News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङलाई कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरिन्।
- राजदूत चाङ माओमिङले नेपालमा शान्ति, सुरक्षा र कानुनको शासन बहाल गरी निर्वाचन हुने सुनिश्चितता भएको भन्दै बधाई दिए।
- प्रधानमन्त्री कार्की र राजदूत माओमिङले दुवै देशबीचको मित्रवत् सम्बन्ध र क्षेत्रीय शान्तिका लागि सहकार्य मजबुत बनाउनेमा सहमति जनाए।
१५ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले आज सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरिन् । साथै उनले राजदूत चाङ माओमिङले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पुर्याउने महत्त्वपूर्ण भूमिकामा सफल हुने विश्वास व्यक्त गरिन् ।
चिनियाँ राजदूत माओमिङले व्यस्तताका बीच शिष्टाचार भेटका लागि समय उपलब्ध गराएकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद ज्ञापन गरे । राजदूत माओमिङले प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति, सुरक्षा र कानुनको शासन बहाल गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन हुने सुनिश्चितता भएको भन्दै बधाई दिए ।
नेपालको यस प्रक्रियामा चीनको साथ र सहयोग रहेको उनको भनाइ थियो । प्रधानमन्त्री कार्कीले पनि नेपालको लोकतान्त्रिक प्रक्रियाको महत्त्वपूर्ण हिस्सा निर्वाचनमा चीनबाट प्राप्त सदासयता र सहयोगका लागि कृतज्ञता ज्ञापन गरिन् ।
साथै विकासका विभिन्न परियोजना र आयामहरुमा चीनबाट प्राप्त सहयोग र साझेदारीका अवसरहरुप्रति नेपाल र नेपाली जनताका तर्फबाट आभार व्यक्त गरिन् ।
भेटका क्रममा प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत माओमिङले दुवै देशका जनताले मनाउँदै गरेको नयाँ वर्ष (घोडा वर्ष) का अवसरमा शुभकामना पनि आदानप्रदान गरे ।
संस्कृति, भूगोल र ऐतिहासिक सम्बन्धले दुवै मुलुकलाई कसिलोसँग जोडेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्तमा अडिग रहेको, एक चीन नीति अवलम्बन गर्दै आएको र निकट छिमेकी मुलुकको अहितमा कुनै पनि गतिविधि हुन नदिनेमा पनि सदाझैँ स्पष्ट रहेको बताइन् ।
एउटा मुलुकमा अस्थिरता हुँदा अर्कोमा पनि समस्या हुन सक्ने भन्दै उनले क्षेत्रीय शान्ति र स्थायित्वका निम्ति पनि आपसी सहकार्य मजबुत बनाउँदै लैजानुपर्ने धारणा राखिन् ।
चिनियाँ राजदूत माओमिङले नेपाल सरकारको यस नीति र अडानका लागि चिनियाँ जनता र त्यहाँका राष्ट्रपतिको तर्फबाट धन्यवाद सन्देश सुनाए ।
प्रतिक्रिया 4