१२ फागुन, सिरहा । फागुन २१ गतको चुनाव नजिकिँदै गर्दा सिरहा क्षेत्र नम्बर ३ मा घरदैलो अभियानले तीव्रता पाइरहेको छ । हात जोड्दै उम्मेदवारहरू मतदाता फकाउन व्यस्त छन् । उनीहरु स्वास्थ्यमा आमूल सुधार गर्छौं, शिक्षा नि:शुल्क र गुणस्तरीय बनाउँछौँ, कृषिमा क्रान्ति ल्याउँछौँ भन्दै कसम खाइरहेका छन् । यस्ता चुनावी बाचा मतदाताले वर्षौंदेखि सुन्दै आएका छन् । तर बाचा अनुसारको काम नहुँदा वाक्क छन् ।
सिरहा क्षेत्र–३ का शिव बहादुर थापा भन्छन्, ‘हरेक चुनावमा उही अनुहार, उही बाचालाई धेरैचोटि विश्वास गर्यौँ तर जिताएर पठाएकाहरुले बाचा पुरा गरेनन् ।
उनका अनुसार अस्पतालमा पर्याप्त औषधि छैन, विद्यालयमा शिक्षक अभाव छ, किसानले समयमा मल–बिउ पाउँदैनन् । त्यसैले उनी बढी निराश सुनिन्छन्, ‘मत दिँदादिँदा बुढ्यौली लाइसक्यो, तर विकास सपना उस्तै अधुरै छ ।’
अर्का स्थानीय बौनी राम भन्छिन्, ‘नेताहरुले चुनाव जिताएपछि यो गर्दिन्छु त्यो गर्दिन्छु भन्छन् तर जितेपछि फर्केर आउँदैनन् ।’
नेताहरुका आश्वासन सुन्दासुन्दै पत्यार लाग्न छाडेको बताउँदै उनले भनिन्, ‘आज एउटा पार्टीले घर बनाइदिन्छु भन्छ, भोलि अर्कोले खानेपानी दिन्छु भन्छ, तर गर्दैनन् ।’

सो क्षेत्रका श्रीदेव साहलाई पनि नेताहरु नसुध्रिएको लाग्छ । नेताहरु नसुध्रिएकै कारण गत भदौमा जेनजी युवाले विद्रोह गरेको उनको बुझाइ छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो । आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलेर सुशीला कार्की नेतृत्वमा सरकार चुनावी सरकार बन्यो । यही सरकारले फागुन २१ गते देशभर चुनाव गराउँदैछ । सोही चुनावका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरु घरदैलोमा मत माग्दै आएका छन् ।
तर पनि भुइँ तहका जनतालाई आफ्नो दु:ख हट्ला भन्ने विश्वास लागेको छैन । श्रीदेव साह भन्छन्, ‘नयाँ–पुराना सबैले पुरानै बाचा र आश्वासन बाँडिरहेका छन् । कसरी विश्वास गर्नु ? कहिलेसम्म ठगिदै बस्नु ?’
युवाहरू रोजगारीको खोजीमा विदेशिएका छन्, किसान उत्पादनको मूल्य नपाएर चिन्तित छन्, बिरामीले गाउँमा उपचार नपाएर सहर धाउन बाध्य छन् । यी पीडा हरेक घरका कथा हुन् । त्यसैले सिरहा क्षेत्र नम्बर ३ का मतदाता उधारो आश्वासन होइन, कार्यान्वयनको ग्यारेन्टी मागिरहेका छन् । भाषण होइन, परिणाम चाहेका छन् ।

सिरहा क्षेत्र–३ को विगतको निर्वाचन परिणाम
सिरहा क्षेत्र नम्बर ३ राजनीतिक रूपमा निकै प्रतिस्पर्धात्मक क्षेत्र मानिन्छ । विगतका नतिजाहरूले यहाँ कुनै एक दलको मात्र वर्चस्व नरहेको देखाउँछ ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) का लीलानाथ श्रेष्ठ विजयी भएका थिए । उनले २८ हजार ६४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत पाएका थिए ।
२०७४ को निर्वाचनमा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा एमालेका लीलानाथ श्रेष्ठ नै निर्वाचित भएका थिए । त्यतिबेला उनले २३ हजार २२७ मतसहित विजयी हुँदा संघीय समाजवादी फोरमका अशेश्वर यादवले २१ हजार २२० मत पाएका थिए ।
२०७० को संविधान सभा निर्वाचनमा भने नेपाली कांग्रेसकी सीतादेवी यादव विजयी भएकी थिइन् ।
२०८२ फागुन २१ गते हुन लागेको निर्वाचनमा एमालेबाट लिलानाथ श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टीबाट विश्वनाथ साह नै पुन: प्रतिस्पर्धामा उत्रिएका छन् ।
यसैगरी नेपाली कांग्रेसबाट सुभाषचन्द्र यादव, रास्वपाबाट शम्भु यादव, जसपाबाट असेश्वर यादव, जनमत पार्टीबाट रोहित महतो, राप्रपाबाट देवदयाल सिंहसहित दलगत र स्वतन्त्र गरी ४१ जना प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया 4