News Summary
Generated by OK AI. Editorially reviewed.- महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति २०८२ को प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएकी छिन्।
काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति २०८२ को प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सबैलाई निर्देशन दिएकी छिन् । बुधबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति २०८२ प्रवोधिकरण कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा मन्त्री श्रेष्ठले नीति बनाउन मन्त्रालय र सम्बन्धित निकायहरूले महत्वपूर्ण भूमिका खेलेको बताइन् ।
वर्तमान सरकारले प्राथमिकता दिएर नै यस नीतिलाई छिटो स्वीकृत गरेको उनले बताइन् । मानव बेचबिखन विरूद्ध सबै मिलेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् । नीति आइसकेपछि अब यसलाई कार्यान्वयनको पाटोमा लैजाने मन्त्री श्रेष्ठले जोड दिइन् ।
सीमित स्रोत र प्रक्रियागत जटिलताका कारण मानव बेचबिखनमा परेका व्यक्तिको उद्धारमा कठिनाइ हुने गरेको उनले सुनाइन् । उद्धार भएका महिलाहरूले उजुरी गर्न हिचकिचाउने तथा उजुरी गरिसकेपछि पनि सम्पर्कमा नआउने अवस्था रहेको भन्दै यसमा सबैले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ । मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति २०८२ मा धेरै विषय समेटिएकाले यसको सफल कार्यान्वयनका लागि उनले जोड दिइन् ।
मन्त्रालयकी सचिव राधिका अर्यालले नीतिमा धेरै कुराहरू स्पष्ट रुपमा रहेको र यसलाई कार्यान्वयन गर्नका लागि ऐन कानून रहेकाले काम गर्न केहीले पनि नरोकिएको बताइन् । नीतिमा समावेश कुराहरूलाई प्रभावकारी र नतिजा आउनेगरी काम गर्न समेत उनले निर्देशन दिइन् । ‘हामीलाई छैन भन्ने लाग्छ । तर यहाँ भएका साना कुराबाट सुरूवात गर्ने हो भने त्यसले नभएको कुरालाई पनि सम्बोधन गर्छ । यसमा ध्यान दिनुहोला’ उनले भनिन् ।
नीतिमा लेखिएका कानून संशोधन र कारबाहीको काम गर्नबाहेक अरू सबै काम सरकारी तथा गैरसरकारी निकायहरूले गर्न सक्ने र त्यसो भएमा नीति सफल हुने उनले बताइन् । मानव बेचबिखन कम गर्न सकिएमा त्यसले अन्तराष्ट्रिय समूदायले समेत राम्रो मान्ने भएकाले यसलाई सोही अनुसार संवेदनशील भएर काम गर्नुपर्नेमा उनले जोड दिइन् ।
सहसचिव आभा श्रेष्ठले नीतिबारे थप जानकारी दिने उद्देश्यले कार्यक्रम राखिएको बताइन् । सबै पक्षसँग समन्वय गरेर नीति तयार पारिएको उनले बताइन् । साथै सचिवको संयोजकत्वमा मस्यौदा लेखन कार्य गरिएको र त्यसलाई पारित गरेर अगाडि बढाइएको उनले जानकारी दिइन् । श्रेष्ठले यसअघि २०५२ को नीति रहेकोमा अब त्यसले मात्र प्रयाप्त नभएकाले नयाँ नीति आवश्यक भएको बताइन् । यसले ऐन कानून संशोधन गर्न पनि सहयोगी हुने उनको भनाइ छ ।
कार्यक्रममा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति, २०८२ को प्रस्तुतीकरण समेत गरिएको थियो । प्रस्तुतीकरणमा वसन्तराज पन्थीले सहजीकरण गरेका थिए । यसअघि चेलिबेटी र बालबालिका बेचबिखन तथा देहब्यापार विरुद्धको राष्ट्रिय नीति, २०५२ रहेको र यो निकै अप्रयाप्त भएकाले नयाँ नीति आवश्यक भएको उनले बताए ।
यस क्षेत्रमा धेरै समस्या रहेको, स्वदेशफीर्ती देखि उद्दारसम्म समस्या रहेको, यौन तथा श्रम शोषण र दुर्व्यवहारका घटनाहरू रहिरहेको समेत समस्यामा उल्लेख गरिएको छ । प्रदेश र स्थानीय तहमा यसलाई नियन्त्रण गर्ने संयन्त्र नहुँदा समस्या भइरहेको मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा एटवीनका संस्थापक हिरा दाहालले विद्यालयस्तरीय सचेतना कार्यक्रममा जोड दिनुपर्ने उल्लेख गरिन् । बसाईंसराई तथा परिवारले ध्यान दिन नसकेका कारण पनि अहिले मानव बेचबिखन भइरहेको बताइन् । स्थानीय भाषामा सूचना सम्प्रेषण गर्नुपर्नेमा उनको जोड थियो ।
उनले नागरिक समाज र निकायहरूले न्यायमा पहुँच पुर्याउन तथा प्रतिनिधित्वका लागि काम गर्न सक्ने बताइन् ।
प्रतिक्रिया 4