News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले निर्वाचन अवधिमा पनि बैंक तथा वित्तीय संस्थाले सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।
- निर्वाचन आयोगको अनुरोधपछि फागुन २०, २१ र २२ गते सार्वजनिक बिदामा पनि बैंकिङ सेवा सञ्चालन गरिनेछ।
- सरकारी कारोबारका लागि तोकिएका वाणिज्य बैंकहरूले भुक्तानी र राजस्व दाखिला सेवा उपलब्ध गराउनेछन्।
१७ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निर्वाचन अवधिमा पनि सेवा उपलब्ध गराउने भएका छन् । नेपाल राष्ट्र बैंकले वित्तीय सेवा सञ्चालन गर्न निर्देशन दिएका बैंक तथा वित्तीय संस्थाले सेवा प्रदान गर्ने भएका हुन् ।
निर्वाचन आयोगले प्रतिनिधीसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी वित्तीय सेवा सञ्चालन गरिदिन अनुरोध गरेपछि सार्वजनिक बिदाका दिनमा पनि सेवा उपलब्ध गराउन केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
२०८२ साल फागुन २१ गते बिहीबारका दिन हुने निर्वाचनका सम्बन्धमा नेपाल सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरेको छ । त्यस्तै फागुन १८ गते हिमाली र पहाडका ५६ जिल्लामा तथा १९ गते तराईका २१ जिल्लामा होली पर्व परेका सार्वजनिक बिदा छ । सो अवधिमा बैंकिङ सेवा सञ्चालन गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरूद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला गर्ने शाखा तथा काउन्टरमा सेवा उपलब्ध गराउन केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
त्यसैगरी निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने संस्थाहरुद्वारा राजनीतिक दल तथा उम्मेदवारहरूको नगद वा चेक वा अन्य विनिमय साधनहरूको दाखिला, भुक्तानी लगायतका बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
प्रतिक्रिया 4