+
+
Shares

नेता बाँड्दैछन् बालीदेखि स्वीट्जरल्यान्डसम्मका सपना, के छ वाचापत्रमा ?

‘देशलाई स्वीट्जरल्यान्ड बनाउनुपर्छ भन्छन् । स्वीट्जरल्यान्डकाे बाउ बडिमालिका यहीँ छ, किन बनाउनुपर्‍यो ?,’ बालेनले भनेका थिए । त्यस्तै कांग्रेसले वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ फागुन १४ गते २१:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहले सुदूरपश्चिम र कर्णालीमा नयाँ पर्यटकीय गन्तव्य स्थापना गर्ने र नेपाललाई विश्वकै प्रमुख पर्वतारोहण केन्द्र बनाउने योजना प्रस्तुत गरेका छन्।
  • नेपाली कांग्रेसले वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आध्यात्मिक राजधानीका रूपमा नेपाललाई ब्रान्डिङ गर्ने र सांस्कृतिक अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ।
  • एमालेले आगामी पाँच वर्षमा पर्यटक संख्या दोब्बर पार्ने, सुरक्षामा जोड दिने र नयाँ गन्तव्य विकास गर्ने योजना सार्वजनिक गरेको छ।

१४ फागुन, काठमाडौं । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले विभिन्न प्रदेश पुगेर स्थानीय पर्यटकीय गन्तव्यलाई  विश्वचर्चित गन्तव्यसँग तुलना गरी सपना बाँडिरहेका छन् ।

उनका सपना सामाजिक सञ्जालमा भाइरल पनि बनेका छन् । फागुन पहिलो साता धनगढी पुगेर बालेनले बडिमालिका, रामारोशन, खप्तड ‘स्वीट्जरल्यान्डको बाउ’ भएको अभिव्यक्ति दिए ।

‘देशलाई स्वीट्जरल्यान्ड बनाउनुपर्छ भन्छन्, स्वीट्जरल्यान्डकाे बाउ बडिमालिका यहीँ छ, किन बनाउनुपर्‍यो ?, रामारोशन यहीँ छ, खप्तड राष्ट्रिय निकुञ्ज यहीँ छ, किन बनाउनुपर्‍यो स्वीट्जरल्यान्ड ?,’ उनले भनेका थिए, ‘माल भाको चाल नपाको पर्‍यौं, भएको चिज देखाउनै सकेको छैन, सुदूरपश्चिमलाई जोड्नै सकेको छैन ।’

उता, मंगलबार मात्र सुनसरी इटहरीमा आयोजित रास्वपाको चुनावी सभामा उनले पर्यटनमा अर्को सपना देखाए । उनले इन्डोनेसियाको बाली र माल्दिभ्स जस्तै नेपालको बराह क्षेत्रलाई विकास गर्न सकिने बताए ।

उनले भने, ‘विश्वको पहिलो तीर्थस्थल कुन हो, थाहा छ तपाईंहरूलाई ?, हाम्रै बराह क्षेत्र, यो हामी नेपालीलाई पनि कतिलाई थाहा छैन, त्यो थाहा दिन चाहन्छौं, त्यो थाहा दिने मान्छे बनौैं, त्यो थाहा दिन सिस्टम बनाउन चाहन्छौं,’ उनले थपे, ‘बराहको कोस्टल क्षेत्र इन्डोनेसियाको बाली, मालदिभ्स जस्तो विकास गर्न सकिन्छ, त्यस्तो विकास गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।’

भावी प्रधानमन्त्रीका रूपमा रास्वपाले अगाडि सारेका बालेनले प्रतिनिधिमूलक रुपमा रहेर गरेका यी वाचा र सपना रास्वपाले कसरी पूरा गर्दैछ त ? रास्वपाले कर्णाली र सुदूरपश्चिमलाई विशेष ध्यान दिई नयाँ पर्यटकीय गन्तव्य स्थापित गर्ने वाचा गरेको छ ।

घोषणापत्रमा रास्वपाले नेपाल भित्रने पर्यटक संख्या र उनीहरूले नेपालमा प्रतिदिन गर्ने खर्च ५ वर्षभित्र दोब्बर बनाउने लक्ष्य सार्वजनिक गरेको छ ।

पदयात्रामा केन्द्रित पर्यटनलाई विविधीकरण गर्न प्रकृति, संस्कृति र समुदाय जोड्दै नयाँ इकोसिस्टम स्थापनामा ध्यान दिने वाचा रास्वपाले गरेको छ । सडकले विगतका पदमार्ग ध्वस्त पारेका ठाउँमा वैकल्पिक पदमार्ग बनाउन बजेट छुट्याउने वाचा उसकाे छ ।

त्यस्तै पर्वतीय पर्यटनमा व्यापक सुधार र सुरक्षाको प्रत्याभूति दिने भनेको छ । हिमाललाई ६ हजार मिटरदेखि ८ हजार मिटरसम्म तीन श्रेणीमा विभाजन गर्ने, ८ हजारमाथिका हिमाल चढ्न तलको उचाइका हिमाल चढेको अनुभव अनिवार्य गर्ने भनिएको छ ।

नेपालको भौगोलिक लाभ उपयोग गर्दै भारत–नेपाल सीमाबाट १.५ घण्टाको दुरीमा रहेका पहाडी क्षेत्रमा हिल स्टेसन विकास नीति कार्यान्वयन गर्ने भनिएको छ ।

पशुपतिनाथ र लुम्बिनी बाहेक काठमाडौं उपत्यकाको संस्कृति तथा वास्तुकला, देवघाटदेखि मुक्तिनाथसम्मको हिन्दु–बौद्ध महिमा र राम–जानकी विवाहको ऐतिहासिक भूमि जनकपुरलाई धार्मिक–सांस्कृतिक पर्यटन केन्द्रका रुपमा प्रवर्द्धन गर्न विशेष पूर्वाधार बनाउने वाचा गरिएको छ ।

यसबाहेक अन्तर्राष्ट्रिय ब्रान्डिङ नपुगेका सुदूरपश्चिम, कर्णाली, मधेस र कोशीका प्रसिद्ध स्थान र सम्पदा प्रवर्द्धनमा जोड दिने समेत रास्वपाको घोषणापत्रमा उल्लेख छ ।

नेपाल पर्यटन बोर्ड पुनर्गठन हुने र नेपाललाई विश्वकै प्रमुख पर्वतारोहण प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने रास्वपाले भनेको छ ।

नेपाल वायुसेवा निगम व्यवस्थापनमा करारका माध्यमबाट निजी क्षेत्र भित्र्याउने र थप जहाज ल्याउने वाचा रास्वपाको छ । पोखरा–भैरहवा विमानस्थल पूर्ण सञ्चालनमा ल्याउने, काठमाडौं विमानस्थलको नयाँ टर्मिनल भवन द्रुत गतिमा बनाउने र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको योजना समेत रास्वपाले वाचापत्रमा राखेको छ ।

कांग्रेसको लक्ष्य वार्षिक ३० लाख पर्यटक

नेपाली कांग्रेसले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको आधार बनाउने भन्दै वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ ।

नेपाललाई आध्यात्मिक राजधानीका रूपमा ब्रान्डिङ गर्ने योजना बनाइएको छ । कांग्रेसले सांस्कृतिक र आध्यात्मिक अनुसन्धानका लागि काठमाडौं, पोखरा, लुम्बिनी, जनकपुर, मुक्तिनाथ र कर्णालीमा अन्तर्राष्ट्रिय अध्ययन केन्द्र स्थापना गर्ने भनेको छ ।

जनकपुर–मिथिला, लुम्बिनी, काठमाडौं उपत्यका, हिमाली, किराँत, कर्णाली तथा सुदूरपश्चिमका संस्कृति अनुसार क्षेत्रीय सांस्कृतिक राजधानी र पर्यटन सर्किट निर्माण गर्ने घोषणा गरिएको छ ।

‘जनकपुर–लुम्बिनी–काठमाडौं’ आध्यात्मिक र ‘बुद्ध–टु–शिव’ जस्ता डिजिटल करिडोर लगायत मुक्तिनाथ, जनकपुर र लुम्बिनीलाई हवाई तथा सडक सञ्जालले जोडी एकीकृत पर्यटकीय सर्किट बनाउने भनिएको छ ।

प्रदेशमा विषयगत पर्यटकीय गन्तव्यहरू बनाउँदै सम्पदा जीर्णोद्वारमा मौलिक शैली अनिवार्य गर्ने घोषणा गरिएको छ । कला–संस्कृतिको डिजिटल ब्रान्डिङमा युवा प्रोत्साहन गर्न विशेष कोष स्थापना गर्ने भनिएको छ ।

सुरक्षित र किफायती हवाई सेवा उपलब्ध गराइ नेपाललाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न नेपाल आउने विदेशी पर्यटक र आन्तरिक यात्रुका लागि हवाई भाडा सस्तो बनाउने भनिएको छ । एयर ट्राफिक व्यवस्थापन चुस्त बनाएर आकाशमा हुने जहाज होल्डिङ समय घटाउने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने भनिएको छ । पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा चलाउन र विश्वका प्रमुख सहरबाट सिधा उडान सम्पर्क गर्न उच्चस्तरीय कूटनीतिक पहल गर्ने वाचा गरिएको छ ।

पर्यटन क्षेत्रको हिस्सा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा १५ देखि २० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । नेपाल वायुसेवा निगमको ६ महिना भित्र व्यवस्थापन सुदृढीकरण मार्फत ‘जनताको ध्वजावाहक’ मा रूपान्तरण गर्ने कांग्रेसको योजना छ । पर्वतारोहण रोयल्टीको ३० प्रतिशत रकम सिधै हिमताल संरक्षण र स्थानीय जलवायु अनुकूलनमा खर्च गर्ने वाचा गरिएको छ ।

एमालेको लक्ष्य : पर्यटक वृद्धि, लामो बसाइ–गाउँ सहरमा काम र कमाइ

एमालेले नेपाललाई रहस्यमय हिमाली आश्चर्ययजनक प्रकृृति, धार्मिक र सांंस्कृृतिक विशेषता, विशिष्ट संस्कृति र असाधारण साहसिक पर्ययटनको अनुभव दिने पर्यटकीय गन्तव्य बनाउने भनेको छ ।

पूर्वाधार विकास, बजार प्रवर्द्धन, हवाई सेवा विस्तार, आन्तरिक सुरक्षा र नयाँ गन्तव्य विकास मार्फत आगामी पाँँच वर्षमा पर्यटक आगमन दोब्बर बनाउने एमालेको घोषणा छ ।

एमालेले पर्यटक सुरक्षालाई पहिलो प्रााथमिकता दिने भनेको छ । नेपालसम्मको अन्तर्राष्ट्रिय उडानलाई सुविधाजनक बनाउने एमालेको वाचा छ । भिसा र आन्तरिक उडानको भाडादरमा पुनरावलोकन गर्ने भनिएको छ । लक्जरी रिसोर्ट, इकोेलज, वेलनेस सेन्टर निर्माण र सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन नीति ल्याउने भनिएको छ ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाललाई आकर्षक, सुरक्षित र पहुँचयोग्य पर्यटन गन्तव्य बनाइने भन्दै घोषणापत्र ल्याएको छ ।

हरेक जिल्ला/नगरपालिकामा टुरिज्म प्रोफाइल तयार गरिने नेकपाको योजना छ । भैरहवा र पोखरा विमानस्थलबाट उडान विस्तार तथा नेपाल एयरलाइन्सको प्राविधिक सुधारको योजना नेकपाले ल्याएको छ । नेपालमा १५ भन्दा धेरै हिल स्टेसन बनाएर भारतीय पर्यटक आकर्षण गर्ने भनिएको छ ।

कम चिनिएका हिमाली क्षेत्रका हिमाल खुला गरी आरोहण प्रवर्द्धनको योजना राखिएको छ । खप्तड, बडिमालिका, पाथीभरा लगायत हरेक प्रदेशका विशिष्ट पर्यटकीय क्षेत्रको विकासमा विशेष पहल गर्ने समेत नेकपाले भनेको छ ।

पर्यटनमा सार्वजनिक–निजी–साझेदारीका रूपमा लगानी भित्र्याउने भनिएको छ । आक्रामक पर्यटकीय प्रवर्द्धन मार्फत संख्या वृद्धिको योजना राखिएको छ । नेकपाले समेत निजगढ विमानस्थल निर्माण गर्ने विषयलाई प्राथमिकता दिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पर्यटनलाई वैदेशिक मुद्रा आर्जन र रोजगारी सिर्जनाको एक अंगका रूपमा संरक्षण र विकास गर्ने भनेको छ । लोकप्रिय पदमार्ग विस्थापित हुँदै गएको भन्दै वैकल्पिक पदमार्ग बनाउने राप्रपाको योजना छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?