+
+
Shares

बझाङमा पुरानै एजेन्डाको पुनरावृत्ति, कार्यान्वयनमा प्रश्न

बझाङका उम्मेदवारहरूले अघिल्ला चुनावमा जस्तै सडक, राजमार्ग, खेलमैदान र सञ्चार सुधारजस्ता पुरानै चुनावी बाचा दोहोर्‍याएका छन् । विगतका प्रतिबद्धता पूरा नहुँदा निराश देखिएका मतदाताले यसपटक परिणाम खोजिरहेका छन् ।

सुरेश धामी सुरेश धामी
२०८२ फागुन १३ गते ७:४२

१३ फागुन, बझाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जिल्लाका सबै राजनीतिक दल र उम्मेदवारहरू घरदैलो, सार्वजनिक सभा र विभिन्न प्रचार माध्यममार्फत मतदातासँग प्रत्यक्ष भेटघाटमा जुटेका छन् । तर, उम्मेदवारहरूले अझै पनि पुराना चुनावी मुद्दा र बाचाहरुको भरमा आफ्नो प्रचार रणनीति निर्माण गरेका छन् ।

एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा लगायतका दलका उम्मेदवारहरूले फरक–फरक क्षेत्रका मुद्दा उठाए पनि सडक, यातायात, खेलकुद र सञ्चार जस्ता पुराना एजेन्डा मुख्य प्राथमिकताका रूपमा समेटेका छन् ।

राजनीतिक दलहरुले विगतका निर्वाचनहरूमा प्राथमिकता पाएका सडक, यातायात, स्वास्थ्य, शिक्षा र खेलकुद क्षेत्रका मुद्दा यसपटक पनि चुनावी मुख्य एजेन्डा बनाएका छन् ।

सेती लोकमार्ग अन्तर्गत चीन जोड्ने ताक्लाकोटसम्म सडक सञ्चालन गर्ने, जयपृथ्वी राजमार्ग स्तरोन्नति गर्ने, दुर्गम बस्ती र गाउँ–गाउँमा यातायात पहुँच सुधार गर्ने, सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने, सुविधासम्पन्न खेल मैदान निर्माण गर्ने र सञ्चार सेवा प्रभावकारी बनाउने मुद्दा सबै राजनीतिक दलका मुख्य प्रतिबद्धता पत्रमा समेटिएका छन् ।

केही राजनीतिक दलले प्रतिबद्धता पत्र सार्वजनिक नगरे पनि भोट माग्न जाँदा मुख्य यिनै कुरा उठाउने गरेको स्थानीय बताउँछन् ।

मुख्य एजेण्डाहरु

१. तिब्बतको ताक्लाकोटसम्म सडक निर्माण

‘बझाङ सदरमुकाम चैनपुर–ताक्लाकोट नाका खोल्ने र सडक निर्माणलाई छिटो सम्पन्न गर्ने काम पहिलो प्राथमिकतामा हुनेछ,’ भन्ने वाक्य प्रत्येक निर्वाचनमा मुख्य चुनावी मुद्दाको रुपमा उठ्ने गरेको छ । सुदूरपश्चिम प्रदेशकै समृद्धिको ढोका मानिएको तिब्बतको ताक्लाकोटसम्म सडक सञ्जाल निर्माणको यो बाचासहित ०७४ र ०७९ को निर्वाचनमा पनि नेताहरूले चुनावी एजेन्डा बनाएका थिए । यद्यपि चुनावका बेला दिएको भाषण केवल आश्वासनमै सीमित छ । सडक निर्माणको भौतिक प्रगति एकदमै सुस्त छ ।

बझाङको उरै भन्ज्याङसँग जोडिएको पुरानो व्यापारिक नाका तिब्बतको ताक्लाकोटसम्म सडक सञ्जाल नभएका कारण नाका पनि खुल्न सकेको छैन ।

सडक सञ्जालमा जोडिए चीनसँगको अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटकीय नाका हुने र पश्चिम नेपालकै अर्थतन्त्रमा नयाँ ढोका खुल्ने सुदूरपश्चिमका बासिन्दाको सपनालाई यहाँका सबैजसो नेताले चुनावका बेला राम्रैसँग उछाल्ने गरेको साईपाल गाउँपालिकाका स्थानीय दिपक बोहराले बताए ।

नेताहरुले चैनपुर–ताक्लाकोट सडक खुले चीनसितको व्यापार खुल्ने र चीनको चर्चित धार्मिकस्थल कैलाश मानसरोवरसम्म आउ–जाउ गर्न मुलुककै प्रमुख पर्यटकीय मार्ग बन्ने भनेर मतदातालाई आकर्षण गर्न खोजिरहेका छन् ।

२. जयपृथ्वी राजमार्ग स्तरोन्नति

राजमार्गलाई सुरक्षित, फराकिलो र दिगो बनाउने आश्वासन पनि प्रत्यक चुनावमा दोहोरिन्छ । दुर्गम बस्ती र गाउँ–गाउँमा यातायात पहुँच सुधार्ने वाचासमेत उठाइन्छ । तर वर्तमान अवस्थामा केदारस्युँ गाउँपालिकाको बागथलादेखि सदरमुकाम चैनपुर पुग्न ५ घण्टा यात्रा गर्नुपर्ने बाध्यता छ । यदि सडक राम्रो बनेमा यात्रा अवधि एक घण्टामा छोटिनसक्ने स्थानीय बताउँछन् ।

तर खाल्डाखुल्डी, हिलाम्य सडक र धुलाम्मे बाटोले जनताको भोक, रोग र समयको मूल्य अझ बढाएको छ । जिल्ला सदरमुकाम जोड्ने यो मुख्य राजमार्ग चुनावी मुद्दा बने पनि अवस्था दयनीय छ । वर्षातमा पहिरो जाने, माथिबाट ढुंगा खस्ने समस्याले दैनिकजसो सडक अवरुद्ध हुने गरेको छ ।

३. सुविधा सम्पन्न खेल मैदान निर्माण

खेलमैदान निर्माण पनि प्रत्येक चुनावको मुख्य एजेण्डा भन्ने गरेको छ । तर काम भएको छैन । जिल्लामा उपयुक्त खेल मैदान नहुँदा राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगिता अझै पनि सडक र खेतमा खेलाउनुपर्ने अवस्था रहेको बझाङ जिल्ला खेलकुद समिति सदस्य हिक्मत धामीले बताए ।

‘जिल्लाका अधिकांश पालिकामा खेल मैदान निर्माणाधीन छन् । तर कतिपय मैदान प्राविधिक रूपले खेल सञ्चालन योग्य छैनन् । कतिपय मैदान बस्तीभन्दा टाढा छन् र कतिपयमा पूर्वाधार अपूर्ण छ,’ धामीले भने ।

राज्यकोषबाट लाखौं खर्च भइरहे पनि खेल मैदान अभावका कारण स्थानीय युवाले सुरक्षित, सहज र सक्रिय रुपमा भाग लिन सकेका छैनन् ।

खेलमैदान बनाउने नाममा बर्सेनि बजेट खर्च भइरहे पनि निर्माण समितिको मनोमानी तथा अध्ययन नै नगरी खर्च गर्ने परिपाटीले सुविधासम्पन्न र उपयुक्त खेलमैदान निर्माण गर्न नसकिएको खेलकुद समिति अध्यक्ष पुष्पलाल रोकायाले बताए ।

४. सञ्चार सुविधा

सडक, यातायात जस्ता अन्य चुनावी एजेन्डा जस्तै, सञ्चार सुधारको बाचा पनि विगत निर्वाचनदेखि नेताहरूले गर्दै आएका छन्, तर सुधार भने देखिँदैन । गाउँ–गाउँमा नेटवर्कको पहुँच विस्तार नहुँदा शिक्षा, व्यवसाय र स्वास्थ्य सेवासमेत कठिन बनाइरहेको छ ।

बझाङमा जिल्लाका धेरै भेगमा मोबाइल नेटवर्क कमजोर छ । टावरहरू शौर्य उर्जाबाट सञ्चालन भएकाले पानी परे वा बादल लाग्दा नेटवर्क ठप्प हुन्छ । यसले गर्दा स्थानीयले फोन कल गर्नै नसक्ने समस्या भोग्नु परेको छ ।

‘नेताले टावर बनाउने फोरजी सेवा विस्तार गर्ने बाचा त दिन्छन्, तर फोन कल गर्न सक्ने अवस्था पनि आउँदैन,’ स्थानीय दीपा धामीले भनिन्, ‘विद्यालय, स्वास्थ्य चौकी र स्थानीय प्रशासनसँग सम्पर्क गर्न पनि समस्या पर्छ ।’ चुनावका बेला मात्र बाचा गर्ने तर चुनाव सकिएपछि काम नगर्ने प्रवृत्ति हुँदा समस्या यथावत् रहेको उनको भनाइ छ ।

स्थानीय देव धामीका अनुसार प्रत्येक दल र उम्मेदवारले उठाएका मुद्दाको कार्यान्वयन पक्ष कमजोर छ । ‘सडक निर्माण, राजमार्ग स्तरोन्नति, खेलकुद पूर्वाधार जस्ता एजेन्डा केवल भाषणमा सीमित भएको अनुभूति दिन्छ,’ धामीले भने, ‘हामी अब केवल बाचामा विश्वास गर्दैनौं । जनतालाई वास्तविक काम, ठोस परिणाम र इमानदार नेतृत्व चाहिन्छ ।’

पुरानै चुनावी एजेन्डा दोहोरिने तर कार्यान्वयन नहुने प्रवृत्तिले स्थानीयमा असन्तुष्टि पैदा गरेको छ । प्रतिनिधि सभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङबाट नेकपा एमालेका ऐन महर, कांग्रेसका प्रकाश रसाइली स्नेही, नेकपाका मिन बहादुर कुँवर र रास्वपाका शैलेश सिंह लगायत उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?