+
+
Shares
अस्पतालमा चीत्कार :

‘सरकार पनि छैन, अब कसले हेर्छ’

पर्खाइमा बसेका अनुहारमा निद्राहीन रातको छाप प्रष्ट देखिन्छ । कोही कुर्सीमा टाउको झुकाएर बसेका छन्, कोही ठाडै भित्तासँग टाँसिएको अवस्थामा छन् । तैपनि उनीहरूको आँखा लगातार आइसीयूको बन्द ढोकामा छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ भदौ २५ गते २२:४२

२५ भदौ, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरको आइसीयू बाहिर कुरिरहेका आफन्तमा मौनता छाएको छ । तर त्यो मौनता शोक, चिन्ता र अनिश्चितताले भरिएको छ ।

पर्खाइमा बसेका अनुहारमा निद्राहीन रातको छाप प्रष्ट देखिन्छ । कोही कुर्सीमा टाउको झुकाएर बसेका छन्, कोही ठाडै भित्तासँग टाँसिएको अवस्थामा छन् । तैपनि उनीहरूको आँखा लगातार आइसीयूको बन्द ढोकामा छ ।

ती आफन्तका आँखामा असंख्य प्रार्थना मिसिएका छन् ।

‘अब भाइ अपांग हुने भयो, अहिले सरकार छैन, अब कसले हेर्छ ।’ वाक्य पूरा नहुँदै राजेश महतोका आँखाबाट आँशु तप्प खस्यो ।

महतो काठमाडौंमा सिलाई काम गर्छन् । त्यसबाट आएको कमाईले भाइ (राकेश)लाई पठाउँदै आएका थिए । २५ वर्षीय राकेश स्नातक दोस्रो वर्षमा अध्यरत थिए । त्यसको साथ साथै लोकसेवा आयोगको तयारीमा जुटेका थिए ।

दुई वर्षदेखि महेनत पनि गरिरहेका थिए । तर सोमबार दिउँसो राजधानीमा भएको जेन–जीको प्रदर्शनले ल्याएको हिंस्रक क्षणका कारण राकेश गम्भीर घाइते भए । अहिले उनको आईसीयूमा उपचार भइरहेको छ ।

राकेशका दाइ राजेश महतो ।

राजेशको परिवार किसानीमै निर्भर छ । ‘परिवारमा कुनै ठूलो कमाइ कसैको छैन । भाइलाई पढाएर जागिर खुवाउने ठूलो रहर थियो । तर सरकारले भाइको जीवन नै अपांग बनाइदियो,’ राजेशले भावुक हुँदै सुनाए ।

सोमबार राकेश कलेज गएका थिए । त्यहाँबाटै उनी साथीसँग आन्दोलनमा गए । नयाँ बानेश्वरमा पुग्दा कम्मरमा गोली लाग्यो । ‘ठ्याक्कै मुख्य कम्मर हड्डी भाँचियो । दुईवटै खुट्टाको मुख्य नसा ब्लक भएको छ,’ भाइको त्यतिबेलाको अवस्थाको वर्णन गर्दै उनले भने ।

डाक्टरले स्पष्ट भनेका छन्- राकेश अब अपांग नै हुन्छन् । दुवै खुट्टाले कहिल्यै काम गर्दैन । उपचारको खर्च र भविष्यको चिन्ताले उनको परिवारलाई सताइरहेको छ ।

‘२५ वर्षे भाई अपांग भएको छ । परिवारको भविष्य नै अन्धकारमा पर्यो,’ दाई राजेश भन्छन्, ‘भाइको भविष्यको जिम्मा सरकारले लिनुपर्छ ।’

000

दोलखाका संजय तामाङको अवस्था पनि उत्तिकै पीडादायी छ । उनका साला १९ वर्षका अनिल तमाङ भक्तपुरको ठिमीमा बस्दै पढाइ गरिरहेका थिए । संजय कोटेश्वरमा बस्छन् । घटना हुँदा उनीहरूलाई थाहा नै थिएन ।

‘एक्कासी फोन आयो- सिभिल हस्पिटल आउनु भनेर । पुग्दा साला थिएनन्, बुझ्दा रेफर भएको पाएँ ।’

अनिललाई दुईवटा गोली लागेको थियो- एउटा कोखामा, जसले कलेजोसम्म छेड्यो । अर्को दाहिने हातको साइडमा ।

‘भ्रष्टाचारविरुद्ध सडक प्रदर्शन गर्दा सरकारले कलिला बालबालिकाको ज्यान लियो,’ संजय भन्छन्, ‘यो सबै जिम्मेवारी सरकारमा भएकाले लिनुपर्छ ।’

२७ वर्षका प्रकाश बोहरा अहिले आईसीयू बेड जीवन र मरणको दोसाँधमा छन् । उनी कतार पुलिसको सपना बोकेर भविष्य बनाउने तयारीमा थिए । दसैंअघि उठ्ने तयारी थियो ।

अनिल तमाङका भिनाजु सन्जय तामाङ ।

तर सोमबारको घटनाले उनको जिन्दगीमा ठूलो मोड ल्यायो । प्रकाशले नयाँ बानेश्वरको एक गल्लीमा बाइक पार्किङमा राखेर साथीहरूसँग भिडियो बनाउन थाले ।

एक्कासी, कसैले गोली चलायो । सुरुमा उसलाई लाग्यो, यो त रबरको गोली होला । तर, जब गोली उनको खुट्टामा लाग्यो, रगत बग्न थाल्यो । दुईपटक उठ्ने कोसिस गर्दा पनि उठ्न सकेन । उक्त गोली फलामको थियो । प्रकाश पहिला रुसी आर्मी काम गरेको अनुभवि व्यक्ति हुन् । हतियार र गोलीको बारेमा उसलाई राम्रो ज्ञान थियो ।

घटनास्थलमा रगतै रगत भएको देखेपछि साथीहरूले तुरुन्तै अस्पताल पुर्याए ।

अस्पतालमा ल्याउँदा प्रकाश होसमा थिए । गोली उनको खुट्टाको साइडमा लागेको थियो, जसले नसा र हड्डीमा गम्भीर क्षति पुग्यो ।

राति १२ बजेको थियो ।

‘अब त बचाउन सकिँदैन होला, होसमा छैन, शरीर चिसो भइसकेको छ भन्ने खबर आयो,’ उनले दाइले त्यस दिनको घटना सम्झिँदै भने, ‘घरमा सबैको रुवाबासी चल्यो ।’

चिकित्सकले राति २ बजे अप्रेसन गरे । यद्यपि, प्रकाशको खुट्टाको अवस्था गम्भीर थियो । नसा च्यातिएको र हड्डी भाँचिएको कारण उनको खुट्टा चल्न छोड्यो । डाक्टरले खुट्टा काट्नुपर्ने सम्भावना पनि बताएका थिए ।

प्रकाश दाइ मंगलबार बिहान काठमाडौं आइपुगे । प्रकाशलाई आईसीयूमा राखिएको थियो । दिउँसो डाक्टरसँग कुरा गर्दा थाहा भयो- च्यातिएको नसालाई अर्को नसासँग जोडेर रक्तसञ्चार सुचारु गरिएको छ ।

तर, उक्त नसाले १० प्रतिशत मात्रै छ । प्रकाश होसमा आएपछि दाइलाई घटनाको विवरण सुनाएका थिए ।

‘अहिलेको अवस्थामा यो सकारात्मक संकेत भन्नुभएको छ,’ आईसीयू बाहिर बसेका प्रकाशका दाईले भने, ‘भाइले एक्कासी गोली कहाँबाट आयो पत्तै पाएनछ ।’

डाक्टरहरूका अनुसार प्रकाशको खुट्टा काट्नुपर्ने अवस्था आउन नसक्ने पनि संकेत दिएका छन् । यद्यपी त्यो जोखिम टरेको छैन ।

‘खुट्टामा झमझम भइरहेको महसुस सुनाएको छ । हिजोको तुलनामा आज धेरै सुधार छ,’ प्रकाशका दाइले सुनाए ।

‘सबैको सहयोगले धेरै बिरामीलाई बचाउन सक्यौं’

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ६१ जना घाइते उपचाररत छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना र त्रिवि शिक्षण अस्पतालमा एकजनाको मृत्यु भएको छ ।

त्यस्तै, काठमाडौ बाहिर सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ ।

काठमाडौ बाहिरका धेरै सहरहरुमा जेनजीहरुले प्रदर्शन गरेका थिए । त्यसविरुद्ध सरकारले दमन गरेको थियो ।

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । त्यसक्रम घाइते भएकाहरूलाई प्रदर्शनकारीहरूले अस्पताल पुर्‍याएका थिए । कतिपयको बाटैमा निधन भएको थियो ।

अहिले ट्रमा सेन्टरमा ५१ जनाको उपचार भइरहेको छ । ८ जना आईसीयूमा छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर भएको उपचारमा सम्लग्न चिकित्सक बताउँछन् ।

सोमबार बिहानबाट प्रदर्शनसँगै उत्पन्न हुनसक्ने सम्भावित स्वास्थ्य संकटका लागि राष्ट्रिय ट्रमा सेन्टर सतर्क अवस्थामा गइसकेको थियो ।

अस्पतालका प्रमुख डा. बद्रि रिजालको अनुसार प्रहरी प्रशासनबाट झडप हुने जानकारी आएपछि तत्कालै आपतकालीन तयारी थालिएको थियो ।

‘तत्कालै टिममा छलफल गरेर आपतकालीन सेवाबाहेक अरु सबै सेवा स्थगित गयौं,’ रिजालले भने, ‘ओपीडी बन्द गरियो, रेगुलर अप्रेसन रोकियो र इमर्जेन्सीको लागि मात्रै तयारी गरियो ।’

त्यसपछि घाइतेहरू झण्डै १०० संख्यामा ट्रमा सेन्टर आइपुगे । त्यतिबेला अस्पताल डिजास्टर भएपछि उपचार प्रणालीको मोडल अनुसार काम सुरू गर्‍यो ।

रेड, एलो र ग्रीन जोन बनाएर प्राथमिकता अनुसार उपचार सुरु गरिएको थियो । गम्भीर टाउको, छाती र पेटमा चोट लागेका बिरामीलाई तत्कालै अप्रेसन थालियो ।

डा. रिजाल भन्छन्, ‘ओटी फुल क्यापासिटीमा चलायौं । केहीलाई आईसीयूमा पठायौं ।’

डा. रिजालका अनुसार, चिकित्सकदेखि नर्स, ल्याब टेक्निसियन, प्यारामेडिक्स, प्रशासनिक कर्मचारीसम्म सबै स्वस्फूर्त रूपमा सक्रिय भएर लागे ।

वीर अस्पतालबाट समेत चिकित्सक ल्याएर व्यवस्थापन गरिएको थियो । त्यसदिन १३ वटा मेजर अप्रेशन गरिएको थियो ।

त्यसपछि पनि घाइते आउने क्रम रोकिएन । मंगबार दिँउसोको प्र र्दशनमा करिब ४० जना घाइते आइपुगे, जसमा ८ वटा इमर्जेन्सी अप्रेसन गरेको डा. रिजालले सुनाए ।

उनका अनुसार, सामूहिक प्रयास र टिमवर्ककै कारण ठूलो दुर्घटना व्यवस्थापन सम्भव भएको हो । ‘सबैको सहयोगले धेरै बिरामीलाई बचाउन सक्यौं भन्ने लाग्छ,’ डा. रिजाल भन्छन् ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?