+
+
Shares

देश दौडाहामा प्रधानसेनापति

प्रधानसेनापतिको उपस्थितिले सेनाको मनोबल पनि उच्च हुने र वस्तुस्थितिको विश्लेषण गरी ठोस सुरक्षा रणनीतिअनुसार काम गर्न सहज हुने सेनाको बुझाइ छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ फागुन १५ गते १६:०८

१५ फागुन, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले कैलालीको धनगढीस्थित सुदूरपश्चिम पृतना र सुर्खेतस्थित उत्तर-पश्चिम पृतनाको बिहीबार निरीक्षण गरे ।

प्रधानसेनापति सिग्देलले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा अवस्थाबारे जानकारी लिए । समग्र वस्तुस्थितिको जानकारी लिएपछि उनले उत्कृष्ट ढंगले काम गर्न निर्देशन दिए ।

यसका साथै प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेलका पदाधिकारीहरूलाई भेट गरे र निर्वाचन सुरुक्षाबारे जानकारी लिँदै अन्तर्क्रिया गरे । उक्त कार्यक्रममा प्रदेश सचिव, नेपाल प्रहरीका प्रदेश प्रमुख तथा डीआईजी जयराज सापकोटा, सशस्त्रका एसएसपीसमेत सहभागी थिए ।

निर्वाचन सुरक्षाका लागि अहिले प्रदेशहरूलाई पनि सक्रिय बनाइएको छ । प्रदेश सचिवको संयोजकत्वमा प्रदेशमा कमान्ड सेन्टर बनाएर काम भइरहेको छ । प्रधानसेनापति सिग्देलले यही कमान्ड सेन्टरमा पुगेर अन्तर्क्रिया गरेका थिए ।

प्रधानसेनापति सिग्देलले यसरी पृतना-पृतना पुग्दै निरीक्षण, निर्देशन गरेको यो पहिलो होइन । १० फागुनदेखि उनी पृतनाको निरीक्षण र निर्देशनमा खटिएका छन् । १० फागुनमा प्रधानसेनापति सिग्देलले बुटवलस्थित मध्यपश्चिम पृतना र पोखरास्थित पश्चिम पृतना तथा अन्तर्गतका सुरक्षा बेसहरूको निरीक्षण गरेका थिए ।

सो क्रममा उनले निर्वाचन सुरक्षाबारे जानकारी दिँदै सुरक्षित तवरले निर्वाचन सम्पन्न गर्न निर्देशन दिए । यसपछि उनी १२ फागुनमा सुनसरीस्थित पूर्वी पृतना र महोत्तरीको बर्दिबासस्थित मध्यपूर्वी पृतना र त्यस अन्तर्गतका सुरक्षा बेसहरूको निरीक्षण गर्न पुगेका थिए ।

प्रधानसेनापति सिग्देल अहिले पृतना र बेसहरूको निरीक्षण गर्न देश दौडाहामा निस्कनुको मुख्य उद्देश्य भनेकै २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन हो । निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधानसेनापति आफैं फिल्ड खटिएर अनगुमन, निरीक्षण गर्दै आवश्यक निर्देशन दिइरहेका छन् ।

गत १२ मंसिरमा सैनिक मुख्यालय जंगी अड्डाको निरीक्षण गर्दै प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको समयमा एक थोपा रगत नबग्ने गरी र एक जना पनि घाइते नहुने गरी काम गर्न सेनालाई निर्देशन दिएकी थिइन् । त्यसपछि प्रधानमन्त्री कार्कीले यो भनाइ पटकपटक दोहोर्‍याउँदै आएकी छिन् ।

सोहीअनरूप अहिले सेना निर्वाचन सुरक्षा चुस्त पार्न खटिएको र सुरक्षा अवस्था मजबुत पार्न प्रधानसेनापति आफैं पृतनाहरूको निरीक्षण र निर्देशनमा खटिएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।

चार दिनको अन्तरमा ६ पृतनाको निरीक्षण, निर्देशन गरेका प्रधानसेनापति सिग्देलले अब काठमाडौंस्थित उपत्यका पृतनाको निरीक्षण गर्न बाँकी छ ।

‘चुनावी सुरक्षामा केन्द्रित रहेर प्रधानसेनापतिले निरीक्षण र निर्देशन गर्नु भएको हो । सो क्रममा प्रदेशस्थित निर्वाचन सुरक्षा कमान्ड पनि पुग्नु भएको छ,’ सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने ।

प्रधानसेनापतिको उपस्थितिले सेनाको मनोबल पनि उच्च हुने र वस्तुस्थितिको विश्लेषण गरी सोहीअनुरूप सुरक्षा रणनीतिअनुसार काम गर्न सहज हुने बुझाइ सेनाको छ ।

चार दिनको अन्तरमा ६ पृतनाको निरीक्षण, निर्देशन गरेका प्रधानसेनापति सिग्देलले अब काठमाडौंस्थित उपत्यका पृतनाको निरीक्षण गर्न बाँकी छ ।

यसअघि सैनिक मुख्यालय जंगी अड्डाले २७ र २८ माघमा पृतनापति समन्वयतात्मक बैठकसमेत गरेको थियो । यो बैठक सेनाले हरेक वर्ष दुई पटक गर्दै आएको छ । जसमा भदौ, असोज र शिवरात्रि लक्षित हुने गर्छ ।

यस पटकको पृतनापति समन्वयात्मक बैठकसमेत निर्वाचन सुरक्षा केन्द्रित थियो । बैठकमा प्रधानसेनापति सिग्देलले पृतनास्तरमा भएका प्रभावकारी कार्यहरूका लागि पृतनापतिहरूलाई धन्यवाद दिँदै ‘एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार अन्य सुरक्षा निकायसँग समन्वय गरी निर्वाचन लक्षित सुरक्षामा खटिन’ निर्देशन दिएका थिए ।

चुनावलाई सुरक्षित तवरले सम्पन्न गर्न उनको निर्देशन थियो । बैठकमा वर्तमान परिस्थितिको विश्लेषण, तालिमहरूको समीक्षा, बन्दोबस्तीका पक्षहरूमा पनि छलफल भएको थियो ।

सैनिक स्रोतका अनुसार अहिले चुनौतीपूर्ण मानिएका निर्वाचन क्षेत्रहरूमा सेनाले आफ्नो उपस्थिति पनि बाक्लो बनाएको छ । अहिले ‘बर्दी सो-अप थ्योरी’ अन्तर्गत गस्ती, पेट्रोलिङ गर्दै सेनाले उपस्थित बलियो रहेको मनोविज्ञानिक प्रभाव दिइरहेको छ ।

अहिलेको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै एक महिनाअघि २१ माघदेखि सेना सडकमा निस्केर गस्ती गरिरहेको छ । संयुक्त गस्तीदेखि सेनाले बख्तरबन्दका गाडीहरूमार्फत पनि गस्ती बढाएको छ ।

महत्वपूर्ण प्रतिष्ठानहरूका साथै विमानस्थल, कारागारहरूको सुरुक्षासमेत सेनाले गरेको छ । निर्वाचनको अवधिमा नेपाली सेना तेस्रो घेरामा खटिने बताइएको छ ।

पहिलो घेरामा नेपाल प्रहरी/निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल/ सशस्त्र निर्वाचन प्रहरी र तेस्रो अर्थात् सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिने खटिन्छ ।

तर, सुरक्षाको आवश्यकताअनुसार जुनसुकै घेरामा पनि सेना खटिन सक्नेछ । प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र मतदान अधिकृतसँगको समन्वयमा जुनसुकै घेरामा खटिने सक्ने बताइएको छ । जसलाई सुरक्षा संवेदनशिलतासँग जोडिएको छ ।

‘सुरक्षा संवेदनशिलताको आधारमा प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र मतदान अधिकृतसँगको समन्वयमा जुनसुकै घेरामा सेना खटिन सक्छ,’ सेनाले एक भिडियो सन्देशमार्फत भनेको छ ।

जसअनुसार सबैभन्दा सुरक्षा संवेदनशिलता तथा चुनौती देखिएका त्यस्ता ठाउँहरूमा नेपाली सेनालाई सुरुमै पहिलो घेरामा खटाउन सकिने पनि देखिन्छ ।

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि ७९ हजार ७२७ सेना खटिएका छन् ।

‘दलका प्रतिनिधिकै सहभागितामा सेनाले मतपेटिका ओसार्छ’

नेपाली सेनाले मतपेटिका मतगणनास्थलसम्म पुर्‍याउने विषयलाई अनेक टीकाटिप्पणी गरेपछि सेनाले यसलाई निर्वाचन प्रोटकल अनुसारकै कामको रूपमा अर्थ्याएको छ ।

निर्वाचनको प्रोटकलअनुसार नै यसअघिको अभ्यास जस्तै यो पटक पनि मतपेटिका मतगणनास्थलसम्म नेपाली सेना पुर्‍याउने हो,’ सैनिक प्रवक्ता सहायक रथी बस्नेत भन्छन् ।

सेनाको कमान्डमा मतपेटिका मतगणनास्थलसम्म लगिने भए पनि यसमा सेना मात्रै नहुने बताइएको छ । सेनाको कमान्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्लास्थित निर्वाचन पदाधिकारी, राजनीतिक दलका तोकिएका प्रतिनिधि सहितको सहभागितामा मतपेटिका गणनास्थलसम्म पुग्ने प्रवक्ता बस्नेत बताउँछन् ।

शिलबन्द गरेर, मुचुल्का उठाएर सबै राजनीतिक दलका प्रतिनिधिको रोहबर र सहभागितामा लगिने मतपेटिकामा शंका गर्नुपर्ने कारण नभएको सेनाले प्रष्टीकरण दिएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?