१२ फागुन, विराटनगर । भैरहवा र पोखराको चुनावी सभा स्थगित गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार सुनसरीको इटहरीमा चुनावी सभा गर्यो । समर्थक र उम्मेदवारलाई राखेर आयोजना गरेको परिवर्तन उद्घोष सभालाई सम्बोधन गदा भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले विकास निर्माणबारे धारणा प्रस्तुत गरे । सभापति रवि लामिछानेले भने घुमाउरो शैलीमा नेपाली कांग्रेस सभापति गगन थापा र अन्य आलोचकलाई जवाफ फर्काउनमा शब्द खर्चिए ।
किरात संस्कृतिमा मृत्यु र संकटबाट जोगाउने प्रतीक मानिने ‘सिलम साक्मा’ लगाएर कार्यक्रममा देखिएका बालेनले प्रदेशको मुद्दालाई उठाए ।
चियाको स्वाददेखि कृषिमा आत्मनिर्भरताको कुरा उठाएका बालेनले धरानवासीलाई कोशीको पानी वितरण गर्ने र कोशी नदीको किनारलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने आश्वासन दिए ।
दोहोरो संवाद गर्दै भाषण सुरु गरेका उनले भान्छामा तरकारी कताको पाक्यो ? चिया कताको पिउनुभयो ? भनेर सोध्न भ्याए । यस्तै धर्म–संस्कृतिसमेत जोडेर सवा ५ मिनेटको सम्बोधन भ्याए ।
रविले आलोचनामै समय खर्चिए
सभापति लामिछानेले भने वरिष्ठ नेता बालेनभन्दा फरक शैलीमा समय खर्चिए । चुनाव सार्न नहुने बताएका उनले कांग्रेस सभापति थापाको नामै नलिई कटाक्ष गरे । उनको यो प्रसङ्ग मूलतः बालेनको बचाउमा केन्द्रित थियो ।
फागुन ६ गते धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बालेनले सडक बनाउन ढिलासुस्ती गर्नेलाई रुखमा बाँधेर हुन्छ कि, थुनेर हुन्छ छिटो बनाउने अभिव्यक्ति दिएका थिए ।
बालेनको सोही अभिव्यक्तिलाई कटाक्ष गर्दै कांग्रेस सभापति थापाले सडक निर्माण गर्न ठेकेदारलाई रुखमा बाँध्नेभन्दा पनि कानुन संशोधन गर्नुपर्ने बताएका थिए ।
यही वादविवादकै सिलसिलामा इटहरीको सभा लामिछाने मिसिए । उनले २० वर्ष सांसद भएको मान्छेलाई बल्ल कानुनी ज्ञान आएको भन्दै कटाक्ष गरे । ‘२०–२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईँहरूलाई,’ उनले भने,‘तपाईँको ज्ञान तपाईँसँगै राख्नुहोला ।’

बालेनको अभिव्यक्तिकै प्रतिरक्षा लामिछानेले निर्माण व्यवसायी पनि आत्तिन नपर्ने पनि बताए । ‘निर्माण व्यवसायीहरू आत्तिनुपर्दैन । अब देश विकास निर्माणको बाटोमा अगाडि बढ्यो,’ उनले भने, ‘बाँध्ने भनेको कानुनले बाँध्ने भनेको हो, कानुनअनुसार काम गरे कसैले केही गर्दैन ।’
लामिछानेले अबको ५ वर्ष रास्वपाले देश चलाउने बताए । अरू दललाई पाँच वर्ष सुध्रिएर आउन आग्रह गरे ।
बालेनले देखाए आस
सम्बोधनका क्रममा बालेन शाहले पूर्वी पहाडी जिल्लामा उत्पादित अर्गानिक तरकारी तराईका भान्छामा पुर्याउनु पर्ने बताए । ‘बिहान खानामा तरकारी कहाँको खानुभयो ? बोर्डर पारिको खानुभयो ?’ उनले भने, ‘हाम्रै पूर्वी पहाडमा उत्पादन भएको तरकारी खान पाइएको छैन, यो दुःखको कुरा हो । यो दुःखको समाधान गर्नुपर्छ र त्यो दुःखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।’ उनले जमिन बाँझो हुन नदिने पनि बताए ।
सुनसरी–मोरङ औद्योगिक कोरिडोर देशकै पहिलो औद्योगिक क्षेत्र भए पनि नयाँ उद्योग खुल्न नसक्नु विडम्बना भएको बताए । ‘नयाँ उद्योग खोल्न नेतालाई ढोग्ने र खुलेपछि चन्दा बुझाउनुपर्ने प्रथाको अन्त्य गरी उद्योगमैत्री वातावरण बनाउनु हाम्रो प्राथमिकता हो’, उनले भने ।\

किरात समुदायको आस्थाको केन्द्रको रूपमा रहेको मुकुमलुङ, खुवालुङ र पाथीभराको संरक्षण गर्ने बताएका उनले धर्तीको पहिलो तीर्थस्थलको रूपमा परिचित वराहक्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य रहेको बताए । उदयपुरको तटीय क्षेत्रलाई इन्डोनेसियाको बाली जस्तै बन्न सक्ने सम्भावना देखाए ।
खानेपानीको संकट झेलिरहेको धरानका लागि कोशीबाट ‘मेकानिकल लिफ्टिङ’मार्फत पानी ल्याउने पनि बताए ।
धरान उपमहानगरपालिकामा हर्क साम्पाङले खानेपानीको मुद्दा उठाएर मेयरमा निर्वाचित भएका थिए । श्रमदान मार्फत खानेपानी ल्याएका उनी प्रधानमन्त्री बन्ने दाबीसहित सुनसरी–१ बाट उम्मेदवार छन् । उनी बालेनको आलोचक हुन् । तर, हर्क साम्पाङले ऋणमार्फत अघि बढाउन नचाहेको कोशीबाट पानी ल्याउने योजना अघि बढाउने बालेनले बताए ।
बालेनले खेलाडी उत्पादनको योजना पनि देखाए । ‘नेपालको ६०–७० प्रतिशत फुटबल प्लेयर कहाँबाट निस्किन्छ ? यही पूर्व क्षेत्रबाट निस्किन्छ, तर फुटबल प्लेयरहरूलाई उत्पादन गर्नलाई, त्यो ग्रास रुटको फुटबललाई विकास गर्नलाई, त्यो खेल मैदान विकास गर्नलाई अहिलेसम्म सकिएको छैन, ग्रास रुट लेभलका ट्रेनिङ सेन्टरहरू बनाउन सकिएको छैन,’ उनले भने,‘ एउटा फुटबल प्लेयर राम्रो बन्नलाई प्राक्टिस गरेको हुनुपर्छ, त्यो प्राक्टिस गराएर राम्रो फुटबल प्लेयर उत्पादन गर्ने स्वभाव बोक्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।’ सिलम साक्मालाई देखाउँदै उनले देशलाई जोगाउने पार्टी रास्वपा बन्ने बताए ।
प्रतिक्रिया 4