
News Summary
Generated by OK AI. Editorially reviewed.- २४ भदौ राष्ट्रिय ट्रमा सेन्टरमा गम्भीर घाइते लक्ष्मण राईको उपचार सुरु भयो, जसको पहिचान दुई दिनसम्म खुलेन।
- लक्ष्मण राईलाई टाउको पछाडिबाट गोली लागेको छ र उनी कोमामा छन्, दुवै मिर्गौलाले काम गर्न छाडेका छन्।
- उनको परिवार निम्न वर्गको छ र उपचारका लागि आर्थिक सहयोग राज्यबाट भइरहेको छ, आफन्तले दैनिक खर्च जुटाउन संघर्ष गरिरहेका छन्।
३० भदौ, काठमाडौं । २४ भदौ मध्याह्न राष्ट्रिय ट्रमा सेन्टरमा एकजना गम्भीर घाइते ल्याइयो । रगताम्य अवस्थाका ती अपरिचित घाइतेको अवस्था अत्यन्तै जटिल थियो । आईसीयूमा राखेर उनको उपचार सुरु गरियो ।
ती घाइते को हुन्, कहाँका हुन्, परिवार कहाँ छ, यसबारे अस्पताल अनभिज्ञ थियो । भोलिपल्ट बिहानसम्म पनि उनको पहिचान खुलेन ।
स्वास्थ्यकर्मीहरू आफूले सकेको प्रयास गर्दै थिए । दुई दिन बित्तिसक्दा पनि स्वास्थ्यमा कुनै प्रगति भएन । बिरामी अचेत थिए, न आफन्त थिए, न त कुरुवा ।
अपरिचित बिरामीलाई परिवारसँग कसरी जोड्ने ? अन्योलका बीच दोस्रो दिनपछि उनीको बारेमा सोधीखोजी भयो ।
स्वास्थ्यकर्मीले उनको फोटोसहित अपिल गरे, ‘उहाँको आईसीयू कक्षमा उपचार भइरहेको छ । तर परिचय खुल्न सकेको छैन । परिवार पनि सम्पर्कमा आउनुभएको छैन । परिवारमाझ पुर्याउन कोसिस गरौं ।’
२६ भदौ दिउँसो फेसबुकमा आफन्तले यो पोस्ट देखे । र, हतारहतार ट्रमा सेन्टर पुगे ।
सेन्टरको आकस्मिक कक्ष अगाडि घाइते बिरामीको नाम टाँसिएको थियो । तीमध्ये एकजना अपरिचत भनेर उल्लेख गरिएको थियो ।

आफन्तले हतासमा सोधे– अपरिचित लेखिएको बिरामीलाई कहाँ राखिएको छ ?
स्वास्थ्यकर्मीले जवाफ दिए– तेस्रो तला आईसीयू कक्षमा जानुहोस् ।
बाहिर सुरक्षाकर्मी थिए । आफन्तले विवरण सुनाए । सुक्षाकर्मीले भित्र आईसीयूमा उपचाररत व्यक्तिको फोटो देखाए । तर आफन्तले चिन्न सकेनन् ।
केहीबेरमा आफन्तलाई आईसीयूभित्र लगियो ।
‘एकछिन त चिन्नै गाह्रो भयो । मुख पूरै सुन्निएको थियो । बोलाउँदा बोल्नु भएन,’ घाइतेका भतिज दीपेन्द्र राईले भने, ‘खुट्टा लगलग काप्यो । होसै उड्यो ।’
०००
दुई दिनसम्म घाइते अवस्थामा आईसीयूमा गुमनाम व्यक्ति नुवाकोट पञ्चकन्या गाउँपालिकाका-२ का लक्ष्मण राई हुन् जो बालाजुमा मजदुरी गर्दै आएका थिए ।
तर, उनको सम्पर्क नियमित रूपमा परिवारसँग थिएन । भतिज दीपेन्द्रका अनुसार टाउको पछाडिको भागमा गोली लागेको छ । अहिले लक्ष्मण कोमामा छन् ।
लक्ष्मणले घर छोडेर काठमाडौं बस्न थालेको ६ वर्ष भइसकेको छ । कहिलेकाहीँ चाडबाडमा गाउँ पुग्थे । एक सन्तान भएका लक्ष्मणसँग श्रीमती पनि साथमा छैनन् ।
विवाह भएको केही समय गाँउमा सँगै बसे । तर सम्बन्ध त्यति राम्रो भएन । लक्ष्मण काठमाडौं पसे । श्रीमती घरमै थिइन् । केही समयपछि श्रीमती काठमाडौं आइन् । तर दुवै छुट्टाछुट्टै बस्न थाले ।
भतिज दीपेन्द्र भन्छन्, ‘काका-काकीबीच सम्बन्ध राम्रो छैन । तर सम्बन्धविच्छेद पनि भएको छैन ।’
०००
ट्रमा सेन्टरको आईसीयू वार्डबाहिर सन्नाटा छ । लक्ष्मणका आफन्तको आँखामा चिन्ता, मनमा केही आशा र निराशा छ ।
उनको छाती तल-माथि हुने चालले मात्र जीवनको संकेत दिइरहेको छ । भेन्टिलेटरको एकसरो आवाजले फोक्सो बचाइराखेको छ ।
लक्ष्मण अहिले कोमामा छन् । दुवै मिर्गौलाले काम गर्न छाडेको छ । नियमित डायलाइसिस भइरहेको छ । टाउको पछाडिबाट लागेको गोली दिमागको भागमा गएर बसेको छ । मस्तिष्कमा रगत जमेको छ ।
उपचारमा संलग्न चिकित्सकले भनेका छन्, ‘अब भगवानको कृपामै भर पर्नुपर्छ । भेन्टिलेटरको सहायतामा श्वास चलिरहेको छ ।’
लक्ष्मणको परिवार अत्यन्तै निम्न वर्गको हो । ‘हाम्रो परिवार निम्न वर्गको हो । उपचारका लागि १०–२० हजार रुपैयाँ निकाल्ने क्षमता पनि छैन । अहिलेसम्म राज्यको सहयोगले उपचार भइरहेको छ,’ आईसीयू कक्ष बाहिर रहेका भतिज दीपेन्द्रले भने ।
उनी आफैं पनि काठमाडौंमा ज्याला मजदुरी गर्छन् । ‘दिँउसो काम गरिएन भने बेलुका भोकै बस्नुपर्छ,’ दीपेन्द्रले भने, ‘अस्पतालमा बसेको ४–५ दिन भइसक्यो । साथीभाइसँग सर-सापट गरेर बिहान–बेलुका छाक टारेको छु ।’
३६ वर्षीय लक्ष्मणका बुवा केही वर्ष बितिसकेका छन् । पाँच दाजुभाइमध्ये एक दाजु बितिसकेका छन् । कान्छा लक्ष्मणकी आमा एक दाजुसँग बस्दै आएका छिन् ।
‘डाक्टरले अवस्था जटिल छ भनेका छन्,’ दीपेन्द्र भावुक भए, ‘प्रत्येक पल भगवानसँग पुकार गर्दै बसेका छौं ।’

गोविन्द राई (फुपुका छोरा) का अनुसा पाँच कक्षासम्म पढेका लक्ष्मण कुनै राजनीतिक संगठनमा आवद्ध थिएनन् । ‘जेनजीको आन्दोलनमा के गरी होमियो, हामीलाई पनि थाहा छैन । देशमै गरिखाने अवस्था नहुँदा उनीजस्ता सयौं युवाले गोली खानुपर्यो,’ गोविन्द भन्छन् ।
तीन दिनदेखि गोविन्द अस्पतालमा कुरुवा बसेका छन् । रगत, औषधि, रिपोर्ट लिन तलमाथि दौडिरहन्छन् ।
लक्ष्मण फर्कने झिनो आश लिएर कुरिरहेका छन् गोविन्द । ‘मुख बाङ्गो भइसकेको छ । कुनै–कुनै बेला खुट्टा चलाउँछ,’ गोविन्दले आँखाभरि आसुँ पार्दै भने, ‘सास रहनुन्जेल आश त हुन्छ नि ।’
प्रतिक्रिया 4