्जेन्सी वार्डमै मृत्यु भएको हो । डाक्टर रिजालले अहिलेसम्म सम्पूर्ण घाइतेको सहज रूपमै उपचार भइरहेको बताए ।
प्रतिक्रिया 4