+
+
Shares

प्रेमिका भेट्न गएका युवकको बीभत्स हत्या, तीन जना नियन्त्रणमा

कुटपिटपछि सुमितलाई मोटरसाइकलमा राखेर डेढ किलोमिटर टाढा खेतमा लगेर घाँटी रेटेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १९:०७

१५ फागुन, जनकपुरधाम । धनुषामा प्रेम सम्बन्धकै कारण एक युवकको निर्मम हत्या भएको खुलेको छ । बिहीबार दिउँसो ४ बजे औरही गाउँपालिका–६ को खेतमा मृत भेटिएका हंसपुर नगरपालिका–९ रुदौलीका १९ वर्षीय सुमित मण्डलको प्रेम सम्बन्धकै कारण हत्या भएको खुलेको हो ।

मण्डलको शव घाँटी रेटिएको अवस्थामा फेला परेको थियो । घाँटी अगाडिबाट धारिलो हतियार प्रयोग गरेर रेटेको र शरीरका अन्य भागमा समेत कुटपिटका गम्भीर चोट देखिएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीले शुक्रबार हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरेको छ ।

धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले मृतक मण्डलको हंसपुर–६ की एक १७ वर्षीय किशोरी काजलकुमारी मण्डलसँग प्रेम सम्बन्ध रहेको खुलेको बताए ।

हत्या आरोपमा प्रहरीले काजलसहित उनका दाजु २० वर्षीय दिपेशकुमार मण्डल र काका २९ वर्षीय परमेश्वर मण्डललाई पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा सुमित र काजल एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको प्रहरीले जनाएको छ । बुधबार काजलको घरमा कोही नभएको मौका पारेर सुमित उनलाई भेट्न पुगेका थिए ।

सुमित घरभित्र प्रवेश गरेपछि काजलका काका परमेश्वरले थाहा पाए । त्यसपछि उनले सुमितलाई नियन्त्रणमा लिएर काजलका दाजु दिपेशलाई बोलाएका थिए । दुवै मिलेर सुमितका हात पछाडिबाट डोरी र गम्छाले बाँधी कुटपिट गरे ।

कुटपिटपछि सुमितलाई मोटरसाइकलमा राखेर डेढ किलोमिटर टाढा खेतमा लगेर घाँटी रेटेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रहरीले हत्या गर्न प्रयोग गरिएको खुकुरी, मोटरसाइकल तथा अन्य सामग्री बरामत गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?