२० फागुन, रोल्पा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रोल्पाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री लिएर कर्मचारीहरु पुगेका छन् ।
सोमबार र मंगलबार मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी र स्वयंसेवकहरु मतदान केन्द्रमा पुगिसकेको सहायक जिल्ला निर्वाचन अधिकृत गोकर्ण लम्सालले जानकारी दिए ।
रोल्पामा ८६ वटा मतदान स्थल रहेकामा दुई अस्थायी मतदान केन्द्र र १८० स्थायी मतदान केन्द्रमा कर्मचारीहरु पुगिसक्नु भएको छ,’ लम्सालले भने । बुधबार दिउँसोसम्म निर्वाचनका लागि सबै तयारी पुरा हुने उनले बताए ।
रोल्पामा २४ जना महिला मतदान अधिकृत, ३६ जना महिला सहायक मतदान अधिकृत, १९३ जना महिला सहायक कर्मचारी र ६८ जना महिला सहयोगी कर्मचारी रहेका छन् ।
पुरुषतर्फ १५८ जना मतदान अधिकृत, १४६ जना सहायक मतदान अधिकृत, ३४७ जना सहायक कर्मचारी र ११४ जना सहयोगी कर्मचारी रहेका छन् ।
स्वयंसेवकहरु समेत गरेर जम्मा १ हजार ६२२ जना कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।
१ हजार २९ जना निर्वाचन प्रहरी, ६ सय १० जना नेपाल प्रहरी, ३ सय जना सशस्त्र प्रहरी र ४५० जना नेपाली सेना गरी जम्मा २ हजार ३८९ जना सुरक्षाकर्मी परिचालन गरिएको रोल्पा प्रशासनले जनाएको छ ।
रोल्पामा १० वटा स्थानीय तह र ७२ वटा वडा रहेका छन् । रोल्पामा एक लाख ४९ हजार ५९७ मतदाता छन् ।
एक मात्र सिट रहेको रोल्पामा नेपाल कम्युनिस्ट पार्टीका वर्षमान पुन, नेपाली कांग्रेसका सुदन कुमार वली, नेकपा एमालेका गोकुलप्रसाद घर्ती, रास्वपाका बालराम थापा, नेपाली कम्युनिस्ट पार्टी (माओवादी)का चुडामणि वली, राप्रपाका अम्मरबहादुर थापा क्षेत्री सहित १० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
-सुर्य प्रकाश बुढामगर
प्रतिक्रिया 4