+
+
Shares

‘द केरल स्टोरी २’ प्रदर्शनमा अदालतको रोक

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते २०:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केरल उच्च अदालतले फिल्म ‘द केरल स्टोरी २’ को प्रदर्शनमा रोक लगाउँदै केन्द्रीय फिल्म प्रमाणन बोर्डलाई पुनः समीक्षा गर्न निर्देशन दिएको छ।
  • निवेदकहरूले फिल्ममा जबरजस्ती धर्म परिवर्तन र आतंकवाद देखाइएको भन्दै केरलको छवि बिग्रने चिन्ता व्यक्त गरेका छन्।
  • निर्माता विपुल शाहले फिल्मको शीर्षक परिवर्तन प्रस्तावको विरोध गर्दै कथामा तीन राज्य समेटिएको र केरललाई गलत ढंगले लक्षित नगरेको स्पष्ट पारेका छन्।

मुम्बई । भारतको केरल उच्च अदालतले फिल्म ‘द केरल स्टोरी २’ को प्रदर्शनमा रोक लगाएको छ । सेन्सर प्रमाणपत्रबारे उठेका प्रश्नपछि अदालतले केन्द्रीय फिल्म प्रमाणन बोर्डलाई फिल्म पुनः समीक्षा गर्न निर्देशन दिएको हो ।

यो फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा थियो । केही व्यक्तिले अदालतमा निवेदन दिँदै फिल्मको नाम र कथावस्तुले केरलको छवि बिगार्न सक्ने चिन्ता व्यक्त गरेका थिए ।

निवेदकहरूको भनाइमा फिल्ममा जबरजस्ती धर्म परिवर्तन र आतंकवादजस्ता विषय देखाइएको छ, जसले राज्यबारे गलत सन्देश जान सक्छ र मानिसको भावना उत्तेजित हुन सक्छ ।

अदालतले बुधबार फिल्म हेरेपछि मात्र निर्णय गर्ने बताएको थियो । तर निर्माण पक्षले फिल्म प्रदर्शन गर्न नमानेको जनाइएको छ । सुनुवाइका क्रममा अदालतले केरलमा सामाजिक सद्भाव रहेको उल्लेख गर्दै फिल्ममा भने यस्ता घटना राज्यभर भइरहेजस्तो देखाइएको टिप्पणी गरेको थियो ।

फिल्म निर्माताको तर्फबाट बहस गर्दै वकिलले यो मुद्दा जनहित निवेदनजस्तो देखिएको र निवेदकले आफ्नो व्यक्तिगत क्षति स्पष्ट रूपमा देखाउन नसकेको बताएका छन् ।

यता निवेदक पक्षले भने धेरै मानिसमा एउटै किसिमको चिन्ता रहेको अवस्थामा उनीहरूको आवाज पनि सुन्नुपर्ने तर्क गरेका छन् ।

यसबीच टीजरलाई लिएर पनि अदालतमा छलफल भएको थियो । सेन्सर बोर्डले टीजर वा ट्रेलर आफूले पास नगरेको भन्दै सामाजिक सञ्जालमा राखिएको सामग्रीका लागि आफू जिम्मेवार नभएको स्पष्ट पारेको छ ।

निर्माता विपुल शाहले बुधबारको सुनुवाइका क्रममा फिल्मको शीर्षक परिवर्तन गर्ने प्रस्तावको पनि विरोध गरेका थिए । उनका अनुसार फिल्ममा तीन वटा राज्यका कथा समेटिएका छन्, जसमा केरल पनि पर्दछ ।

उनले शीर्षकमा राखिएको “गोज बियोन्ड” शब्दले नै कथा केवल केरलमै सीमित नभई त्यसभन्दा बाहिरका घटनासमेत समेटिएको संकेत गर्ने बताएका छन् ।

निर्माताले शीर्षकको पक्षमा तर्क गर्दै फिल्मले केरललाई गलत ढंगले लक्षित नगरेको पनि स्पष्ट पारेका छन् । अदालत अहिले तीन वटा निवेदनमाथि सुनुवाइ गरिरहेको छ, जुन तीन फरक व्यक्तिहरूले दर्ता गरेका हुन् ।

यी निवेदनमा प्रदर्शन रोक्न र केन्द्रीय फिल्म प्रमाणन बोर्डले दिएको प्रमाणपत्र खारेज गर्न माग गरिएको छ । केही समयअघि सार्वजनिक गरिएको ट्रेलरमा मुख्य रूपमा धर्म परिवर्तन, ‘लभ जिहाद’ र आतंकवादजस्ता विषयलाई उठाइएको छ ।

फिल्ममा विभिन्न राज्यका तीन युवतीको कथा देखाइएको छ, तर शीर्षकमा भने केरल उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?