+
+
Shares

सेयर बजारका मुद्दामा कांग्रेस, एमालेभन्दा रास्वपा अघि

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा निर्वाचन घोषणापत्रमा सेयर बजारको आधुनिकीकरण, नियमन सुधार र लगानीकर्ता संरक्षणलाई प्राथमिकता दिएको छ।
  • नेपाली कांग्रेसले मोबाइल एपमार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पूँजी बजारमा जोड्ने र साना उद्योगका लागि छुट्टै एसएमई प्लेटफर्म विकास गर्ने योजना बनाएको छ।
  • नेकपा एमालेले पूँजी बजारको प्रभावकारी नियमन, वैकल्पिक वित्तीय साधन विकास र लगानीकर्ता हित संरक्षण गर्ने घोषणा गरेको छ।

१८ फागुन, काठमाडौं । दशकौं पुराना राजनीतिक दलभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सेयर बजारसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाएको छ । बिहीबार हुने प्रतिनिधीसभा निर्वाचन लक्षित राजनीतिक दलका घोषणापत्र हेर्दा अन्यको तुलनामा रास्वपाले बजारसँग सम्बन्धित धेरै विषय समेटेको छ ।

रास्वपाले सेयर बजारको आधुनिकीकरण, प्रतिस्पर्धा र सहभागिता बढाउनमा जोड दिने उल्लेख गरेको छ । साथै बजारलाई चलायमान बनाउन अन्तर्राष्ट्रिय अभ्यासलाई प्रयोगमा ल्याउने, नियमन र सुपरीवेक्षणलाई प्रभावकारी बनाउने घोषणा पत्रमा उल्लेख गरेको छ ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि उदारीकरणको नीति अवलम्बन गरेको नेपाली काँग्रेस समेत सेयर बजारका विषयमा धेरै जानकार देखिँदैन । नेकपा एमालेले पनि सेयर बजारका सन्दर्भमा तुलनात्मक रुपमा खुकुलो नीति देखाएको छ ।

सेयर बजारले कांग्रेसलाई तुलनात्मक रुपमा सकारात्मक प्रतिक्रिया जनाउने गरेको छ । त्यस्तै नेकपा एमालेका विष्णु पौडेल अर्थमन्त्री हुँदा लगानीकर्ता उत्साहित नै हुने गरेका थिए । कम्युनिष्ट पार्टी सेयर बजारप्रति उदार नहुने भनिए पनि लगानीकर्ता एमालेप्रति विगतमा सकारात्मक नै देखिन्थे।

‘कांग्रेस र एमालेप्रति सकारात्मक रहेका सेयर लगानीकर्ता धेरै नै छन्,’ एक लगानीकर्ताले भने । तर घोषणापत्रमा रास्वपाले धेरै विषय समेटेको देखिन्छ ।

रास्वपाको घोषणा पत्रमा सेयर बजार

पूँजी बजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन नियामकलाई नै सुधार गर्ने रास्वपाले घोषणा पत्रमा उल्लेख गरेको छ । त्यसैगरी प्रविधिमैत्री कारोबार प्रणाली तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्ने रास्वपाले जनाएको छ ।

धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी बोर्डको संरचना पुनर्गठन गर्दै पर्याप्त जनशक्ति, कार्यक्षमता अभिवृद्धि तथा आवश्यक स्वायत्तता प्रदान गर्ने घोषणा पत्रमा उल्लेख छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङको पुनर्संरचना गरी निजी क्षेत्रकोसहभागिता बढाउने घोषणा रास्वपाले गरेको छ । प्रतिस्पर्धात्मक डिपोजिटरी सेवाको विकास, पूँजी बजारको तरलता, पारदर्शिता र जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने घोषणपत्रमा उल्लेख छ ।

रास्वपाले सेयर बजारमा स्पष्ट कानुनी संरचना र कडा नियमनसहित इन्ट्राडे कारोबार, सर्ट सेलिङ तथा फ्युचर्स, अप्सनलगायत डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गर्ने घोषणा गरेको छ । नेप्सेलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने उल्लेख गरेको रास्वपाले इन्साइडर ट्रेडिङ र बजारका नीति हेरफेरविरुद्ध शून्य सहनशीलता अपनाउने जनाएको छ । आईपीओ प्रणालीमा सुधार गरी निष्पक्ष बाँडफाँट, बुक बिल्डिङ सुधार र समयमै सूचीकरण गर्ने व्यवस्था मिलाउने घोषणापत्रमा उल्लेख छ ।

संस्थागत लगानीकर्ताको विस्तार गर्न पेन्सन फन्ड, बीमा, म्युचुअल फन्ड, आदि संस्थाहरूलाई सक्रिय लगानी गर्न प्रोत्साहन गर्ने रास्वपाले जनाएको छ । पूँजी बजारमा कर नीति स्थिर र लगानीमैत्री हुने घोषण रास्वपाले गरेको छ । ऋण बजार र बन्ड बजारको विकास गर्न सरकारी, स्थानीय तह तथा निजी क्षेत्रका बन्डलाई सक्रिय बनाई पूर्वाधार विकासमा प्रयोग गर्ने योजना रास्वपाको छ । रास्वपाले इन्फ्रास्ट्रक्चर बन्ड तथा दीर्घकालीन परियोजनामा पूँजी जुटाउने वैकल्पिक साधनको विकास गर्ने घोषणा गरेको छ ।

वर्षौंदेखि रोकिएको गैर–आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सहज नीति तर्जुमा गर्ने, वस्तु विनिमय बजारको सञ्चालन समेत सक्दो छिटो गर्ने पार्टीले जनाएको छ । वस्तु विनिमय बजारका लागि पब्लिक वेयरहाउजिङ ऐन जारी गर्ने जनाएको छ । विभिन्न किसिमका फन्ड, डेरिभेटिभ बजार तथा जोखिम व्यवस्थापन उपकरणहरूको विकास गरी पूँजी बजारलाई आधुनिक र विविधीकृत बनाउने रास्वपाको घोषणापत्रमा उल्लेख छ ।

साना लगानीकर्ताहरूको हित रक्षाका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गर्नुका साथै सूचीकृत कम्पनीहरूको वित्तीय विवरणमा पारदर्शिता र सुशासन सुनिश्चित गर्न स्वचालित रिपोर्टिङ प्रणाली’ अनिवार्य गर्ने रास्वपाले जनाएको छ । पूँजी बजारलाई केवल काठमाडौं केन्द्रित नबनाई डिजिटल माध्यमबाट देशैभरका नागरिक र युवा पुस्ताको सहज पहुँच पुयाउँदै अर्थतन्त्रको वास्तविक ऐना र पूँजी निर्माणको प्रमुख आधारका रूपमा विकास गर्ने योजना रास्वपाले अघि सारको छ ।

नेपाली कांग्रेसको बुझाइमा धितोपत्र बजार

नेपाली कांग्रेस सेयर बजार प्रति विगतको तुलनामा केही संकुचित भएको छ । उदार अर्थनीति र खुला बजार अर्थतन्त्रको वकालत गर्ने कांग्रेस सेयर बजारको सन्दर्भमा अरु पार्टीभन्दा धेरै खुला हुने अपेक्षा गरिन्छ ।

तर, राजनीति दलका घोषणपत्र हेर्दा सेयर बजारप्रति कांग्रेसभन्दा रास्वमा उदार देखिएको छ । कांग्रेसको घोषणापत्र अनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली, गैरआवासीय नेपाली र आम नागरिकलाई मोबाइल एपमार्फत पूँजी बजारमा सहजै जोड्ने नीति कार्यान्वयन गरिनेछ ।

भित्री कारोबार र अस्वाभाविक चलखेल रोक्न अत्याधुनिक निगरानी प्रणाली लागु गर्दै साना लगानीकर्ताको हितका लागि लगानीकर्ता संरक्षण कोष’ लाई प्रभावकारी बनाइने घोषणापत्रमा उल्लेख छ ।

साना तथा मझौला उद्योगका लागि छुट्टै एसएमई प्लेटफर्म विकास गरी बजारबाट पूँजी जुटाउन सक्षम बनाउने कांग्रेसको दावी छ । धितोपत्र बोर्डलाई पूर्ण स्वायत्त बनाउँदै नेप्से र सीडीएससीको संरचनागत सुधार गरी राफसाफ प्रणालीलाई विश्वस्तरीय बनाउने कांग्रेसले जनाएको छ ।

तर, कम्युनिष्ट पार्टीको घोषणापत्र हेर्दा नेपाली कम्युनिष्ट पार्टीभन्दा एमाले अघि देखिएको छ । एमालेले पूँजी बजारको प्रभावकारी नियमन, सुधार तथा विस्तार गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ । त्यसैगरी लगानीका लागि स्वपूँजी र दीर्घ ऋण परिचालन गर्ने योजना बनाएको एमालेले सेयर लगानीकर्ताको हित संरक्षण गर्ने जनाएको छ ।

सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष लगायत बचत परिचालन गर्ने संस्थाको प्रभावकारी नियमन गर्ने एमालेले जनाएको छ ।

हाइब्रिड एन्यूटी, व्लेन्डेड तथा भेन्चर क्यापिटल, क्राउड फन्डिङ, प्राइभेट इक्विटी, डायस्फोरा बन्ड, हरित बन्ड, जलवायु वित्तलगायतका वैकल्पिक वित्तको प्रबन्ध गरी उच्च आर्थिक वृद्धिका लागि पूँजी लगानीको आवश्यकता पूरा गर्ने महत्वकाक्षी योजना एमालले घोषणपत्रमा समेटेको छ ।

नेपाली कम्युनिष्ट पार्टीले भने धितोपत्र बजारलाई छोएको मात्र छ । घोषणा पत्रमा पुँजी बजारमा सर्वसाधारणको पहुँच र सहभागिता बढाइनेबाहेक अरु उल्लेख छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?