+
+
Shares

मतदाता नामावलीमा एकै व्यक्तिको नाम दुई ठाउँमा देखिए कुन आधिकारिक ?

‘मतदाता नामावलीमा आफ्नो नाम दुई ठाउँमा देखिएको छ । कुनलाई आधिकारिक मान्ने होला ?’ भन्दै मतदाताले निर्वाचन आयोगको कल सेन्टरमा जिज्ञासा राखेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले मतदाता नामावलीमा एकै व्यक्तिको नाम दुई ठाउँमा देखिन सक्ने प्राविधिक कारण स्वीकार गरेको छ।
  • मतदाताले स्थायी ठेगाना प्रमाणित गर्ने कागजात लिएर मात्र मतदान गर्न पाउने आयोगले बताएको छ।
  • निर्वाचन सकिएपछि मतदाताले नामावलीमा त्रुटी सच्याउन निवेदन दिन सक्ने व्यवस्था आयोगले गरेको छ।

१३ फागुन, काठमाडौं । मतदाता नामावलीमा एकै मतदाताको नाम दुई ठाउँमा देखिएको गुनासो निर्वाचन आयोगले प्राप्त गरेको छ । ‘मतदाता नामावलीमा आफ्नो नाम दुई ठाउँमा देखिएको छ । कुनलाई आधिकारिक मान्ने होला ?’ भन्दै मतदाताले निर्वाचन आयोगको कल सेन्टरमा जिज्ञासा राखेका हुन् ।

मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा तथा प्रश्नहरूको सुनुवाइका लागि निर्वाचन आयोगमा कल सेन्टर छ । निर्वाचनसँग सम्बन्धित विषयमा अलमल भए वा कुनै प्रश्न रहे निःशुल्क टोल–फ्री नम्बर ११०२ मा कल गर्न सकिन्छ ।

माघ ५ गते स्थापना भएको कल सेन्टरमा मतदाताले दिनहुँ जिज्ञासा तथा प्रश्नहरू गरिरहेका छन् । यस्तैमा मतदाता नामावलीमा आफ्नो नाम दुई ठाउँमा देखिएको भन्दै कुनलाई आधिकारिक मान्ने भन्ने प्रश्न मतदाताले राखेका हुन् ।

जवाफमा निर्वाचन आयोगले दुई ठाउँमा एकै व्यक्तिको नाम रहन सक्ने विषयलाई नकारेको छैन ।

‘दुई ठाउँबाट नाम दर्ता गर्नाले वा अन्य कुनै प्राविधिक कारणले गर्दा दुई ठाउँमा देखिएको हुन सक्छ’ आयोगले भनेको छ, ‘यस्तो देखिए पनि स्थायी ठेगाना जहाँ हो त्यहीँबाट मात्र मतदान गर्न पाउनुहुन्छ । मतदान गर्न जाँदा आफू त्यहाँको स्थायी बासिन्दा भएको प्रमाणित गर्ने कागजात, जस्तै नागरिकता, जग्गा धनी प्रमाणपुर्जा, बसाइँसराइ प्रमाणपत्र साथमा लगेर जानुहोला ।’

निर्वाचन सकिएपछि यस्तो त्रुटी सच्याउनका लागि निवेदन दिनसमेत आयोगले भनेको छ ।

आयोगले दुई ठाउँमा आफ्नो नाम रहेको बताउने मतदातालाई आग्रह गरेको छ, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्पन्न भएपश्चात् आफ्नो नामावली एउटा मात्र स्थानमा कायम गर्नको लागि प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा वा निर्वाचन आयोगको वेब पेजमार्फत् आवेदन पेस गर्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?