१७ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आइतबार राति १२ बजेदेखि सीमा नाका बन्द हुने भएको छ ।
बिहीवार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा सीमा नाका बन्द गर्न लागिएको हो ।
निर्वाचन सुरक्षा निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडी सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार सीमानाका बन्द गर्न आयोगले सिफारिस गरेको सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
सोहीअनुसार नै आईतवार राती १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मको लािग अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्न लागिएको हो ।
‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने उद्देश्यले निर्वाचन आयोगले तयार गरेको निर्वाचन सुरक्षा निर्देशिका बमोजिम आज राती १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरुमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्नको लागि निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरे बमोजिम सीमा नाकाहरु बन्द रहनेछन् । सोही बमोजिमको व्यवस्था गर्न/गराउनको लागि सम्बन्धित निकायलाई निर्वाचन आयोगले अनुरोध गर्दछ,’ उनले भने ।
आयोगले सीमा नाका बन्दसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।
निर्वाचन अवधिभर सुरक्षालाई कडा बनाउँदै सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न आयोगले विभिन्न सुरक्षा उपायहरू अवलम्वन गरिरहेको जनाएको छ ।
प्रतिक्रिया 4