+
+
Shares

हिलारीको बयान : एपस्टिनका अपराधबारे केही जानकारी थिएन

एपस्टिनसँगको सम्बन्धका बारेमा क्लिन्टन दम्पती र ट्रम्प दुवैले कुनै पनि गलत कार्य गरेको कुरालाई अस्वीकार गर्दै आएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १४:५१

१५ फागुन, काठमाडौं । हिलारी क्लिन्टनले संसदीय समितिसमक्ष आफूलाई जेफ्री एपस्टिनका अपराधहरूका बारेमा ‘कुनै जानकारी नभएको’ जिकिर गरेकी छन् ।

यसका साथै, उनले दिवङ्गत यौन अपराधी एपस्टिनसँगको विगतको सम्बन्धबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि शपथ खुवाएर सोधपुछ गर्न सांसदहरूसँग माग गरेकी छिन्।

एपस्टिनका बारेमा अनुसन्धान गरिरहेको संसदीय समितिमा घण्टौँसम्म गोप्य रूपमा बयान दिएपछि पूर्व अमेरिकी विदेशमन्त्रीले ‘सत्यतथ्य बाहिर आएको हेर्न’ चाहेको बताएकी छन् ।

उनका पति तथा पूर्वराष्ट्रपति बिल क्लिन्टनले भने आगामी शुक्रबार आफ्नो बयान दिने कार्यसूची रहेको छ। दम्पतीले उक्त समितिको आदेशलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएका थिए, तर संसद्को मानहानिसम्बन्धी कारबाही चल्ने सम्भावना देखिएपछि उनीहरू बयान दिन सहमत भएका हुन्।

एपस्टिनसँगको सम्बन्धका बारेमा क्लिन्टन दम्पती र ट्रम्प दुवैले कुनै पनि गलत कार्य गरेको कुरालाई अस्वीकार गर्दै आएका छन्।

बिहीबार ‘हाउस ओभरसाइट’ समितिका सदस्यहरूसँग ६ घण्टा बिताएपछि क्लिन्टनले पत्रकारहरूसँग कुरा गर्दै आफ्नो बयान सार्वजनिक नगरिएकोमा निराशा व्यक्त गरेकी छिन्। उनले उक्त बयान सार्वजनिक भएको भए आफूले यहाँ आएर यसको व्याख्या गरिरहनु नपर्ने कुरा पनि उल्लेख गरिन्।

उनले अनुसन्धानको प्रकृतिबारे महत्त्वपूर्ण प्रश्नहरू उठाएकोमा र आफूले खोज्नुपर्ने ठानेका विषयहरूलाई ध्यानपूर्वक सुनेकोमा अध्यक्ष जेम्स कोमरको प्रशंसा पनि गरेकी छिन्।

कोमरका बारेमा कुरा गर्दै उनले भनिन्, ‘मैले त्यसको कदर गरेकी छु। म सत्य बाहिर आएको हेर्न चाहन्छु, त्यसैले निकै लामो र दोहोरिएका प्रश्नहरू भएको बयानको अन्त्य यसरी हुनु आश्वस्नीय थियो।’

क्लिन्टनले समितिका रिपब्लिकन सदस्यहरूको आलोचना गर्दै उनीहरूले बयान लिएका अन्य कुनै पनि व्यक्तिलाई एपस्टिन वा उनको सजाय भोगेकी सहयोगी घिसलेन म्याक्सवेलका बारेमा सोधपुछ नगरेकोमा आपत्ति जनाइन्।

उनले राष्ट्रपति पदबाट बाहिरिएपछि आफ्नो परोपकारी कार्यको सिलसिलामा एपस्टिनसँग सम्पर्क भएको बताएका छन्। सन् २०१९ मा न्युयोर्क सहरको जेलमा मृत्यु भएका ती व्यवसायीसँग आफ्नो सम्बन्ध रहेकोमा उनले पछुतोसमेत व्यक्त गरेका छन्।

घिसलेन म्याक्सवेलले कसरी बिल क्लिन्टनलाई एपस्टिनको समूहमा ल्याइन् भन्ने कुरा पनि चर्चामा छ। न्युयोर्कको क्लिन्टन निवास नजिकै बिहीबार भएको सुनुवाइअघि हिलारी क्लिन्टनले आफ्नो प्रारम्भिक वक्तव्यको प्रतिलिपि सामाजिक सञ्जाल ‘एक्स’ मा सार्वजनिक गरेकी थिइन्।

क्लिन्टन दम्पतीले यसअघि नै कोमरमाथि अनुसन्धानको क्रममा ‘पक्षपाती राजनीति’ गरेको आरोप लगाएका थिए।

‘मैले उनीहरूको आपराधिक क्रियाकलापका बारेमा कुनै जानकारी पाएकी थिइनँ,’ उनले एपस्टिन र म्याक्सवेलका बारेमा उल्लेख गर्दै भनिन्। उक्त वक्तव्यमा थप भनिएको छ, ‘मलाई एपस्टिनसँग कहिल्यै भेट भएको सम्झना छैन। मैले कहिल्यै उनको विमानमा यात्रा गरिनँ वा उनको टापु, घर वा कार्यालयहरूको भ्रमण गरिनँ। यस विषयमा मसँग थप भन्नु केही छैन।’

गत हप्ता जर्मनीको बर्लिनमा बीबीसीसँगको एक अन्तर्वार्ताका क्रममा हिलारी क्लिन्टनले आफूले म्याक्सवेललाई केही अवसरहरूमा भेटेको बताएकी थिइन्। म्याक्सवेल सन् २०१० मा न्युयोर्कमा भएको क्लिन्टन दम्पतीकी छोरी चेल्सी क्लिन्टनको विवाहमा समेत सहभागी भएकी थिइन्।

आफ्नो वक्तव्यमा हिलारीले एपस्टिनका फाइलहरूमा पटक–पटक नाम जोडिएका कारण डोनfल्ड ट्रम्पलाई पनि शपथ खुवाएर प्रत्यक्ष सोधपुछका लागि बोलाउन सदनको समितिलाई दबाब दिएकी छिन्।

क्लिन्टन दम्पतीको नाम पनि ती फाइलहरूमा बारम्बार उल्लेख गरिएको छ। दिवङ्गत यौन अपराधीसँग सम्बन्धित न्याय विभागका लाखौँ कागजातहरूमा नाम समावेश हुनुले नै कुनै गलत कार्य भएको सङ्केत भने गर्दैन।

अमेरिकी सांसदहरूसँगको गोप्य सत्रको भित्री तस्बिर बाहिरिएपछि बिहीबार हिलारी क्लिन्टनको बयान अचानक रोकिएको थियो। समितिका डेमोक्र्याट सदस्यहरूले कोलोराडोकी कङ्ग्रेस सदस्य लरेन बोबर्टले खिचेको उक्त तस्बिर सार्वजनिक गर्नु पूर्ण रूपमा नियमविपरीत भएको बताएका छन्।

बोबर्टले बयान कक्षभित्रबाट खिचिएको क्लिन्टनको तस्बिर एक ‘इन्फ्लुएन्सर’ लाई पठाएको स्वीकार गरेकी छिन्। उनले बीबीसीलाई बताएअनुसार उक्त तस्बिर बयान सुरु हुनुभन्दा अगाडि खिचिएको थियो।

क्लिन्टनले पछि बोबर्टको उक्त कार्यका कारण सांसदहरूले अन्य नियमहरू उल्लङ्घन नगरुन् भन्ने सुनिश्चित गर्न उनको टोलीले सुनुवाइलाई केही समय रोकेको बताइन् ।

बयानको बीचमा सञ्चारकर्मीहरूलाई जानकारी दिने क्रममा, समितिका डेमोक्र्याट सदस्यहरूले बाहिर जम्मा भएका सञ्चारमाध्यममाझ पूर्व विदेशमन्त्री हिलारीको कडा बचाउ गरे।

सांसदहरूले क्लिन्टनलाई अहिलेसम्म के–कस्ता प्रश्नहरू सोधिए भन्ने कुरा खुलाएनन्, बरु यस प्रक्रियाबाट कुनै नयाँ कुरा थाहा नभएको र यो समयको बर्बादी मात्र भएको टिप्पणी गरे।

सञ्चारमाध्यमका धेरै सदस्यहरूले बयान कक्षभित्रको वातावरणबारे प्रश्नहरू सोधेका थिए, तर समितिका वरिष्ठ डेमोक्र्याट सदस्य कङ्ग्रेसम्यान रोबर्ट गार्सियाले यसको विस्तृत विवरण दिन अनिच्छा देखाए।

उनले हिलारी क्लिन्टनको बयानको पूर्ण र सम्पादन नगरिएको प्रतिलिपि २४ घण्टाभित्र सार्वजनिक गरिनुपर्ने धारणा व्यक्त गरे। उनले ट्रम्पले पनि समितिमा बयान शीघ्र दिनुपर्ने माग गरे।

एरिजोनाका डेमोक्र्याट कङ्ग्रेस सदस्य यासामिन अन्सारीले बिहीबारको प्रक्रियालाई ‘अति गैरजिम्मेवार प्रहसन’ को संज्ञा दिँदै रिपब्लिकनहरू वास्तविक सत्य पत्ता लगाउने र कसैलाई जवाफदेही बनाउनेभन्दा पनि हिलारी क्लिन्टनको तस्बिर खिच्नमा बढी केन्द्रित भएको आरोप लगाएकी छिन्।

क्लिन्टन दम्पतीले यसअघि नै कोमरमाथि अनुसन्धानको क्रममा ‘पक्षपाती राजनीति’ गरेको आरोप लगाएका थिए। उनीहरूले अदालती र कानुनी पक्षहरूलाई ‘राष्ट्रपति ट्रम्पले निर्देशन दिएअनुसार राजनीतिक प्रतिद्वन्द्वीहरूलाई अपमानित गर्ने एउटा चाल मात्र’ भएको बताएका छन्।

एपस्टिनका अपराधहरूका बारेमा भएका सङ्घीय अनुसन्धानका क्रममा फेला परेका सामग्रीहरूलाई न्याय विभागले चरणबद्ध रूपमा सार्वजनिक गरिरहेको छ।

बिहीबार हिलारी क्लिन्टनको बयानपछि बोल्दै कोमरले उक्त बयानको व्यवस्था मिलाउन सात महिना लागेकोमा दुःखद भएको बताए, तर क्लिन्टनले आफ्ना अधिकांश प्रश्नहरूको जवाफ दिएको पनि स्वीकार गरे।

धेरै प्रश्नहरू सोधिए तापनि समितिका सदस्यहरू केही जवाफहरूबाट भने सन्तुष्ट हुन नसकेको कोमरले उल्लेख गरे।

‘क्लिन्टन दम्पतीप्रति कुनै पनि प्रकारको अन्याय भएको छ जस्तो मलाई लाग्दैन,’ कोमरले यसअघि भनेका थिए। उनले थपे, ‘राष्ट्रपति ट्रम्पलाई एपस्टिनसँगको उनको जानकारी वा संलग्नताका बारेमा तपाईंहरूमध्ये लगभग सबैले दिनहुँ प्रश्न सोध्ने गरे तापनि, क्लिन्टन दम्पतीले भने अहिलेसम्म कुनै पनि प्रश्नको जवाफ दिएका छैनन्।’

एपस्टिनका अपराधहरूका बारेमा भएका सङ्घीय अनुसन्धानका क्रममा फेला परेका सामग्रीहरूलाई न्याय विभागले चरणबद्ध रूपमा सार्वजनिक गरिरहेको छ। ती सार्वजनिक गरिएका लेखोट र तस्बिरहरूमा बिल क्लिन्टनको नाम र उपस्थिति देखिएको छ।

ती फाइलहरूले व्यापक रूपमा एपस्टिनको धेरै उच्च प्रोफाइल व्यक्तिहरूसँगको सम्बन्ध कति गहिरो थियो भन्ने कुरा उजागर गर्छन्, जसमा उनी यौन अपराधमा दोषी ठहरिएपछिको समय पनि समावेश छ।

यस्ता बयानहरू सामान्यतया गोप्य रूपमा लिने गरिन्छ, तर क्लिन्टन दम्पतीले भने आफ्नो बयान सार्वजनिक हुनुपर्ने अडान लिएका थिए। उनीहरूले आफ्नो बयानका केही छानिएका अंशहरू मात्र सञ्चारमाध्यममा चुहिएर गलत अर्थ नलागोस् भन्नका लागि यस्तो माग गरेका हुन्।

शुक्रबार हुने बिल क्लिन्टनको बहुप्रतीक्षित उपस्थिति सन् १९८३ मा जेराल्ड फोर्डले दिएको बयानपछि कुनै पनि अमेरिकी पूर्व राष्ट्रपतिले संसदीय समितिमा बयान दिन लागेको यो पहिलो पटक हुनेछ।

-बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?