११ फागुन, काठमाडौं । हङकङ पोलिटेक्निक युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको नयाँ अध्ययनले सन् १९९३ देखि २०२२ सम्ममा विश्वको औसत समुद्री सतह ९० मिलिमिटरले बढेको देखाएको छ।
‘स्याटेलाइट लेजर रेन्जिङ’ (एसएलआर) प्रविधिको प्रयोग गरी गरिएको यो ३० वर्षे विश्लेषणले समुद्री सतह बढ्नुको मुख्य कारण पग्लिएको हिउँ रहेको पुष्टि गरेको छ।
समुद्री सतह औसतमा प्रति वर्ष ३.३ मिलिमिटरका दरले बढिरहेको छ र यो दर समयसँगै झन् तीव्र हुँदै गएको छ।
समुद्री सतह बढ्नुमा ६० प्रतिशत भूमिका पग्लिएर थपिएको पानीको भारको रहेको छ। विशेषगरी ग्रिनल्याण्ड र हिमालका हिमनदीहरू पग्लिनाले समुद्री सतहमा ८० प्रतिशतभन्दा बढी पानी थपिएको छ।
यसअघि समुद्री भार मापन गर्न कठिन हुने गरेकोमा, यो अनुसन्धानले अन्तरिक्षबाट लेजर पठाएर जमिन र समुद्रको सतहबीचको गुरुत्वाकर्षण परिवर्तनलाई सटीक रूपमा मापन गर्ने नयाँ विधि (फरवार्ड मोडालिंग) विकास गरेको छ।
यस अनुसन्धानले जलवायु परिवर्तनको गम्भीर असरलाई देखाउँदै भविष्यमा समुद्री तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूका लागि बढ्दो जोखिमको चेतावनी दिएको छ।
प्रतिक्रिया 4