फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)बाट प्युठानका उम्मेदवार सूर्य थापाले जुत्ताको माला लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
तर, हाम्रो तथ्य जाँचले उक्त फोटो डिजिटल रूपमा सम्पादन गरिएको र वास्तविक नभएको पुष्टि गरेको छ।
के हो दाबी?
अर्जुन छत्री (Arjun Chattri) नामक फेसबुक प्रयोगकर्ताले मंगलबार (फेब्रुअरी २४, २०२५) एउटा फोटो पोस्ट गरेका छन्। उक्त फोटोमा सूर्य थापाले जुत्ताको माला लगाएको देखिन्छ।
उक्त पोस्ट हजारौँ रियाक्सन, सयौँ कमेन्ट र उल्लेखनीय शेयरसहित भाइरल भएको देखिन्छ।
हेर्नुहोस्, स्क्रिनसट :

उक्त फेसबुक पोस्टको लिंक र अर्काइभ लिंक
के हो तथ्य ?
यो दाबी जाँच गर्न हामीले निम्न चरण अपनायौँ:
- भाइरल फोटो डाउनलोड गरियो।
- गुगल रिभर्स इमेज सर्च प्रयोग गरेर फोटोको स्रोत खोजियो।
- फोटोका अन्य संस्करणहरू खोजी गरियो।
- मूल फोटो र भाइरल फोटो तुलना गरियो।
सार्वजनिक रूपमा उपलब्ध आधिकारिक फेसबुक पोस्टहरू जाँच गरियो ।
जाँचका क्रममा सूर्य थापाले जुत्ताको माला लगाएको सम्बन्धी कुनै विश्वसनीय समाचार वा प्रमाण फेला परेन ।
तर, खोजीका क्रममा सोही फोटोको मूल संस्करण फेला पर्यो। थापाले आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा यो फोटो अपलोड गरेका छन्। त्यहाँ फोटो स्वर्गद्वारी नगरपालिका–२, अढाइबासमा भएको चुनावी भेटघाटको क्रममा खिचिएको उल्लेख छ ।

फेब्रुअरी १० मा साँझ ६ः०१ बजे गरिएको पोस्टमा उनले लेखेका छन्: ‘स्वर्गद्वारी नगरपालिका–२, अढाइबासमा चुनावी भेटघाट । लालुपातेमाथि धुपीको माला अझ सुन्दर र मनमोहक’
हेर्नुहोस्, स्क्रिन सट :

सूर्य थापाको फेसबुक पोस्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
मूल फोटोमा उनी धुपीको माला लगाएको अवस्थामा देखिन्छन् ।
तर भाइरल संस्करणमा उक्त मालालाई डिजिटल रूपमा परिमार्जन गरेर जुत्ताको माला जस्तो देखिने बनाइएको छ। तुलना गर्दा माला भागमा पिक्सेल असमानता, प्रकाश–छायाको असन्तुलन र किनाराहरू कृत्रिम रूपमा थपिएको संकेत देखिन्छ ।

निर्वाचनको सन्दर्भमा यस्ता डिजिटल रूपमा सम्पादित सामग्रीहरूले उम्मेदवारको छवि बिगार्न सक्ने, मतदातामा भ्रम सिर्जना गर्न सक्ने भएकोले हामीले यसको तथ्य जाँच गरेका हौँ ।
तथ्य जाँच
दाबी : नेकपा (एमाले)का नेता सूर्य थापाले जुत्ताको माला लगाएको भाइरल फोटो।
दाबीकर्ता : अर्जुन छत्री नामक फेसबुक प्रयोगकर्ता।
तथ्य : भ्रामक। भाइरल फोटो वास्तविक होइन। चुनावी भेटघाटको क्रममा खिचिएको मूल फोटोलाई डिजिटल रूपमा सम्पादन गरेर जुत्ताको माला जस्तो देखिने बनाइएको हाम्रो तथ्य जाँचबाट पुष्टि हुन्छ।
अनलाइनखबर र नेपालफ्याक्टचेकको सहकार्य
(सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ।)
प्रतिक्रिया 4