+
+
Shares

आम चुनावको पूर्वानुमान र सम्भावित राजनीतिक व्यवस्थापन

चुनाव प्रचारमा जाँदा राजनीतिक दलका नेताहरूले एक–अर्काका विरुद्ध यसरी विषवमन नगरुन् कि भोलि सहकार्यको बाटो नै बन्द होस्। यहीँनेर यो मुलुकलाई राजनीतिक दलका नेताहरूको ‘सामूहिक बुद्धिमत्ता’ जरुरी पर्छ।

प्रा. कृष्ण पोखरेल प्रा. कृष्ण पोखरेल
२०८२ फागुन १३ गते १०:०३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले मधेसमा अध्यक्षलाई उम्मेदवार बनाएर रास्वपाको पक्षमा आउने सम्भावित स्विङलाई केही हदसम्म ब्रेक लगाउन सफल भएको छ।
  • एमालेले महाधिवेशनमा केपी ओलीलाई पुनः अध्यक्षमा दोहोर्‍याए पनि पार्टीभित्र एकताभावको अभाव देखिएको छ।
  • रास्वपाले रवि लामिछानेलाई थुनाबाहिर रहेर मुद्दा लड्न छुट पाउँदा र बालेन्द्र शाहलाई भावी प्रधानमन्त्री बनाउने निर्णयले लोकप्रियता बढाएको छ।

१. विषय प्रवेश

जसरी २१ फागुनको आम चुनाव अनपेक्षित थियो, त्यस्तै त्यसले दिने परिणाम पनि अनपेक्षित भयो भने आश्चर्य नमाने हुन्छ। चुनावअघि आफ्नो जितको दाबी गर्नु र त्यसपछि हार्दा धाँधली भयो भन्नु नेपालको आम चुनावको इतिहासमा २०१५ सालदेखिको परम्परा हो। आफूहरू चुनाव हार्दा पूर्वप्रधानमन्त्रीद्वय डा. केआई सिंह र टङ्कप्रसाद आचार्यसमेत चुनावमा धाँधली भयो भनेर गुहार माग्न दरबार पुगेका थिए। यसपटक पनि हार्नेहरूले त्यसै भनेमा अनौठो नमाने हुन्छ। फरक कति मात्रै भने– तिनसँग गुहार माग्ने ठाउँको रूपमा यतिबेला दरबार छैन। अतः त्यसको क्षतिपूर्तिस्वरूप तिनले परिणाम नै स्वीकार गर्दैनौँ भन्न बेर लाउने छैनन्।

तर यो त भोलिको कुरा हो। यतिबेला सबैको ध्यान यो आम चुनावमा परम्परागत ’ठूला दलहरू‘ ले के गर्लान् वा तिनको के होला? र नयाँ खुलेका दलहरू– त्यसमा पनि प्रतिस्पर्धीहरूले ‘लोकप्रियतावादी’ को फुर्को लगाइदिएका बालेन–रविको जोडी बाँधिएको राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्ला? भन्नेतर्फ नै सबैको ध्यान केन्द्रित छ।

त्यसो भन्दैमा मधेसकेन्द्रित दल जसपा नेपाल, राजावादी दल राप्रपा, अनि कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र हर्क साम्पाङको श्रम संस्कृति पार्टीबारे कुनै जिज्ञासा छैन भन्ने होइन। अतः यस आलेखमा तिनको चुनावी सम्भावनाको आकलन–विश्लेषण र चुनावपछिको चुनौतीका बारेमा एक–दुई कुरा गर्ने मेरो ध्येय हो।

२. दलहरूको चुनावी स्थितिको आकलन

अब एकपटक आसन्न आम चुनावमा राजनीतिक दलहरूको अवस्थाको आकलन गरौँ।

क. नेपाली कांग्रेस

आफूलाई बीपीको समाजवादको अनुयायी भने पनि यो मूलतः उदार लोकतन्त्रको पक्षधर दल हो। यसै त ‘मास पार्टी’, यो २०४८ सालदेखि यताको आम चुनावमा जति दुब्लाए पनि दोस्रोबाट तल झरेको छैन। र, दोस्रो भएको लगत्तैको आम चुनावमा पुनः पहिलो भएकै छ। यसपटक यसले ‘राजनीतिक नसेडी’ जस्ता सभापति शेरबहादुर देउवाको चङ्गुलबाट विशेष महाधिवेशनको जोखिम मोलेर जे गर्‍यो, त्यो कमालै हो।

यस अर्थमा गगन–विश्वप्रकाशको जोडी बधाईका पात्र छन्, किनकि यिनले ओली नेतृत्वको सरकारका साझेदार भए पनि आफ्नो दललाई जेनजी दमनको अंशियारको ‘ट्याग’ लाग्नबाट जोगाए, अनि आन्दोलनको पक्षपोषक बन्न पुगे। यतिबेला गगनको नेतृत्वमा बिलकुल नयाँ कांग्रेस नयाँ ऊर्जाका साथ चुनावी मैदानमा होमिएको छ। यसको लाभांश यसले कुनै न कुनै रूपमा पाउने नै छ। अझ मधेसमा आफ्ना अध्यक्षलाई उम्मेदवार बनाएर यसले जुन ‘मास्टर स्ट्रोक’ खेल्यो, त्यसले मधेसमा रास्वपाको पक्षमा आउने सम्भावित ‘स्विङ’ लाई केही हदसम्म ‘ब्रेक’ लगाउन सक्ने अवस्था ल्यायो।

ख. नेकपा एमाले

आफूलाई कम्युनिस्ट भन्ने र मदन भण्डारीको बहुदलीय जनवादको एक मात्र हिमायती मान्ने ‘क्याडर बेस्ड’ पार्टी एमाले यो निर्वाचनमा सबैभन्दा प्रतिरक्षात्मक अवस्थामा छ। जेनजी विद्रोह दमनको बोझ बोकेर आम चुनावमा होमिनुको पीडा यसका नेता तथा उम्मेदवारले चुनाव प्रचारका दौरान पाइलापाइलामा अनुभूत गरेका छन्।

यसले महाधिवेशन पनि गर्‍यो तर पुनः केपी ओलीलाई नै अध्यक्षमा दोहोर्‍याएकाले यो नेपाली कांग्रेस जस्तो ‘रिफ्रेस’ हुन सकेन। उल्टो, महाधिवेशनले पार्टीभित्र पैदा गर्नुपर्ने एकताभावको थप अभाव देखियो। त्यसो त यसले जेनजी विद्रोहलाई भूराजनीतिक षड्यन्त्रको जामा पहिर्‍याउन कुनै कसर बाँकी राखेन तर त्यो भाष्य कार्यकर्तासम्मले पत्याए पनि आम मतदाताले हजम गरेका छैनन्।

स्थिति कतिसम्म नाजुक छ भने एमालेका अधिकांश उम्मेदवारले आफ्नो प्रचार सामग्रीमा अध्यक्षको फोटो राख्नसम्म परहेज गरेका छन्। विगतमा आफ्नो दलका लागि ‘स्टार क्याम्पेनर’ मानिने नेताको यो अवस्था पीडादायी लाग्छ। तर आजको यथार्थ यही हो।

ग. नेपाल कम्युनिस्ट पार्टी

एमाले र आफूलाई चौबीस क्यारेटको कम्युनिस्ट ठान्ने ‘हार्डकोर’ कम्युनिस्ट एक–दुई बाहेक झन्डै दुई दर्जन कम्युनिस्ट/वामपन्थी समूहहरूलाई बटुलेर भारीभरकम सङ्गठन बनाएर अस्तित्वमा आएको नेपाल कम्युनिस्ट पार्टीका मुख्य घटक भनेका माओवादी र एकीकृत समाजवादी नै हुन्।

यसले सबैभन्दा पहिले जेनजी आन्दोलनलाई सकारात्मक रूपमा लियो र सत्तामा नरहेका कारण आन्दोलन दमनको आरोपबाट पनि मुक्त रह्यो। तर पनि महाधिवेशन नगरेर पुरानै नेताहरूको भरमा अघि बढेको आरोप यसमाथि छ। आसन्न निर्वाचनमा अर्को कम्युनिस्ट दललाई टक्कर दिने परिणाम निकाल्यो भने मात्र यसले खडा गरेको विशालकाय सङ्गठन ‘कवाडी माल’ को थुप्रो होइन, क्षमतावान्‌हरूको एकता रहेछ भन्ने ठहरिनेछ।

घ. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

दुई कारणले यो पार्टीमाथि सङ्कटको बादल मडराएको थियो। एउटा, एमाले–कांग्रेस गठबन्धनको सरकारले सभापति रवि लामिछानेलाई सहकारी ठगीको आरोपमा थुनामा राखेर जिल्ला–जिल्ला डुलाइएको अवस्था र अर्को, जेनजी विद्रोहको भोलिपल्ट कागज मिलाएर उनी जेलबाट बाहिरिएका कारण सिर्जित बबाल। दोस्रो विषय के कारणले पनि सङ्ग्रालियो भने, उनकै देखासिकी मुलुकका विभिन्न जेलबाट हजारौँ कैदीबन्दी जेल तोडेरै बाहिरिए र त्यसको दोष उनकै थाप्लोमा आइलाग्यो।

क्षति नियन्त्रण गर्न रवि पुनः नख्खु त फर्के तर त्यसले गर्नुपर्ने क्षति गरिसकेको थियो। सम्भवतः यस पार्टीबाट सुमना श्रेष्ठ र सन्तोष परियार जस्ता उदीयमान नेताले त्यही आकलनमा पार्टी परित्यागको निर्णय गरे।

यसपटक यसको तेस्रो बन्ने मामिलामा नेपाल कम्युनिस्ट पार्टीसँग प्रतिस्पर्धा भयो भने अनौठो नमाने हुन्छ। नेकपा भने एमालेसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धी अवस्थामा आयो भने त्यही यसका लागि अहोभाग्य हो।

अदालतले सभापति रवि लामिछानेलाई थुनाबाहिर रहेर मुद्दा लड्ने छुट दिएर ठूलो राहत दियो नै। तर काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पार्टीमा वरिष्ठ नेता मात्र नभई भावी प्रधानमन्त्री बनाउने निर्णय यसका लागि त्यस्तो पानीढलो बन्यो, जसपछि यसले लोकप्रियताको उचाइ नै छुन पुग्यो।

अझ उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई यो पार्टीमा राखिराख्न सकेको भए रवि–बालेन–कुलमानको ‘ट्रोयका’ले आसन्न चुनावमा सबैलाई बढार्ने अवस्था आउँथ्यो। तर कुलमान उज्यालो नेपाल पार्टीमै फर्के र उनको यो निर्णयले रास्वपालाई केही नोक्सान त भयो तर सबैभन्दा ठूलो नोक्सानमा स्वयं कुलमान परे।

३. चार पूर्वानुमान

मेरो पूर्वानुमान छ– आसन्न आम निर्वाचनमा राजनीतिक दलहरूको जित–हार र तिनको स्थान यसपटक यी चार अवस्थाबाट निर्धारित हुनेवाला छ।

पहिलो, यसपटक कुनै पनि चुनाव–क्षेत्र वा समुदाय विशेष कुनै दल विशेषको गढ वा भोट बैंक छैन वा रहेन। सबै मत तरल अवस्थामा छन् र ती जता पनि जान सक्छन्। अपवादमा रोल्पा–रुकुमजस्ता केही पुराना माओवादी ‘डेन’ (गढ) हरू हुन सक्लान्।

दोस्रो, देश–परदेशका युवाहरूको यो आम चुनावमा परिणाम दिने गरी बढेको सक्रियताको स्थिति।

तेस्रो, बालेनको पक्षमा देशभरिका बाल–वृद्ध–वनितामा देखिएको ‘क्रेज’।

चौथो, मुलकभरिका मतदातामा पुराना दलहरूप्रति व्याप्त वितृष्णाको अवस्था।

४. प्रमुख दल र नेताहरूको चुनावी अवस्था

सबै कुरा माथिको पुर्वानुमानअनुसार नै भयो भने यो पटकको चुनावी नतिजा उथलपुथलपूर्ण हुने निश्चित छ। नेपाली कांग्रेस २०४८ सालदेखि आजसम्मका सातवटा आम चुनावमा चार पटक पहिलो भएको छ तर लगातार दुई पटक पहिलो कहिल्यै भएको छैन। मलाई लाग्छ, विशेष महाधिवेशनबाट ‘रिफ्रेस’ भएर ननिस्केको भए यसपटक दोस्रो भए पनि ‘टाढाको दोस्रो’ बन्ने खतरा थियो, जसबाट यो चमत्कारिक रूपमा जोगियो र ‘प्रतिस्पर्धात्मक दोस्रो’ बन्ने सम्भावना जगाएको छ।

जहाँसम्म एमालेको कुरा छ, यसको देशव्यापी रूपमै मनोबल खस्केको देखिन्छ। यसका उम्मेदवारहरू मतदातासामु रक्षात्मक हुन बाध्य छन्। विगतका आम चुनावहरूको आलोकमा हेर्दा यो जम्मा दुई पटक पहिलो भएको छ र २०६४ सालको चुनावमा तेस्रो हुनुबाहेक बाँकी सबैमा दोस्रो भएको देखिन्छ। यसपटक यसको तेस्रो बन्ने मामिलामा नेपाल कम्युनिस्ट पार्टीसँग प्रतिस्पर्धा भयो भने अनौठो नमाने हुन्छ। नेकपा भने एमालेसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धी अवस्थामा आयो भने त्यही यसका लागि अहोभाग्य हो।

यो आम चुनावमा सबैभन्दा लाभको स्थितिमा रास्वपा देखिन्छ। अहिलेकै चुनावी माहोल मतदानको दिनसम्म रह्यो भने समानुपातिक र प्रत्यक्ष दुवैमा यो अरू सबै दलभन्दा अगाडि आउने अवस्था देखिन्छ। प्रत्यक्षमा नेपाली कांग्रेसभन्दा उल्लेखनीय रूपमा बढी सिट जित्न सक्यो भने यो सीमान्त बहुमतको अवस्थामा पुग्न सक्छ, अन्यथा प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका रूपमा आउने निश्चितै छ।

सबैभन्दा ठूलो चुनौती भनेकै चुनावपछिको राजनीतिक व्यवस्थापन हो। प्रतिनिधिसभामा एकातिर कुनै एउटा दलको स्पष्ट बहुमत आउने सम्भावना कम छ र आयो भने पनि त्यो रास्वपाको आउन सक्छ। यदि रास्वपाको बहुमत आयो भने उसको राष्ट्रिय सभामा शून्य उपस्थिति छ।

हिजो राष्ट्रिय दलको हैसियत बनाएका जसपा नेपाल र जनमत पार्टीलाई यसपटक त्यो हैसियत बचाउनै चुनौतीपूर्ण देखिन्छ। राप्रपाको हिजो प्रत्यक्षतर्फ जुन हैसियत बनेको थियो, त्यो एमालेको कोसेली थियो। यसपटक राजेन्द्र लिङ्देन स्वयं नै एमालेसँग जोडिन परहेज गरिरहेछन्। अतः समानुपातिकले बचाए मात्र, नत्र प्रत्यक्षतर्फ यसको हैसियत खस्कियो भने अन्यथा नमाने हुन्छ।

रह्यो उज्यालो नेपाल र श्रम संस्कृति पार्टीको कुरा, यिनले पनि सम्मानजनक रूपमा खाता खोल्ने निश्चित देखिन्छ। तर यी धेरै ठाउँमा विजयी भन्दा पनि अन्य दलको जित–हारका ‘स्पोइलर’ बन्ने अवस्था बढी देखिन्छ। निर्वाचनमा नहोमिएका पूर्वप्रधानमन्त्रीले इज्जतै बचाए भन्दा हुन्छ र निर्वाचनमा होमिएका तीन जनामध्ये पनि मुस्किलले एक जनाले जित्ने अवस्था देखिन्छ।

५. चुनावपछिको राजनीतिक व्यवस्थापन

सबैभन्दा ठूलो चुनौती भनेकै चुनावपछिको राजनीतिक व्यवस्थापन हो। प्रतिनिधिसभामा एकातिर कुनै एउटा दलको स्पष्ट बहुमत आउने सम्भावना कम छ र आयो भने पनि त्यो रास्वपाको आउन सक्छ। यदि रास्वपाको बहुमत आयो भने उसको राष्ट्रिय सभामा शून्य उपस्थिति छ।

यस्तोमा उसले सरकार बनाए पनि अरू दलहरूसँग सहमति र सहकार्य नगरी सरकार चलाउन सम्भव छैन। कुनै दलको बहुमत आएन भने झन् सरकार बनाउने कुरामै राजनीतिक सहमति चाहिन्छ।

हो, यसकारण पनि चुनाव प्रचारमा जाँदा राजनीतिक दलका नेताहरूले एक–अर्काका विरुद्ध यसरी विषवमन नगरुन् कि भोलि सहकार्यको बाटो नै बन्द होस्। यहीँनेर यो मुलुकलाई राजनीतिक दलका नेताहरूको ‘सामूहिक बुद्धिमत्ता’ जरुरी पर्छ। त्यसले मात्र छरितो सरकारको गठन, दलहरूका घोषणापत्रबाट झिकेर न्यूनतम साझा कार्यक्रमको विकास, संविधानमा आवश्यक सुधार, सुशासन, विकासको ‘डेलिभरी’ जस्ता कामहरू सम्भव हुन्छ। सबै दलका नेताहरूमा सद्बुद्धि आओस्।

@cris_pokharel

लेखक
प्रा. कृष्ण पोखरेल

प्राध्यापक पोखरेल राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?