News Summary
Generated by OK AI. Editorially reviewed.- धनगढीको एसपीए कलेजले टी–२० क्रिकेट विश्वकपमा खेलेका लोकेश बम र शेर मल्ललाई नगदसहित सम्मान गरेको छ।
- लोकेश बमले इंग्ल्यान्डविरुद्ध नेपाललाई जितको नजिक पुर्याएका थिए भने शेर मल्लले पहिलो बलमै इंग्ल्यान्डका फिल साल्टको विकेट लिएका थिए।
- एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले खेलाडीलाई दोसल्लासहित सम्मान गर्दै उनीहरूको समर्पणले राष्ट्रलाई गौरव दिलाएको उल्लेख गरे।
१५ फागुन, धनगढी । भारतको मुम्बईमा आइसीसी टी–२० क्रिकेट विश्वकपमा नेपाली क्रिकेट टोलीबाट खेलेका खेलाडीलाई धनगढीको एसपीए कलेजले नगदसहित सम्मान गरेको छ ।
एसपीए कलेजका विद्यार्थीसमेत रहेका लोकेश बम तथा ब्रान्ड एम्बेस्डर शेर मल्ललाई कलेजले जनही एक लाख एक हजार नगदसहित ‘एसपीए सम्मान’ प्रदान गरेको हो । कलेजको २७औं वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार कलेजमा आयोजित एक समारोहकाबीच दुवै खेलाडीलाई सम्मान गरिएको हो ।
जारी विश्वकपमा दुबै खेलाडीको प्रदर्शन उत्कृष्ट थियो । इंग्ल्यान्डविरूद्ध लोकेशले २० बलमा ४ चौका र २ छक्कासहितको अविजित ३९ रन बनाएका थिए । उनले शानदार ब्याटिङ गर्दे नेपाललाई जित नजिक पुयाएपनि फिनसिङ गर्न भने सकेनन् ।
यस्तै आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलको पहिलो बलमा नै शेर मल्लले इंग्ल्यान्डका ओपनर फिल साल्टको विकेट लिएका थिए ।
शिक्षाविद् डा हेमराज पन्तसहित कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले खेलाडीलाई दोसल्लासहित विशेष सम्मान व्यक्त गरेका थिए ।
‘तपाईंको अटल समर्पण, निरन्तर मेहनत, अनुशासन र निरन्तरताले राष्ट्रलाई अपार गौरव दिलाएको छ’ सम्मान पत्रमा लेखिएको छ, ‘ब्रान्ड एम्बासडर तथा धनगढीका गर्विला प्रतिनिधिका रूपमा तपाईंले “कनेक्टिङ धनगढी टू द वर्ल्ड” भन्ने हाम्रो दृष्टिकोणलाई जीवन्त रूपमा आत्मसात गर्नुभएकोमा हार्दिक सम्मान व्यक्त गर्दछौं।’
‘तपाईंका उपलब्धि र प्रेरणादायी यात्राले नेपाली क्रिकेट मात्र होइन, असंख्य युवा खेलाडीहरूको सपना र आकांक्षालाई समेत उच्च बनाएको छ’ सम्मानपत्रमा उल्लेख छ, ‘राष्ट्रको झण्डा गौरव र मर्यादासाथ विश्वसामु फहराउँदै नयाँ पुस्तालाई ठूलो सपना देख्न र विश्वस्तरमा सफलता हासिल गर्न प्रेरित गर्नुभएकोमा हार्दिक सम्मान व्यक्त गर्दछौं ।’
लोकेश बम हाल काठमाडौंमा जय ट्रफी खेलिरहेका कारण उनको सम्मानपत्र बमकी आमा शान्तादेवी बमले ग्रहण गरिन् । ‛लोकेश मेरो मात्र छोरा होइन हजुरहरूको पनि छोरा हो । अहिले मलाई गर्व लाग्छ मेरो छोरा यहाँ पुग्यो भनेर । हामीले इन्जिनियर पढ भनेको हो तर मलाई एसपीएमा भर्ना गरिदिनुस भनेर धेरै गर्यो । र आफ्नै ढिपीले यहाँ भर्ना भयो । यहाँहरू सबैको आशिर्वाद लाग्यो । मेरो छोरो यहाँसमम्म आइपुग्यो । सबैलाई धन्यवाद दिन चाहान्छु’ सम्मानपत्र लिँदै शान्तादेवीले भनिन् ।
यस्तै शेर मल्लले सम्मान ग्रहणपछि भने, ‛एकदवै गर्व लागिरहेको छ । सुवाश सरले लगनशिल र अनुशासन रुपमा लगातार अघि बढ्न सकिन्छ भन्ने सम्झाइरहनु हुन्थ्यो । त्यही कुरा फलो गर्दै अनुशासन र कडा मिहिनेतका साथ आज म यहाँसम्म पुगेको छु र उपस्थित विद्यार्थीहरूलाई मिहिनेत र समर्पण नछोड्न अनुरोध गर्दछु।’
एसपीए कलेजमा दुई दर्जनबढी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय क्रिकेट खेलाडीहरू आवद्ध छन् । लोकेश सहित यू–१९ टोलीका नारायण जोशी, बसन्त कार्की, सिनियर महिला राष्ट्रिय टोलीका कविता कुँवर, इश्वरी विष्ट, यू–१९ महिलातर्फ राष्ट्रिय टोलीका लक्ष्मी साउद, यशोदा विष्ट, सुमन विष्ट, मनिषा चौधरी र मनिषा उपाध्यायजस्ता होनहार खेलाडी एसपीएमा अध्ययनरत् छन् ।
एसपीए कलेजले आफ्नो विशिष्ट प्रतिभामार्फत समाज र देशलाई योगदान पुर्याएका व्यक्तित्व्लाई एसपीए सम्मान प्रदान गर्दै आएको छ । यसअघि विश्व प्रसिद्ध पाककलाका माहिर सेफ सन्तोष साहलाई, तत्कालिन खल्ती मोबाइल वालेटका संस्थापक अमित अग्रवाललाई पनि एसपीए सम्मानबाट सम्मानित गरिसकिएको छ ।


प्रतिक्रिया 4