+
+
Shares

धनकुटामा पनि तारजालीसहितको मतगणना स्थल तयार

धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १८:१६

१९ फागुन, धनकुटा । धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

मतदान केन्द्रमा कर्मचारी पुगेसँगै मतगणस्थल तयारी बनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान सम्पन्न भएसँगै तत्काल मतगणना सुरु गर्न सकिने गरी मतगणना स्थल व्यवस्थित रूपमा तयार पारेको हो ।

धनकुटाको सामुदायिक भवनमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोही भवनको ठूलो हललाई मतगणना स्थलका रूपमा व्यवस्थापन गरेको छ ।

सहायक निर्वाचन अधिकृत इन्द्रकुमार योङहाङका अनुसार मतपेटिका सुरक्षित रूपमा भण्डारण गर्ने स्थान र मतगणना गर्ने क्षेत्र छुट्टाछुट्टै निर्धारण गरिएको छ ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै हलभित्र तारजालीको बार लगाइएको छ भने कर्मचारी तथा सुरक्षाकर्मीलाई सहज आवतजावतका लागि छुट्टै ढोका निर्माण गरिएको छ।

मतगणना स्थलमा सीसीटिभी निगरानी, आवश्यक प्रकाश व्यवस्था, टेबल–कुर्सी, गणनाका लागि आवश्यक सामग्री तथा दलका प्रतिनिधि बस्न मिल्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । मतगणना प्रक्रियालाई पारदर्शी, व्यवस्थित र शान्तिपूर्ण बनाउन विशेष सतर्कता अपनाइएको हो ।

फागुन २१ गते देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सोही दिन साँझदेखि विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सुरक्षा व्यवस्थासहित मतगणना स्थलमा ल्याइनेछ । मत पेटीका ल्याउने सबै तयारी जिल्ला प्रशासन कार्यालयले गरेको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए ।

सबै मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर सहमतिका आधारमा मतगणना प्रक्रिया सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा कुल १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् । जिल्लाभर तोकिएका मतदान केन्द्रहरूमा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीको टोली खटाइसकिएको छ । मतदान शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गराउने तयारी पूरा भएको कार्यालयले जनाएको छ ।

धनकुटामा १४ राजनीतिक दलका र तीन स्वतन्त्र गरी १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?