२५ भदौ, काठमाडौं । अमेरिकी विदेशमन्त्री जोन केरीले इराकी प्रधानमन्त्री हैदर अल अबादीको राजनीतिक र सैन्य सुधारबाट आफू उत्साहित महसूस भएको बताएका छन् ।
इस्लामिक स्टेटविरुद्धको कारबाहीका लागि समर्थन जुटाउने उद्देश्यले विदेशमन्त्री केरी मध्यपूर्वको भ्रमणमा छन् र उनले इराकी प्रधानमन्त्रीसँग भेट गरेका छन् ।
इराकमा प्रधानमन्त्री अबादीको सरकार गठन भएको ४८ घन्टा पनि भएको छैन ।
सबैको सहभागिता भएको सरकार बनाउने भएपछि इस्लामिट स्टेटविरुद्धको लडाईमा नेटो र अमेरिकी सेनाको समर्थन पाएको थियो ।
यता पूर्वी बग्दामा भएको कार बम विस्फोटमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । शिया बाहुल्य क्षेत्रमा भएको विस्फोटमा २५ जना घाइते भएका छन् ।
जोन केरीले मध्यपूर्व भ्रमणका क्रममा साउदी अरबका साथै अन्य केही देशमा पनि जानेछन् र आईएसविरुद्ध सैन्य, राजनीतिक र वित्तीय समर्थन जुटाउन प्रयास गर्नेछन् । तर, इस्लामिक स्टेटले भने इराकको थुप्रै इलाका आफ्नो कब्जामा लिइसकेको छ ।