+
टी-२० विश्वकप २०२६ :

एलेनको कीर्तिमानी शतकमा न्युजिल्यान्ड फाइनलमा, दक्षिण अफ्रिका बाहिरियो

२०८२ फागुन  २० गते २२:२३ २०८२ फागुन २० गते २२:२३
एलेनको कीर्तिमानी शतकमा न्युजिल्यान्ड फाइनलमा, दक्षिण अफ्रिका बाहिरियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्युजिल्यान्डले फिन एलेनको ३३ बलमै फास्टेस्ट शतकको मद्दतले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गरी टी-२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।
  • दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको थियो भने न्युजिल्यान्डले १२.५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।
  • न्युजिल्यान्डले अब भारत र इंग्ल्यान्डबीचको विजेतासँग फाइनल खेल्नेछ र फाइनल मार्च १० गते अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।

२० फागुन, काठमाडौं । ओपनर फिन एलेनले शानदार शतक प्रहार गरेपछि न्युजिल्यान्ड आईसीसी टी-२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै न्युजिल्यान्ड उपाधिनजिक पुगेको हो ।

कोलकातास्थित इडेन गार्डेन्समा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १७० रनको लक्ष्य न्युजिल्यान्डले १२.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो ।

न्युजिल्यान्डका ओपनर एलेनले ३३ बलमै शतक बनाएर कीर्तिमान बनाए । यो टी-२० विश्वकप इतिहासकै फास्टेस्ट शतक हो । उनले १० चौका र ८ छक्का प्रहार गरे । विष्फोटक ब्याटिङ गरेका एलेनले १९ बलमा अर्धशतक पूरा गरेका थिए । त्यसपछि उनले थप १४ बल खेल्दै शतक पूरा गरेका हुन् ।

१३औं ओभरमा उनले तीन चौका र दुई छक्का प्रहार गर्दै २४ रन जोडेका थिए । स्कोर टाई भइसकेको अवस्थामा एलेनले पाँचौ बलमा यानसेनलाई चौका प्रहार गर्दै जितसहित आफ्नो शतक पूरा गरेका थिए । टी२०आईमा उनको यो तेस्रो शतक हो ।

एलेनले पहिलो विकेटका लागि टिम सेफर्टसँग  ९ ओभरमै ११७ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । सेफर्टले ३३ बल खेल्दै ७ चौका र २ छक्का मदतमा ५८ रन जोडे । रचिन रविन्द्र १३ रनमा नटआउट रहे । दक्षिण अफ्रिकाका कगिसो रबाडाले एक मात्र विकेट लिए ।

न्युजिल्याण्डले सेमिफाइनलमा जितपछि समूह चरणमा दक्षिण अफ्रिकासँग बेहोरेको हारको बदला समेत लिएको छ । समूह चरण दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो ।

यस्तै टी२० विश्वकपमा न्युजिल्यान्डले पहिलो पटक दक्षिण अफ्रिकालाई पराजित गरेको हो । यसअघि टी२० विश्वकपमा पाँच पटक भेट हुँदा न्युजिल्यान्ड पराजित भएको थियो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको थियो । अलराउण्डर मार्को यानसेनले ३० बलमा अविजित ५५ रन बनाएपछि दक्षिण अफ्रिकाले हेर्नलायक स्कोर बनाएको थियो । डेवाल्ड ब्रेभिसले ३४, ट्रिस्टन स्टब्सले २९ रन बनाए ।

दक्षिण अफ्रिका ७७-५ को खराब अवस्थामा हुँदा यानसेन र स्टब्स मिलेर ७३ रनको साझेदारी गरेका थिए ।

न्युजिल्यान्डका लागि म्याट हेनरी, कोल मेकोन्की र रचिन रविन्द्रले २-२ विकेट लिए भने कप्तान मिचेल सान्टनर र जिमी नीशमले १-१ विकेट लिए ।

न्युजिल्यान्डले अब उपाधिका लागि भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल बिहीबार हुँदैछ ।

फाइनल खेल मार्च १० (फागुन २४) आइतबार गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

टी-२० विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय